खर्च कटौती मात्रैले अर्थतन्त्रमा सुधार आउँदैन : अर्थमन्त्री पौडेल

हिमाल प्रेस १८ माघ २०७९ २१:३४
4
SHARES
खर्च कटौती मात्रैले अर्थतन्त्रमा सुधार आउँदैन : अर्थमन्त्री पौडेल फाइल तस्बिर।

काठमाडौँ– उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्‍याउन नहुने बताएका छन्। बुधबार आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) ले काठमाडौँमा आयोजना गरेको अर्थतन्त्रको चुनौती र समाधानका उपाय विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

अहिले बजेटको आकारका विषयमा छलफल चलिसकेको बताउँदै उनले खर्च कटौतीसम्बन्धी अर्थमन्त्रालयले महत्त्वपूर्ण निर्णय गरेको उल्लेख गरे। अर्थतन्त्रको सुधारको लागि यतिमात्रैले नपुग्ने उनको भनाइ छ।

मन्त्री पौडेलले आर्थिक नीति परिमार्जन गर्ने बेला भएको उल्लेख गर्दै खर्च कटौतिको निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्नका लागि आफू प्रतिबद्ध रहेको स्पष्ट पारे।

अर्थतन्त्रमा काम नलाग्ने संरचना र नीतिलाई हटाउनका लागि गृहकार्य आवश्यक भएको उनले बताए। आगामी दिनमा संरचनागत तथा नीतिगत सुधार गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै उनले अहिलेका नयाँ समस्याहरूको चाङलाई बिस्तारै कम गर्दै लैजाने बताए।

‘मुलुकको आर्थिक समस्याबारे यसको समाधानका बारेमा चर्चा भइरहेको छ। समस्याका प्रवृत्तिहरू फरक फरक छन्, कति तात्कालिक महत्त्वका समस्याहरू छन्, तत्काल समाधान गर्नुपर्छ, कति दीर्घकालीन छन्, कति मध्यकालीन छन् त्यही अनुसारका नीतिहरू अघि सार्नुपर्छ। तर तत्कालका समस्या समाधान गर्नुपरेको छ, दीर्घकालीन नीतिहरू अघि सारेर हुँदैन,’ उनले भने।

सरोकार सबै पक्षसँग बसेर ब्याजदरका विषयमा छलफल आवश्यक भएको पनि उनको भनाइ छ।

प्रकाशित: १८ माघ २०७९ २१:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =