माधव नेपाललाई प्रस्तावको ओइरो : एउटाले राष्ट्रपति, अर्कोले प्रधानमन्त्री

हिमाल प्रेस ११ फागुन २०७९ ११:५६
68
SHARES
माधव नेपाललाई प्रस्तावको ओइरो : एउटाले राष्ट्रपति, अर्कोले प्रधानमन्त्री फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रपति निर्वाचनले गर्दा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ। फागुन २५ का लागि तोकिएको निर्वाचनको फागुन १३ मा उम्मेदवार मनोनयन तय भएको छ। तर राष्ट्रपतिको  उम्मेदवार को बन्ने अझै निश्चित भएको छैन।

आफू निकट व्यक्तिलाई राष्ट्रपति बनाउने तयारी गरिरहँदा सत्ता समीकरण नै बदलिने सम्भावना छ। सत्तारुढ दलहरू यसमा बढी विवादित देखिएका छन्।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच राष्ट्रपति उम्मेदवार छनोटकै कारण सम्बन्ध बिग्रँदो छ। एमालेले आफैँले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्नु पर्ने अडान राख्दै आएको छ भने यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेससहितको समर्थनमा राष्ट्रपति चुन्नुपर्ने बताउँदै आएका छन्।

यही विवादका कारण सत्ता समीकरण भत्किएर पुरानो पाँच दलीय गठबन्धन बन्ने सम्भावना पनि छ। हुन त केही समयअघि नै सत्तारुढ दलबीच मुख्य पदमा भागबन्डा भएको थियो। माओवादीले प्रधानमन्त्री लिँदा एमालेले सभामुख र राष्ट्रपति लिने ‘भद्र सहमति’ थियो। तर ओली-प्रचण्ड बढ्दो विवादले सोही सहमति कार्यान्वयन नहुने सम्भावना बढेको छ।

ओलीले एमालेबाट राष्ट्रपति बनाउँदा आफ्नै निकटस्थ बनाउनुपर्ने बताएका थिए। तर सोही कुरा प्रचण्डले मानेनन्। ओलीले वैकल्पिक उम्मेदवारमा माधवकुमार नेपाल, बाबुराम भट्टराई र महन्थ ठाकुरको नाम पनि दिएका थिए। तर यी कुनै नाममा प्रचण्डले चित्त बुझाएनन्।

‘कांग्रेससहितको समर्थनमा उम्मेदवार बन्नुपर्छ भन्नेमा प्रधानमन्त्रीको जोड छ,’ माओवादी केन्द्रका एक नेताले भने, ‘उहाँले (ओली)ले ल्याएका नाममा समर्थन गर्न सकिएन।’ पछिल्लो समय ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको नाम जोडतोडका साथ राखेका छन्।

नेपाल तिनै नेता हुन्, जो लामो समय एमालेमा रहेर ओलीकै कारण एमालेबाट चोइटिएर नयाँ पार्टी गठन गरेका थिए। तर कांग्रेस उम्मेदवारलाई जित्न नदिन ओलीले तिनै नेपालको नाम प्रस्ताव गरेका थिए।

यसबीचमा राष्ट्रपति उम्मेदवारबारे छलफल गर्न ओली र नेपालबीच भेटवार्ता पनि भएको चर्चा छ। तर ओलीको प्रस्तावलाई नेपालले नमानेको समाजवादीका नेताहरू बताउँछन्।

‘ओलीले राष्ट्रपति दिने भन्दा पनि हामीलाई अल्मल्याउने जस्तो गरेझैँ देखियो,’ एकीकृत समाजवादीका नेता विरोध खतिवडाले भने, ‘प्रधानमन्त्री समक्ष पनि प्रस्ताव गरिएको रहेछ। तर विश्वासको वातावरण बनेन।’ ओलीले नेपालको नाम लिँदा प्रचण्ड अप्ठ्यारोमा भने परेका थिए। नेपालले पनि सक्रियता बढाएका थिए।

ओलीले राष्ट्रपतिसँगै पार्टी एकताको प्रस्ताव पनि नेपालसमक्ष राखेको एकीकृत समाजवादी निकट स्रोत बताउँछ। एमाले-एकीकृत समाजवादी एकता गर्ने र ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्ने ओलीको प्रयत्न रहेको पनि समाजवादीनिकट नेताको भनाइ छ।

‘हामीलाई दिने भन्दा पनि आफैँ ठूलो दलको नेता बन्ने प्रयत्नमा ओली लागेको देखियो,’ समाजवादी नेता प्रकाश ज्वाला भन्छन्, ‘यही अवस्थामा विश्वासको वातावरण बनाउन सकिँदैन।’ नेपाललाई राष्ट्रपति ‘अफर’ आए पनि प्रधानमन्त्री प्रचण्डले कूटनीतिक खेल खेलेका छन्।

बुधबार बालुवाटारमा देउवासँग भेटमा पाँच दलीय गठबन्धन ब्युँताउने र चुनावी सरकारको नेतृत्व नेपाललाई दिने प्रस्ताव अघि सारिएको थिए। सुरुवाती अढाई वर्ष प्रचण्ड, दुई वर्ष देउवा र थप रहेको समय नेपाललाई प्रधानमन्त्री बनाउने मोटामोटी सहमति भएको छ।

तर यसबारे नेपालसँग भने छलफल नभएको बताइन्छ। यसबारे आजै नेपालसँग प्रस्ताव लैजाने र मानेको खण्डमा पाँच दलीय गठबन्धन ब्युँताउने प्रयत्न छ। बुधबारको छलफलमा नेपाली कांग्रेसलाई राष्ट्रपति दिनेबारे छलफल भएको बैठकमा सहभागी एक नेताले बताए।

तत्कालीन नेकपा रहँदा नै नेपाल र प्रचण्डबीच सम्बन्ध सुमधुर थियो। ओलीलाई प्रधानमन्त्रीबाट हटाउन पनि नेपाल-प्रचण्ड एक भएका थिए।

नेपालले नयाँ पार्टी गठबन्धन गर्दा पनि प्रचण्डको सहयोग मिलेको थियो। एमाले विभाजन गरेर समाजवादी बनाउँदा नेपाललाई आवश्यक संख्या पुग्दैन थियो। पार्टी विभाजन गर्दा ४० प्रतिशत केन्द्रीय सदस्य र ४० प्रतिशत सांसद हुनुपर्ने प्रावधान नपुग्दा प्रचण्डकै सक्रियतामा अध्यादेशमार्फत पार्टी विभाजन गरिएको थियो।

तत्कालीन देउवा नेतृत्वको सरकारले २० प्रतिशत सांसद वा २० प्रतिशत केन्द्रीय सदस्य भए पार्टी विभाजन गर्न पाउनुपर्ने प्रावधान बनायो। तर प्रचण्ड प्रधानमन्त्री बन्दा आफूसँग सल्लाह नगरेको भन्दै नेपाल असन्तुष्ट थिए।

‘हामीसँग सोधखोजसमेत भएन। मैले त मिडियामार्फत मात्र थाहा पाएको हुँ,’ त्यसबेला नेपालले भनेका थिए। तर प्रचण्डले लगातार भेटघाटमार्फत् नेपालसँगको दूरी घटाए। प्रचण्डसँग सघन छलफलकै कारण समाजवादीले प्रधानमन्त्रीमा विश्वासको मत पनि दियो।

त्यसपछि पटकपटकका भेटमा प्रचण्डले नेपाललाई सरकारमा सामेल हुन आग्रह गरेका थिए। तर प्रचण्डसँग अप्ठ्यारो नभएको तर ओली रहँदासम्म सत्तामा नजाने नेपालले अडान लिएका थिए। तर पछिल्लो निर्णयलाई नेपालले कसरी लिन्छन् त्यो भने हेर्न बाँकी छ। उनले राष्ट्रपतिबाट पछि हट्दै चुनावी सरकारको नेतृत्व गर्न चाहेमा पाँच दलीय गठबन्धन ब्युँतिन सक्छ।

यदि ओलीसँग निकट भएर राष्ट्रपतिकै लबिङमा लागे उनीबिनाको नयाँ गठबन्धन पनि बन्न सक्ने परिदृश्यहरू देखा परेका छन्। तर ओलीलाई भन्दा प्रचण्डलाई बढी विश्वास गर्ने भएकाले नेपाल पाँच दलीय गठबन्धन ब्युँताउन लाग्न सक्छन्।

प्रकाशित: ११ फागुन २०७९ ११:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + twenty =