‘सु–संगठित सेना नै राष्ट्रिय हित सम्वर्द्धनको आधारशीला’

हिमाल प्रेस ५ फागुन २०७९ २१:१७
10
SHARES
‘सु–संगठित सेना नै राष्ट्रिय हित सम्वर्द्धनको आधारशीला’

काठमाडौँ- प्रधान सेनापति प्रभुराम शर्माले सु–संगठित सेना नै राष्ट्रिय हित सम्वर्द्धनको आधारशीला रहेको बताएका छन्। महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६० औं वार्षिक उत्सवको अवसरमा शुक्रबार सम्बोधन गर्दै उनले सुदृढ र सु–संगठित सेना नै राष्ट्रिय हित संरक्षण र सम्वर्द्धनको आधारशीला रहेको बताएका हुन्।

सुदृढ र सु–संगठित सेना राष्ट्रिय हित संरक्षण र सम्वर्द्धनको आधारशीला रहेकाले आफ्नो योग्यता र क्षमतालाई सैनिक अनुशासनको परिधिभित्र राखेर युनिट तथा संगठनको हित हुने काममा लाग्न उनले निर्देशन दिए। नेपाली सेनाले राष्ट्र र जनताप्रति देखाएको सेवाभाव, निःस्वार्थपन, गैरराजनीतिक चरित्र, व्यावसियकता र अनुशासन कसैको व्यक्तिगत स्वार्थपूर्तिका लागि संस्थाको गरिमामा आँच पुर्याउने कार्य नगर्न उनले निर्देशन दिए। ‘कर्तव्यपरायणता लगायत मूल्य र मान्यतालाई कायम राख्दै आफूलाई दिइएको जिम्मेवारी प्रभावकारी ढंगबाट निर्वाह गर्न सकलदर्जालाई सुझाव छ’ उनले भने, ‘प्रधान सेनापतिले अस्वाभाविक व्यक्तिगत महत्त्वाकांक्षा तथा स्वार्थपूर्तिका लागि संस्थाको गरिमामा आँच पुर्याउने कार्य सोच्ने वा गर्ने छुट कसैलाई छैन।’

विभिन्न समयमा नेपाली सेनालाई प्रदान गरिने अन्तर्राष्ट्रिय एवं राष्ट्रिय जिम्मेवारीहरूले नेपाली सेनाको गौरवमय ईतिहास र रचनात्मक वर्तमान स्पष्ट पारेकाे सेनापति शर्माको भनाइ थियो। संगठनको आफ्नै आवश्यकता र पहलमा गरिने कार्यहरू उच्च हौसलाका साथ पूरा गर्न सकलदर्जाले देखाएको तत्परता, पहलता र त्यसबाट प्राप्त उपलब्धिले नेपाली सेनाको उज्ज्वल भविष्य निर्देशित गरेको सेनापति शर्माको दाबी थियो।

नेपाली सेनाले ‘महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६० औं वार्षिक उत्सव’ कार्यक्रम शनिबार विभिन्न कार्यक्रमहरुको गरी मनाउने तयारी गरेको छ। सोही अवसरमा उनले शुक्रबार नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गरेका हुन्।

सो क्रममा उनले विगतको तुलनामा सुरक्षा चुनौती झनझन संवेदनशील र पेचिलो बन्दै गइरहेको बताए। जस्तोसुकै सुरक्षा चुनौती र परिस्थितिको सामना गर्न सकलदर्जाले पेसागत ज्ञान, सीप र क्षमता दुरुस्त बनाएर राख्न आवश्यक रहेको सेनापति शर्माको भनाइ थियो।

प्रकाशित: ५ फागुन २०७९ २१:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 8 =