हवाई भाडा घटाउन पर्यटन मन्त्रीसमक्ष परिसंघको आग्रह

हिमाल प्रेस २० माघ २०७९ १७:५८
4
SHARES
हवाई भाडा घटाउन पर्यटन मन्त्रीसमक्ष परिसंघको आग्रह

काठमाडौँ– नेपाल उद्योग परिसंघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसमक्ष हवाई भाडा घटाउन आग्रह गरेको छ।

शुक्रबार पर्यटनमन्त्रीसँग भेटवार्ता गर्दै परिसंघको टोलीले हवाई भाडा कम गरेर पर्यटन उद्योगलाई पुनर्जिवित गर्न आग्रह गरेको हो।

परिसंघको टोलीले पर्यटन प्रबद्र्धनका लागि चालिनुपर्ने कदम, युरोपियन युनियनको गम्भीर सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालिन एवं दीर्घकालिन नीतिगत सुधारका विषयमा सुझावसमेत दिएको छ।

उपाध्यक्ष राजबहादुर शाहले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर परिसंघले छुट्टै समिति गठन गरेको जानकारी गराए। उनले नेपालको हवाई भाडा अत्यन्त महंगो हुँदा नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य हुँदाहुँदै पनि अपेक्षाकृत रुपमा विदेशी पर्यटक आउन नसकेको बताए।

शाहले हवाई भाडा घटाउनेतर्फ आवश्यक पहल गर्न, राष्ट्रिय ध्वजावाहक नेपाल वायुुसेवा निगमलाई प्रतिस्पर्धी बनाउन आग्रहसमेत गरेका छन्।

अर्का उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपाल उद्योग परिसंघले सरकारसँग मिलेर अर्थतन्त्रको विकास विस्तारमा काम गर्दै आइरहेको भन्दै पर्यटन उद्योगको विकासका लागि पनि सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको बताए।

परिसंघ पर्यटन समिति सभापति पम्फा धमलाले पर्यटन उद्योगलाई अन्य उद्योग सरह पाउने सुविधा दिन आग्रह गरिन्। उनले अन्तर्राष्ट्रिय गन्तव्यमा देखिने गरी नेपालको प्रबद्र्धन अभियान सञ्चालन गरिनुपर्नेमा जोड दिइन्।

प्रकाशित: २० माघ २०७९ १७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =