सभामुख घिमिरे : फ्लोरबाट सीधै आसनमा

हिमाल प्रेस ५ माघ २०७९ २२:०६
18
SHARES
सभामुख घिमिरे : फ्लोरबाट सीधै आसनमा

काठमाडौँ– प्रतिनिधिसभालेसभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन्। प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्‍यो। प्रतिनिधिसभाका २७५मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए। एक जना सांसद भने तटस्थ रहे।

घिमिरे पुराना कम्युनिस्ट नेता नेता हुन्। मंसिरमा सम्पन्न निर्वाचनमा पहिलो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन पाएका थिए, चुनाव जिते। चुनाव जितेपछि उनले एक पटक पनि प्रतिनिधिसभाको रोष्ट्रम प्रयोग गर्ने अवसर पाएनन्। सीधै सभामुखको उम्मेदवार भएका उनी निर्वाचित भए।

प्रतिनिधिसभा सदस्यको चुनाव जितिसकेपछि उनी प्रतिनिधिसभाको वेलमा पुगे। कारण वेल हुँदै आफ्नो सिटमा जानुपर्छ। तर, अब उनी सीधै सभामुखको आसनमा पुगेका छन्।

घिमिरे मंसिरमा सम्पन्न निर्वाचनमा झापा २ बाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएका हुन्। एमाले प्रदेश-१ इञ्चार्ज रहेका घिमिरे पहिलो पटक प्रतिनिधिसभा सदस्य भए पनि राष्ट्रियसभा सदस्य भने ०५६ सालमै भएका थिए। घिमिरे झापामा एमालेलाई स्थापित गर्न लामो समय काम गरेका नेतामध्ये पर्छन्।

६६ वर्षीय घिमिरे ०३१ सालदेखि राजनीतिमा छन्। झापा विद्रोहपछि नेपाल कम्युनिष्ट पार्टीको सम्पर्कमा रहेका घिमिरे ०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को-अर्डिनेशन कमिटी (कोके)गठनपछि विद्यार्थी संगठनमार्फत पार्टी काममा होमिएका हुन्।

 मदन भण्डारी फाउन्डेसन कार्यालय प्रमुख भएर यसको विस्तार र विकासमासमेत योगदान गरेका घिमिरे पार्टी अध्यक्ष केपी ओलीको नजिकमा रहेर काम गर्दै आएका नेता हुन्।

०३३ सालमा आफ्नो शिक्षालाई थाती राखेर गाउँ-गाउँ पुगेर पार्टी संगठन निर्माणमा खटिएका घिमिरेले भूमिगत भएर कोकेमा काम गरेको ३ वर्षपछि ०३५ साल भदौमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए।

०३५ साल पुस ११ गते कम्युनिष्ट घटकहरू मिलेर नेकपा माले बनेपछि तेह्रथुम र पाँचथर जिल्लाको संगठक भए। ०३९ सालमा इलाम जिल्लाको पार्टी प्रमुख भए। ०४९ सालमा नेकपा माले र नेकपा एकीकृतको एकीकरण पछि सम्पन्न नेकपा (एमाले) को पाँचौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य थिए।

०५० सालमा नेकपा एमालेको मेची अञ्चल इन्चार्ज भए। ०५८ सालमा केन्द्रीय विभागअन्तर्गत स्वास्थ्य विभागको इन्चार्ज। त्यसपछि इन्जिनियरिङ विभाग, युवा संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्राध्यापक संघको इन्चार्ज भएर काम गरे।

०७५ सालमा नेकपाको प्रदेश १ अध्यक्ष भए। ०७८ सालमा सम्पन्न नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ इन्चार्ज भएर काम गरे।

बिहीबार प्रतिनिधिसभाको सभामुखकै जिम्मेवारी प्राप्त गरेका छन्। राजनीतिका लागि त्याग गरेको र त्यसको सफलता प्राप्त गरेको घिमिरे निकटस्थहरू बताउँछन्।

भूमिगत कालमा ०३५ साल देखि ०४६ सालसम्म संगठन र नेतृत्व गरेका जिल्लाहरू तेह्रथुम, पाँचथर र इलाम आजसम्म कम्युनिष्टको मजबुत संगठनसहितको किल्लाको रूपमा स्थापित भएका थिए। त्यसकै जगमा ०४८ सालमा भएको निर्वाचनमा इलाम जिल्लामा आफूले पाएको टिकट अर्को नेतालाई प्रदान गरेर पार्टीको जित निश्चित गर्न आफूले त्याग गरेको घिमिरे बताउँछन्।

त्यसको परिणाम आफ्नो क्षेत्रमा पार्टी लगातार विजयी भएको भएको घिमिरेको बुझाइ छ। ०५४ सालमा मेची अञ्चल इन्चार्ज भएको बेला सम्पन्न स्थानीय चुनावमा मेची अञ्चलका सबै जिल्ला विकास समिति र तीन चौथाइभन्दा बढी स्थानीय तहहरूमा पार्टी जिताउन सफल भएको, प्रदेश १ इन्चार्ज भएको बेला ०७९ सालमा सम्पन्न स्थानीय चुनावमा सो प्रदेशमा पाँचदलीय गठबन्धनको घेरा तोड्दै कुल ५८६४ जनप्रतिनिधिमध्ये सबैभन्दा धेरै २६८५ प्रतिनिधिहरू एमालेबाट विजयी गराउन सफल भएको परिणामलाई पनि उनले आफ्नो सफलताको सूचीमा राखेका छन्।

०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रत्यक्ष तथा समानुपातिक दुवै चुनावमा प्रदेश १ मा एमाले पहिलो दल बनाउन सफल भएको, ०७९ सालको चुनावमा हालसम्मको इतिहासमा कहिल्यै नजितेको सोलुखुम्बु जिल्लामा पाँचदलीय गठबन्धनलाई हराउँदै एमालेलाई विजयी गराउन सफल भएको, पहिलो पटक झापा २ बाट उम्मेदवार बन्दा पाँचदलीय गठबन्धन स्वतन्त्रलगायत सबैको घेरा तोडेर प्रतिनिधिसभा तथा प्रदेशसभाका दुवै स्थानमा सानदार जित निकाल्न सफल बनाउँदै एमालेलाई दोस्रो ठूलो शक्ति बनाउनु घिमिरेको राजनीतिक जीवनको  सफलता हो।

मदन भण्डारी फाउन्डेसन कार्यालय प्रमुख भएर यसको विस्तार र विकासमासमेत योगदान गरेका घिमिरे पार्टी अध्यक्ष केपी ओलीको नजिकमा रहेर काम गर्दै आएका नेता हुन्।

नेताहरूका अनुसार आफ्ना विचारहरू स्पष्ट रूपमा राख्ने, पार्टी अनुशासनलाई आत्मसात गर्ने, पार्टी नेतृत्वको विश्वास पात्र, सबैसँग सम्मानपूर्ण व्यवहार गर्ने, प्रचार प्रसारभन्दा बढी काममा केन्द्रित हुने र पार्टीले दिएको जस्तो सुकै जिम्मेवारी पनि सहज रूपमा वहन गर्ने घिमिरेको स्वभाव छ।

यही स्वभाव भएका घिमिरेले प्रतिनिधिसभामा सभामुखको मर्यादा कायम गर्ने एमाले नेताहरू बताउँछन्।

सभामुख निर्वाचित भएपछि प्रतिक्रिया दिने क्रममा उनले, ‘आफूले ठिक ढंगबाट सभाको प्रतिनिधित्व गर्ने,’ बताएका छन्। उनले विगतबाट शिक्षा लिँदै संसदलाई चुस्त बनाएर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। ‘म निष्पक्षताका साथ सभा सञ्चालनमा लाग्नेछु। प्रतिनिधिसभाको प्रतिनिधित्व ठिक ढंगले गर्नेछु। विगतका सभामुखहरूको कार्यशैलीबाट शिक्षा लिँदै संसदलाई चुस्त बनाउन लाग्नेछु,’ सभामुख घिमिरेको प्रतिबद्धता छ।

प्रकाशित: ५ माघ २०७९ २२:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =