काठमाडौँ- निर्वाचन आयोगले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ। आयोगको आइतबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम निर्वाचनको मिति तोक्ने निर्णय गरेको हो।
मंसिरमा सम्पन्न चुनावमा उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए। सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज भएको फैसला गरेपछि उक्त क्षेत्र रिक्त भएको थियो।
संघीय संसद्ले लामिछानेको प्रतिनिधिसभा सदस्य पद नेपालको संविधानको धारा ८९ को (ख) बमोजिम रिक्त भएको भनी आयोगमा जानकारी प्राप्त भएपछि उपनिर्वाचनको मिति तय गरिएको आयोगले जनाएको छ।
आयोगले स्वीकृत गरेको उपनिर्वाचनसम्बन्धी निर्वाचन कार्यक्रमअनुसार २०७९ फागुन १ गतेदेखि २०७९ चैत १६ गतेसम्म मतदाता नमावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ।
त्यसैगरी उम्मेदवारको मनोनयन दर्ता २०७९ चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गते, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने चैत २२ गते, उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्य चैत २३ गते हुनेछ।
नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने व्यवस्था छ।
साथै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था छ। सोही कानुनी व्यवस्थ बमोजिम आयोगले उपनिर्वाचन मिति तोकेको सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।


