अब कर्णालीमै मिर्गौला प्रत्यारोपण

रमा केसी २३ माघ २०७९ १५:२७
12
SHARES
अब कर्णालीमै मिर्गौला प्रत्यारोपण कर्णाली प्रदेश अस्पताल

सुर्खेत- कर्णाली प्रदेश अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको छ। नवलपरासी बर्दघाट नगरपालिका-४, नवलपरासीका २२ वर्षीय मोतिबहादुर थापाको सफल मिर्गौला प्रत्यारोपण गरिएको हो।

कानुनी तथा व्यवस्थापकीय प्रक्रिया पूरा भएपश्चात् सहिद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ र अस्पताल निर्देशक डा. डम्बर खड्का नेतृत्वको संयुक्त टोलीले शनिबार मिर्गौला प्रत्यारोपण  गरेको हो। थापालाई उनकी ४३ वर्षीया आमाले मिर्गौला दिएकी हुन्।

प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. खड्काले काठमाडौँ उपत्यका बाहिर सरकारी अस्पतालमा दोस्रो पटक र कर्णालीमा पहिलोपटक निःशुल्क मिर्गौला प्रत्यारोपण गरिएको बताएका छन्। उनका अनुसार प्रदेश अस्पतालले अनुमति पाएको तीन महिनापछि सफल मिर्गौला प्रत्यारोपण भएको हो।

सहिद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा. श्रेष्ठ र कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. खड्काले प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि २०७८ चैत १० गते सम्झौता गरेका थिए।

केन्द्रबाट डा. रविकिरण गौतम, डा. हरि बराल, एनेस्थेसियोलोजिस्ट डा. सोभित थापा, डा. रश्मित श्रेष्ठ, नेफ्रोलोजिस्ट डा.सुमित आचार्य, डा. दीपा लामिछाने र रेडियोलोजिस्ट डा. समीर दवाडी संलग्न थिए।

त्यस्तै सुर्खेत अस्पतालबाट डा. पूजन बल्ल, डा. जनी बज्राचार्य, फिजिसियन डा. कुलराज शाही, ओटी इन्चार्ज प्रभा रावल तथा ओटी रआईसीयूमा कार्यरत नर्स प्रयोगशालाका इन्चार्ज भरत देवकोटालगायत कर्मचारीहरूको टोली मिर्गौला प्रत्यारोपण कार्यमा संलग्न भएको थियो।

प्रत्यारोपण सेवालाई नियमित सञ्चालन गर्ने प्रदेश अस्पतालको योजना छ। यसका लागि अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गर्न उच्चस्तरको तालिमका लागि केन्द्रमा पठाउने निर्देशक डा. खड्काले बताए।

प्रत्यारोपण केन्द्रमा अहिलेसम्म एक हजार ११ जनाको मिर्गौला र ९ जनाको कलेजो प्रत्यारोपण गरिएको कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए। ‘अब कर्णालीका बिरामीले काठमाडौँ धाउनुपर्ने अवस्था आउँदैन र बिरामीले एक रुपैयाँसमेत खर्च गर्नुपर्दैन,’ उनले भने, ‘यसको सेवा निरन्तर हुन्छ तर कुनै पनि हालतमा बन्द हुँदैन।’

मिर्गौला प्रत्यारोपण निःशुल्क भएको र कुनै पनि शुल्क तिर्नु नपरेको मोतिबहादुरका बुबा तुलबहादुर थापाले बताए। ‘म सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गएको थिएँ,’ उनले भने, ‘सुर्खेतमै उपचार हुन्छ भनेपछि एक्लै यहाँ आउन साहस गरेँ। मिर्गौला प्रत्यारोपण कार्य पनि सोचेजस्तो भएको छ।’

अहिले छोराको स्वास्थ्य अवस्था सन्तोषजनक भएको थापाले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 4 =