प्रहरी हत्या आरोपित एमालेका सांसद कोइरीलाई पक्राउ गर्न देशभरीका प्रहरी कार्यालयमा सर्कुलर

हिमाल प्रेस ८ माघ २०७९ १६:२२
256
SHARES
प्रहरी हत्या आरोपित एमालेका सांसद कोइरीलाई पक्राउ गर्न देशभरीका प्रहरी कार्यालयमा सर्कुलर

काठमाडौँ- हत्या अभियोग लागेका एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न देशभरका जिल्ला प्रहरी कार्यालयलाई प्रहरी प्रधान कार्यालयले सर्कुलर जारी गरेको छ। सांसद कोइरीलाई पक्राउ गर्न गृहमन्त्रालयको आदेशमा देशभरका प्रहरी कार्यालयलाई निर्देशन जारी गरिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए।

सांसद कोइरीको विषयलाई लिएर संसद्‌मा र बाहिर गृहमन्त्री रवि लामिछानेको चौतर्फी आलोचना भएपछि उनले प्रहरीलाई पक्राउ गर्न निर्देशन दिएका थिए। गृहमन्त्रालयले प्रहरीले कोइरीलाई पक्राउ गर्न आलटाल गरेको भन्दै विज्ञप्ति नै जारी गरेको थियो।

‘प्रहरीले यससन्दर्भमा दुई पटक सर्कुलर जारी गरेको छ। एकपटक गृहमन्त्रीले निर्देशन दिए बित्तिकै र एकपटक ध्यानाकर्षण गराउँदै फेरि गरिएको हो,’ राईले भने। कोइरी मंसिर ४ को निर्वाचन अघि जसपाबाट एमाले प्रवेश गरेर महोत्तरी- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

विशेष गरी नेपाली कांग्रेसका सांसदहरूले फरार सूचीमा रहेका सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्दै प्रश्न गर्दै आइरहेको छ। कोइरीमाथि मधेश आन्दोलनमा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या अभियोग छ।

२०७२ को मधेश आन्दोलनमा घाइते प्रहरी विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा महतोकै निर्देशनमा एम्बुलेन्सबाट बाहिर निकालेर खेतमा लखेटी-लखेटी हत्या गरिएको अभियोग छ। विकको हत्या आरोपमा उनको परिवारले कोइरीलगायत २८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ गते एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दियो। आदेश चित्तबुझ्दो नभएको भन्दै विकको परिवारले जनकपुर उच्च अदालतमा पुनरावेदन दिएका थिए।

जनकपुर उच्च अदालतमा २०७७ मंसिर १९ मा जिल्ला अदालतको आदेश उल्ट्याउँदै महतोलाई थुनामै राखेर कारबाही प्रक्रिया अघि बढाउन आदेश थियो। उनी अहिलेसम्म अदालत हाजिर पनि भएका छैनन् र प्रहरीले पनि उनलाई पक्राउ गरेको छैन। तर उनी फरार सूचीमा छन्।

उनी लगातार प्रतिनिधिसभाको बैठकमा सहभागी भए पनि अहिलेसम्म पक्राउ परेका छैनन्।

यो पनि

सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

फरार सूचीमा रहेका एमालेका सांसद महतोलाई पक्राउ गर्न निर्देशन दिइसकेँ : गृहमन्त्री लामिछाने

यी दुई जनालाई सांसदको रुपमा काम गर्न नदिन प्रहरी र अख्तियारको पत्र

भ्रष्टाचार र हत्या अभियोगमा मुद्दा खेपिरहेका सांसदले पनि लिए शपथ

 

 

प्रकाशित: ८ माघ २०७९ १६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + fourteen =