रासफोर्डको गाेलमा उकासिँदै युनाइटेड

हिमाल प्रेस ८ फागुन २०७९ १०:०३
18
SHARES
रासफोर्डको गाेलमा उकासिँदै युनाइटेड

काठमाडौँ-एरिक टेन हागले मार्कस रासफोर्ड कारण म्यानचेस्टर युनाइटेडको प्रदर्शन उकासिएको बताएका छन्। इंग्लिस प्रिमियर लिगमा आइतबार राति लेस्टर सिटीमाथि रासफोर्डको दुई गोलको सहाराले जित दर्ता गरेपछि टेन हागले यस्तो अभिव्यक्ति दिएका हुन्।

यो जितपछि युनाइटेडले सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीसँगको दूरी तीन अंकमा झारेको छ। २४–२४ खेल खेलेका युनाइटेड र सिटीसँग क्रमशः ४९ र ५२ अंक छ। पछिल्ला चार खेलमा अपराजित युनाइटेड शीर्ष चारमा स्थान पक्का गर्ने मात्र होइन उपाधि दौडमै सामेल हुनेगरी प्रदर्शन गरिरहेको छ।

यहीबीच युनाइटेड बिक्रीको चर्चा पनि भइरहेको छ। युनाइटेडको स्वामित्व रहेको ग्लेजर परिवारसमक्ष हालसम्म कतारी शेख जसिम बिन हमाद अल थानी र बेलयती अर्बपति जि र्याटक्लिफले खरिद प्रस्ताव राखेका छन्।

बेलायती सञ्चारमाध्यमहरुका अनुसार युनाइटेड खरिदका लागि थप प्रस्तावका अबका केही सातामा दर्ज हुनेछन्।

मैदानभित्रको प्रदर्शन र बाहिर चलिरहेको खरिद प्रक्रियाले यतिबेला युनाइटेड समर्थकमा उत्साह छाएको बताइँदैछ। गएका केही वर्षयता युनाइटेड समर्थक ग्लेजर परिवारको विरोध गर्दै आएका छन्। उनीहरुको आरोप छ, ग्लेजर परिवारले क्लबको आम्दानी अनुसार खर्च गरिरहेको छैन। विशेषगरी खेलाडी बजारमा।

आइतबारको खेलपछि टेन हागले विपक्षी टिमले रासफोर्डलाई थेग्न नसकेको बताए। ‘पहिलो हाफमा लेस्टरको खेल राम्रो थियो, हाम्रो चाहिँ असाध्यै खराब। अस्थिर र अनुशासनहीन प्रदर्शनका कारण हामीमाथि दबाब पर्‍यो। दोस्रो हाफमा भने हामीले फरक खेल देखायौँ,’ टेन हागले भने।

रासफोर्डले पहिलो हाफको २५ औँ मिनेटमा गोलको खाता खोलेका थिए। उनले दोस्रो हाफको ५६ औँ मिनेटमा गोल थप्दा युनाइटेडको अग्रता दोब्बर बन्यो। चार मिनेटपछि नै जेडोन सान्चोले गोल गरेपछि युनाइटेड ३–० को सहज स्थितिमा पुगेको थियो।

रासफोर्डले यो सिजन प्रिमियर लिगमा १४ गोल गरिसकेका छन्। सन् २०१० यता ओल्ड ट्राफोर्डमा लगातार सात खेलमा गोल गर्ने उनी पहिलो खेलाडी हुन्। यसअघि यत्तिको बलियो लय वायन रुनीले देखाएका थिए।

‘रासफोर्ड सही समयमा सही स्थानमा पुग्छन्। उनको गोल संख्या बढ्नुको कारण यही हो। तर भुल्न नहुने तथ्य के हो भने, उनले टिमका साथीहरुको सहयोगका कारण नै गोल गरिरहेका छन्,’ रासफोर्ड भन्छन्।

सन् २०१७ यता कुनै उपाधि नजितेको युनाइटेडले शीर्षस्थानको आर्सनलसँग दूरी घटाउँदै लगेको छ। प्रिमियर लिगमा १३–१४ खेल बाँकी रहँदा युनाइटेडले आर्सनललाई भेट्ने सम्भावना सकिएको छैन। तर टेन हाग अहिल्यै लिग उपाधिबारे नसोचिरहेको बताउँछन्।

‘हामी उपाधि होइन आउँदो खेलबारे सोच्छौँ,’ टेन हाग भन्छन्। पछिल्लो पटक १० वर्षअघि प्रिमियर लिग जितेको युनाइटेड युरोपा लिगको उपाधि दौडमा पनि छ। युरोपाको अन्तिम १६ मा पुग्न प्लेअफ खेलिरहेको युनाइटेडको विपक्षी हो, बार्सिलोना। गत साता क्यामप नौउमा यी दुईले २–२ को बराबरी खेलेका थिए।

दोस्रो लेग आउँदो बिहीबार हुँदैछ। त्यसअघि युनाइटेड लिग कपको फाइनलमा न्युकासल युनाइटेडसँग भिड्दैछ। युनाइटेडले एएफए कपको पाँचौँ चरणमा पनि स्थान पक्का गरेको छ। जहाँ उसको भेट वेस्टह्यामसँग हुनेछ।

प्रकाशित: ८ फागुन २०७९ १०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − nine =