फरार सूचीमा रहेका एमालेका सांसद महतोलाई पक्राउ गर्न निर्देशन दिइसकेँ : गृहमन्त्री लामिछाने

हिमाल प्रेस २७ पुष २०७९ १७:२०
88
SHARES
फरार सूचीमा रहेका एमालेका सांसद महतोलाई पक्राउ गर्न निर्देशन दिइसकेँ : गृहमन्त्री लामिछाने फाइल तस्बिर।

काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेका प्रत्यक्ष निर्वाचित सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न निर्देशन दिइसकेको बताएका छन्। बुधबार राप्रपाले आयोजना गरेको चियापान समारोहमा पुगेका लामिछानेलाई पत्रकारले यसबारे प्रश्न सोधेपछि यस्तो जवाफ दिएका हुन्।

फरार सूचीमा रहेका सांसद महतोले मंगलबारमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत पनि दिएका थिए। संसद्‌मा भोट हाल्न जाँदा पनि किन पक्राउ नगरेको भन्ने प्रश्नमा लामिछानेले भने, ‘ले देखिनँ। पछि सञ्चारमाध्यमबाट थाहा पाएपछि आईजीपीलाई फोन गरेर पक्राउ गर्न निर्देशन दिइसकेको छु।’

नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ पनि महतो जस्तै मुद्दा खेपिरहेका सांसद हुन्। उनी भने निलम्बनमा परिसकेका छन्। एमालेका सांसद महतोमाथि भने २०७२ को मधेश आन्दोलनमा सशस्त्र प्रहरीलाई हत्या गरेको आरोप छ। महतो निर्वाचनको समयमा जसपा परित्याग गरी एमाले प्रवेश गरेर महोत्तरी १ बाट उम्मेदवार बनेर निर्वाचन जितेर आएका हुन्।

२०७२ भदौको आन्दोलनमा घाइते प्रहरीलाई उपचारका लागि जनकपुर लैजाने क्रममा महतोकै निर्देशनमा एम्बुलेन्सबाट बाहिर निकालेर खेतमा लखेटी-लखेटी हत्या गरिएको अभियोग छ।

हत्यापछि महतोसहित २८ जनाको नाममा किटानी जाहेरी परेको थियो। त्यसपछि उनी पक्राउ परेका थिए। जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ गते एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दियो। आदेश चित्तबुझ्दो नभएको भन्दै प्रहरीको परिवारले जनकपुर उच्च अदालतमा पुनरावेदन दिएका थिए।

जनकपुर उच्च अदालतमा २०७७ मंसिर १९ मा जिल्ला अदालतको आदेश उल्ट्याउँदै महतोलाई थुनामै राखेर कारबाही प्रक्रिया अघि बढाउन आदेश थियो। उनी अहिलेसम्म अदालत हाजिर पनि भएका छैनन् र प्रहरीले पनि उनलाई पक्राउ गरेको छैन। तर उनी फरार सूचीमा छन्।

प्रकाशित: २७ पुष २०७९ १७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + thirteen =