मार्कस रासफोर्ड : म्यानचेस्टर युनाइटेडमा सञ्जीवनी बुटी

हिमाल प्रेस ११ फागुन २०७९ १६:५६
12
SHARES
मार्कस रासफोर्ड : म्यानचेस्टर युनाइटेडमा सञ्जीवनी बुटी

काठमाडौँ- म्यानचेस्टर युनाइटेड उपाधिविहीन भएको ६ वर्ष भयो। सन् २०१७ मा युरोपा लिग र लिग कप जितेको युनाइटेड त्यसपछिका वर्षमा दुई पटक इंग्लिस प्रिमियर लिग उपविजेता बनेको छ। तर उपाधि भने उचाल्न सकेको छैन।

युनाइटेडको आधा दशकभन्दा लामो प्रतीक्षा आइतबार टुंगिन सक्छ। त्यस दिन युनाइटेड लिग कप उपाधिका लागि न्युकासल युनाइटेडसँग आमनेसामने हुँदैछ। तर त्योभन्दा अघि युनाइटेडलाई युरोपा लिगमा बार्सिलोनासँग भिड्नुछ।

प्रिक्वार्टरफाइनल प्रवेशका लागि भइहेको प्लेअफको पहिलो लेग क्याम्प नौउमा २–२ को बराबरीमा सकिएको थियो। बार्सिलोनालाई रोक्न रासफोर्डले एक–एक गोल र असिस्टको योगदान गरेका थिए। मार्कस रासफोर्डले लगातार गोल गरिरहेपछि युनाइटेड प्रिमियर लिगसहित चार उपाधि जित्ने लक्ष्यमा छ।

प्रिमियर लिगमा लगातार पाँच गोल गरेका रासफोर्ड युनाइटेडका लागि सबैभन्दा महत्त्वपूर्ण खेलाडी साबित भइरहेका छन्। विश्वकपबाट फर्किएपछि गोल लय समातेका रासफोर्डले १६ गोल गरिसकेका छन्। यो बीचमा उनको नाममा चार असिस्ट छ। यो सिजन उनले गरेको कुल गोलको संख्या २४ पुगिसकेको छ।

‘म एकपछि अर्को खेलमा सुधारिएको प्रदर्शन गर्न चाहन्छु। मेहनत गर्न चाहन्छु। रोकिन मन छैन,’ लेस्टरविरुद्ध दुई गोल गरेपछि रासफोर्डले भनेका थिए।

विश्वकप दौरान क्रिस्टियानो रोनाल्डोले युनाइटेड छाडेको घोषणा भएपछि उनको स्थान कसले लिन्छ भन्ने कौतूहल थियो। नयाँ प्रशिक्षक एरिक टेन हागले खासै नखेलाएको भए पनि रोनाल्डोको उपस्थिति युनाइटेडका लागि महत्त्वपूर्ण थियो।

विश्वकपपछि युनाइटेडले प्रिमियर लिगमा आठ खेलमध्ये सातमा जित दर्ता गरेको छ। ती खेलमा युनाइटेडले गरेकाे गाेल संख्या हाे, १७। जसमध्ये १० गोल रासफोर्डको नाममा रहे। विश्वकपपछि लिग कपमा युनाइटेडले गरेका १० गोलमध्ये चार गोल रासफोर्डकै नाममा छन्।

रोनाल्डोको बहिगर्मनसँगै रासफोर्ड युनाइटेडको मुख्य स्टारमा रुपान्तरण भएका हुन्। उसो त केही वर्षयता रासफोर्डमाथिको भरोसा कम हुँदै गएको थियो। युरो २०२० फाइनलमा इटालीविरुद्ध पेनाल्टी खेर फालेका रसफोर्ड युनाइटेडमा संघर्षरत थिए।

राल्फ राग्निक नेतृत्वको युनाइटेडमा खराब प्रदर्शन गर्ने कयौँ खेलाडीको सूचीमा रासफोर्ड पनि थिए। तर टेन हागको आमगनसँगै रासफोर्डको आत्मविश्वास बढेको छ। सन् २०१६ बाट युनाइटेडको सिनियर टिमबाट खेल्न सुरु गरेका रासफोर्ड रोनाल्डोको अनुपस्थितिमा रासफोर्ड टिमको मुख्य फरवार्ड बनेका छन्।

‘प्रशिक्षकका रुपमा मैले रासफोर्डलाई थप मेहनत गर्न प्रेरित गरेको हो। मेहनत त उनी आफैँले गर्ने हो। त्या उनले गरिरहेका पनि छन्। उनले एकाग्र भएर खेल्न आवश्यक छ। जब एकाग्रता छुट्छ, तब गोल कम हुनेछ,’ टेन हागले रासफोर्डबारे भनेका छन्।

टेन हागले रासफोर्ड अहिलेभन्दा थप उत्कृष्ट खेलाडी बन्नसक्ने पनि धारणा राखेका छन्। ‘उनी प्रतिभावान् खेलाडी हुन्। उनले अहिलेको भन्दा बढी गोल गर्न सक्छन्। तर मेहनत गर्न चाहिँ छाड्नु भएन,’ टेन हागले भने।

विश्वकपपछि युनाइटेडले प्रिमियर लिगमा आठ खेलमध्ये सातमा जित दर्ता गरेको छ। ती खेलमा युनाइटेडले गरेकाे गाेल संख्या हाे, १७। जसमध्ये १० गोल रासफोर्डको नाममा रहे। विश्वकपपछि लिग कपमा युनाइटेडले गरेका १० गोलमध्ये चार गोल रासफोर्डकै नाममा छन्।

यी तथ्यांकले के देखाउँछन् भने, रासफोर्ड युनाइटेडका लागि गोलको मुख्य स्रोत हुन्। अब यस्तोमा प्रश्न उठ्छ, रासफोर्डले अबका खेलमा गोल गर्न सकेनन् भने युनाइटेडको समग्र प्रदर्शन र नतिजामा फरक पर्छ कि पर्दैन? गत साता बार्सिलोनासँगको खेलमै रासफोर्ड थकित देखिएका थिए। भलै उनले त्यहाँ गोल चाहिँ गर्न सके। रासफोर्डपछि युनाइटेडका लागि बढी गोल गर्ने खेलाडी ब्रुनो फर्नान्डेज हुन्। तर गोल संख्यामा उनको र रासफोर्डबीच दूरी लामो छ।

ओल्ड ट्राफोर्डमा बार्सिलोनालाई हराउनै पर्ने बाध्यतामा रहेको युनाइटेडका लागि घरेलु समर्थकको साथ महत्त्वपूर्ण हुने टेन हागको भनाइ छ। ‘थिएटर अफ ड्रिम्स’ पनि भनिने ओल्ड ट्राफोर्डमा उपस्थित हुने युनाइटेडका समर्थकको हुटिङले बार्सिलोनाको मनोबल हुने आकलन टेन हागको छ।

‘यो बिहीबार (बेलायती समयअनुसार) हामी ठूलो खेल खेल्दछौँ। म चाहन्छु धेरैभन्दा धेरै समर्थक ओल्ड ट्राफोर्डमा आऊन्। हामीसँगै मिलेर बार्सिलोनालाई हराउनेछौँ,’ टेन हागले समर्थकलाई सन्देश दिएका छन्।

प्रकाशित: ११ फागुन २०७९ १६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 10 =