सेनाको संलग्नतामा कुन सडक कति बने?

हिमाल प्रेस ३ मंसिर २०८० १२:५१
4
SHARES
सेनाको संलग्नतामा कुन सडक कति बने?

काठमाडौँ- राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाली सेना रणनीतिक महत्त्वका सडक पूर्वाधार निर्माणमा पनि सक्रिय रहेको छ।

नेपाली सेनाको व्यवस्थापनमा चार सडक आयोजनाको निर्माण कार्य भइरहेको छ। राष्ट्रिय गौरवका काठमाडौँ तराई/मधेस द्रुत मार्ग (फास्ट ट्र्याक), खाँदबारी-किमाथांका (च्याम्ताङ-घोंघप्पा), कर्णाली करिडोर (लालीबगर-दुल्लीकुना खण्ड र घाटपारीचौर-बद्रीगाउँ-भुक्का खोला खण्ड) सेनाको व्यवस्थापनका अघि बढेका सडक आयोजना हुन्।

बेनिघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक र दार्चुला-टिंकर (तुषारपानी-टिंकर खण्ड) पहिलो प्राथमिकताका सडक आयोजना सेनाकै व्यवस्थापनमा निर्माण भइरहेको छ। ती सडकको लम्बाई कुल दुई सय ७४.५३७ किलोमिटर रहेको छ।

रानी, विराटनगरदेखि किमाथांकासम्मको तीन सय ९० किमी दुरीको राष्ट्रिय गौरवको आयोजनामध्ये सेनाको व्यवस्थापनमा खाँदबारी-किमाथांका सडकअन्तर्गत (च्याम्ताङ-घोङघप्पा खण्ड) १०.५१ किमी सडक निर्माण कार्य भइरहेको छ। २०७७ माघ २४ गतेबाट निर्माण कार्य प्रारम्भ एको उक्त सडक नौ मिटर फराकिलो हुनेछ।

गत आवसम्म उक्त सडकको प्रगति ६.५ किमी रहेको र चालु आवमा २ किमी नयाँ ट्र्याक निर्माण र ३.५ किमी ट्र्याक स्तरोन्नतिको लक्ष्य राखिएको छ।

निर्माणाधीन राष्ट्रिय गौरव एवं रणनीतिक महत्व बोकेका सडक पूर्वाधार आयोजना निर्माण कार्यमा प्राप्त जिम्मेवारीलाई गुणस्तरीय लक्षित समयसीमाभित्रै सम्पन्न गर्न नेपाली सेना कटिबद्ध रहेको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए।

कर्णाली करिडोर सडक आयोजनाअन्तर्गत लालिबगर-दुल्लिकुन्ना ११ किमी र घाटपारीचौर-बद्रीगाउँ-भुक्काखोला खण्डको ११.५ किमी क्षेत्रमा सेनाले काम गरिरहेको छ।

लालिबगर-दुल्लिकुन्ना खण्डमा गत आवसम्म ६ किमी र घाटपारीचौर-बद्रीगाउँ-भुक्काखोला खण्डमा ३.५ किमी ट्र्याक खोलिएको छ भने चालु आवमा लालिबगर-दुल्लिकुन्ना खण्डमा २.५ किलोमिटर नयाँ ट्र्याक निर्माण र घाटपारीचौर-बद्रीगाउँ-भुक्काखोला खण्डमा १.५ किमी ट्र्याक निर्माणको गर्ने लक्ष्य राखिएको छ। बाँकेको जमुनाहादेखि हुम्लाको हिल्सासम्मको सो आयोजनाको कुल लम्बाई ६ सय ८२ किमी छ।

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा रहेको बेनिघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक (एक सय ५४ किमी)मध्ये सेनाको व्यवस्थापनमा कूल ९२ किलोमिटर क्षेत्र निर्माण भइरहेको छ।

सो आयोजनाको गत आवसम्म ३५.५ किमी नयाँ ट्र्याक निर्माण भएको छ भने चालु आवमा २.५ किमी नयाँ ट्र्याक निर्माण र तीन किमी स्तरोन्नतिको लक्ष्य राखिएको छ।

यस्तै महाकाली करिडोरअन्तर्गत दार्चुला-टिंकर (तुषारपानी-टिंकर खण्ड) सडक आयोजनाको कुल चार सय २५ किमीमध्ये सेनाले ७९ किमी सडक सेनाको अगुवाईमा निर्माण कार्य भइरहेको छ।

गत आवसम्म १०.४ किमी सडक ट्र्याक निर्माण सम्पन्न भएको छन् चालु आवमा नयाँ तीन किमी र दुई किमी स्तरोन्नतिको लक्ष्य राखिएको नेपाली सेनाले बताएको छ।

कडा चट्टानयुक्त भूबनोट तथा अग्ला पहाड र भीर भएका कारण ती सडक आयोजनामा काम गर्न चुनौतीपूर्ण रहेको सेनाका प्रवक्ता भण्डारीको भनाइ छ। सेनाले यसअघि मुलुकका हिमाली तथा पहाडी क्षेत्रमा विकट भौगोलिक अवस्थामा रहेका विभिन्न १० वटा सडक निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसकेको छ।

प्रकाशित: ३ मंसिर २०८० १२:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =