मस्तिष्क मृत्युपछि गर्न सकिन्छ ८ वटा अंग दान, यस्तो छ कानुनी व्यवस्था

हिमाल प्रेस १७ असार २०८० ९:०६
8
SHARES
मस्तिष्क मृत्युपछि गर्न सकिन्छ ८ वटा अंग दान, यस्तो छ कानुनी व्यवस्था

लुम्बिनी– मानिसले दैनिक खानपान र जीवनशैलीमा ध्यान नपुर्‍याउँदा जटिल खालका दीर्घरोगीको संख्या बढ्दो छ। स्वास्थ्यप्रति सचेत नहुने, खानपान र जीवनशैलीमा लापरवाही गर्नाले रक्तचाप, मधुमेह,मिर्गौला र मुटुरोगजस्ता जटिल खालका दीर्घरोगले समस्या पर्ने गरेको पाइएको छ।

यस्ता रोगको समयमा उपचार नगर्नाले मिर्गौला, कलेजो र क्यान्सरजस्ता गम्भीर प्रकृतिका रोगको सिकार हुनुपर्ने अवस्थासमेत रहेको जनाइएको छ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र स्वस्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शनिबार बुटवलमा गरेको मस्तिष्क मृत्युपश्चातको अंगदानसम्बन्धी कानुनी व्यवस्था र कार्यान्वयनको अवस्था विषयक अन्तक्र्रिया कार्यक्रममा प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मानिसले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिन खानपान र जीवनशैलीमा सचेत हुनुपर्ने बताए।

मिर्गौला प्रत्यारोपण गर्न चाहँदा पनि बिरामीले सहजै मिर्गौला प्रत्यारोपी पाउन सक्ने अवस्था नहुँदा प्रत्यारोपण केन्द्रले अहिले मरणोपरान्त अंगदानको सामाजिक अभियान थालेको उनले जानकारी दिए।

केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले खेर जान लागेको अंगलाई सदुपयोग गरेर अरूको ज्यान बचाउन मर्नुअघि मञ्जुरीनामा दिने अवस्था बनाउन सकिए धेरै मिर्गौला रोगीको ज्यान बचाउन सकिने बताए।

‘आफू मरे पनि आफ्नो अंग अरूको शरीरमा बाँचिरहन पाउँछ। यो पुण्य काम हामी सबैले गर्नुपर्छ,’ उनले भने, ‘यसले नेपाललाई मिर्गौला प्रत्यारोपणमा आत्मनिर्भर बनाउन निकै मद्दत गर्छ।’

उनले जनचेतनाको कमीका कारण मस्तिष्क मृत्युपछि प्रयोग गर्न सकिने अंगहरू खरानी भएर वा माटोमुनि गइरहेको उनको भनाइ छ।

१ जना मानिसको मस्तिष्क मृत्युपश्चात ८ वटा अंग अन्य मानिसलाई उपयोग हुनसक्ने हुँदा पनि यसबारे आम नागरिकलाई सचेतना जगाउँदै कार्यक्रम समुदायस्तरमा लैजानुपर्ने उनले सुझाव दिए।

केन्द्रका निर्देशक डा. श्रेष्ठले नेपालमा प्रत्येक वर्ष १ हजार जनाको मस्तिष्क मृत्यु हुने गरेको जनाउँदै जनचेतना जगाउन सकिएमा वर्षमा ८ हजार अंग प्राप्त गर्न सकिने सम्भावना रहेको बताए।

‘नेपालमा निकै कममात्र अंग प्रदान हुने गरेको छ,’ उनले भने, ‘एउटा मस्तिष्क मृत्यु भएकोबाट ८ जनाले जीवनदान पाउन सक्छन्।’

स्वस्थ जो-कोही मानिसले पनि अंगदान गर्न सक्ने र कानुनले अहिले आफन्तहरूको ५२ थरी नाताबाट प्रत्यारोपण गर्न सकिने व्यवस्था गरेको उनले जानकारी दिए।

मानव अंग प्रत्यारोपण गर्न सकिने व्यवस्था मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को पहिलो संशोधन २०७२ तथा नियमावली २०७३ ले व्यवस्था गरेको छ।

नेपालमा मिर्गौलाका बिरामीको नियमित डायलायसिसभन्दा प्रत्यारोपण गरेकाहरूको जीवन बढ्ने उनले जानकारी दिए।

नेपालमा महँगो शुल्क तिरेर डायलायसिस गर्ने प्रक्रियाबाट आंशिक हुँदै अहिले सरकारले पूर्णरूपमा निःशुल्क डायलायसिस सेवा उपलब्ध गराउँदै आएको उनले उल्लेख गरे।

मिर्गौलाका बिरामीलाई निःशुल्क डायलायसिसको अभियानसँगै बिरामीलाई स्वास्थ्य भएर बाँच्न र परिवारमा पनि सहजताको वातावरणका लागि प्रत्यारोपण नै उत्तम विकल्प हुने विशेष ज्ञान दिने अभियान थालिएको उनको भनाइ छ।

प्रत्यारोपणको विकल्प डायलायसिस हुन नसक्ने बरु डायलायसिस गरेका बिरामीलाई पनि एक मुठी पानी पिउँदा सास बढ्ने र कठिन हुने गरेको उनले जनाए।

‘सरकारले डायलायसिस सेवा निःशुल्क गरेको छ। जसको लागत वर्षमा २ लाख ५२ हजार खर्च हुन्छ,’ उनले भने, ‘२ वर्षको डायलायसिस खर्चबाट मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ।’

सरकारले ०७३ सालदेखि प्रत्यारोपणका लागि पूर्णरूपमा निःशुल्क सेवा उपलब्ध गराउँदै आएको र नेपालमा प्रत्यारोपण सफलताको प्रतिशत ९९ प्रतिशत रहेको उनले जानकारी दिए।

देशभर प्रत्येक वर्ष मिर्गौला प्रत्यारोपणको माग तीन हजार जनाको रहे पनि केन्द्रमा भने हप्ताको ४ जनाको गरी वर्षको २ सय जनाको प्रत्यारोपण क्षमतामात्र रहेको निर्देशक डा. श्रेष्ठले बताए।

मिर्गौला प्रत्यारोपणको सेवा केन्द्रमा मात्र नभएर अब यस्तो सेवालाई विकेन्द्रिकृत गर्नुपर्नेमा उनले जोड दिए।

‘यो सेवालाई अब सबै प्रदेशमा प्रत्यारोपण सेवा चलाउन जरुरी छ,’ उनले भने, ‘अब बुटवलमा पनि यस्तो स्वास्थ्य सेवा सुरु गर्न आह्वान गर्छु।’

कार्यक्रममा डा. कल्पना श्रेष्ठले अंगदान गर्ने व्यक्तिको परिवारलाई बुझाउन धेरै कठिन हुने गरेको बताइन्। मस्तिष्क मृत्युपछि २४ घण्टाभित्र सुरक्षित राखेर प्रत्यारोपण गर्न सकिने सम्भावना रहेको उनले जनाइन्।

नेपालमा मिर्गौला प्रत्यारोपणमा पनि लैंगिक विभेद रहेको उनले जानकारी दिइन्।

‘मिर्गौला प्रत्यारोपणका बिरामी महिलाले पुरुषबाट अंग प्राप्त गर्ने संख्या निकै कम छ,’ उनले भनिन्, ‘यसको तुलनामा महिलाबाट पुरुष बिरामीले मिर्गौला लिने संख्या निकै ठूलो छ।’

लुम्बिनी प्रदेशसभाका प्रदेश सदस्य भोज श्रेष्ठले आम नागरिकको स्वस्थ्य सेवालाई सरल र सहज बनाउने विषयमा तीन तहकै सरकार गम्भीर भएर लाग्नुपर्ने बताए। नीतिगत समस्यालाई समाधान गरेर सेवा विस्तारमा सरकारी अस्पतालहरूको ध्यान जानुपर्ने उनले बताइन्।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले बुटवलमा स्वास्थ्य क्षेत्रमा जनतालाई सेवा प्रदान गर्न उल्लेख्य काम भएको बताए। आम्दा जापानको सहयोगमा बुटवलको आम्दा अस्पतालमम क्यान्सर, न्यूरोसर्जन सेवा सुरु गर्ने छलफल चलाएको उनको भनाइ छ।

कार्यक्रममा प्रत्यारोपण विशेषज्ञ डा. दिपेश श्रेष्ठ, मिर्गौला रोग विशेषज्ञ डा. शक्ति बस्नेतले समाजमा प्रत्यारोपणका बारेमा सचेतना जगाउने काम गर्नु आवश्यक रहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − thirteen =