सकियो सैन्य आधार तालिम, ३ हजार ९१६ जना दीक्षित

हिमाल प्रेस २६ भदौ २०८० २१:३२
4
SHARES
सकियो सैन्य आधार तालिम, ३ हजार ९१६ जना दीक्षित

काठमाडौँ- नेपाली सेनाको २०७९ मंसिर १ गतेदेखि ४१ स्थानमा सञ्चालित सैन्य आधार तालिम सोमबार सम्पन्न भएको छ।

तालिम समापनका अवसरमा सैन्य जवानले बेग्लाबेग्लै तालिम केन्द्रमा अन्तिम दलले कवाज प्रदर्शन गरेको सैन्य जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। देशभर ३ हजार २८८ जना पुरुष तथा ६२८ जना महिला गरी कुल ३ हजार ९१६ जना सैन्य दीक्षित भएका छन्।

श्री नं १ सैन्य तालिम केन्द्र, त्रिशूलीमा बलाधिकृत रथी सरोज प्रताप राणा र श्री नं २ सैन्य तालिम केन्द्र, सैनामैनामा श्री सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकाल तथा अन्य स्थानमा सम्बन्धित पृतनापति, बाहिनीपतिले कवाज निरीक्षण गर्नुका साथै सम्बोधन तथा उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गरेका थिए।

तालिमरत शिक्षार्थीको परिवारजनको उपस्थितिमा तालिमको समापन कार्यक्रम सञ्चालन भएको थियो। श्री नं १ सैन्य तालिम केन्द्रमा आयोजित समारोहलाई सम्बोधन गर्दै बलाधिकृत रथी सरोजप्रताप राणाले नेपाली सेनाजस्तो गरिमामय संस्थामा सिपाही दर्जामा नियुक्त भएकोमा तालिम प्राप्त सिपाहीलाई बधाई दिएका थिए।

साथै उनले राष्ट्र, जनता र संस्थाप्रति समर्पित रहँदै कर्मठ, बफादार, इमान्दार, अनुशासित एवं नेपाली सेनाको मूल्य मान्यता र परम्परालाई पालना गर्न तथा जस्तोसुकै विषम् परिस्थितिमा समेत विचलित नभई आफ्नो कर्तव्यपथमा अडिग रहन निर्देशन दिएका थिए।

यसअघि भदौ २४ गते प्रधानसेनापति महारथी प्रभुराम शर्माले आफ्नो जिम्मेवारी सम्हालेको दोस्रो वर्ष पूरा भएको अवसरमा नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्ने क्रममा तालिम सम्पन्न गर्ने सैन्यलाई आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी सिपाही हुन लागेकोमा बधाई दिएका थिए।

प्रकाशित: २६ भदौ २०८० २१:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =