नेकपा एमालेका देवराज घिमिरे सभामुख निर्वाचित

हिमाल प्रेस ५ माघ २०७९ १५:१४
88
SHARES
नेकपा एमालेका देवराज घिमिरे सभामुख निर्वाचित

काठमाडौँ- नेकपा एमालेका सांसद देवराज घिमिरे संघीय संसद्‌अन्तर्गत प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका छन्। घिमिरे सत्ता गठबन्धन दलको तर्फबाट साझा उम्मेदवार हुन्। नेपाली कांग्रेसहितका विपक्षी गठबन्धनले भने कांग्रेसकी सांसद ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको थियो।

घिमिरेको पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मत दिए।  न्यौपानेको पक्षमा कांग्रेससहित, नेकपा एकीकृत समाजवादी पार्टी,  लोकतान्त्रिक समाजवादी पार्टी, जनमोर्चाका सांससले मत दिए।

घिमिरेले  १६७ मत पाए भने न्यौपानेले  १०० मत पाइन्। एक जनाले कसैलाई पनि मत दिएनन्।  सभामुख निर्वाचित घिमिरे झापा-२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।

२६८ जना सांसदले मतदानमा भाग लिएका थिए।

को हुन् घिमिरे? 

२०१३ जेठ १३ मा ताप्लेजुङको सिकैंचामा जन्मिएका घिमिरे स्नातकसम्म अध्ययन गरेका छन्। २०२७ देखि २०३० सालसम्म चलेको झापा विद्रोहपछि अपिल प्रसारणको लाइनबाट घिमिरे नेपाल कम्युनिस्ट पार्टीको सम्पर्कमा आएका हुन्। २०३२ मा उनी कोअर्डिनेसन केन्द्रको विद्यार्थी संगठनमा आबद्ध भए। २०४७ सालमा एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा चुनिएका थिए। उनको संसदीय यात्रा भने २०५६ सालमा सुरु भएको हो।

२०५६ सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि उनी लामो समय संसदीय राजनीतिमा देखिएनन्। हाल नेकपा एमाले स्थायी कमिटी सदस्य रहेका घिमिरे प्रदेश १ को इन्चार्जसमेत हुन्। १२ वर्ष भूमिगत राजनीति गरेको उनी पटकपटक हिरासतमा बसेका छन्। ४ मंसिरमा भएको निर्वाचनमा घिमिरे झापा–२ बाट एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

घिमिरे २०५३ मा भएको महाकाली सन्धी हुँदा एमाले केन्द्रीय कमिटीका वैकल्पिक सदस्य थिए। सो अवस्थामा उनको मत निर्णायक बनेको थियो। एमालेको तत्कालीन मेची अञ्चल इन्चार्ज रहेका घिमिरे ०५१ सालदेखि झापामा सक्रिय पार्टी राजनीतिमा थिए। ०३२ सालदेखि नै तत्कालीन कोर्डिनेशन केन्द्रका सदस्य रहेका उनी ०३६ सालदेखि मालेहुँदै एमालेमा क्रियाशील रहँदै आएका थिए।

प्रकाशित: ५ माघ २०७९ १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 6 =