जीवित शिशुलाई मृत घोषित गर्ने चिकित्सकलाई काममा रोक

हिमाल प्रेस ५ माघ २०७९ १४:१८
8
SHARES
जीवित शिशुलाई मृत घोषित गर्ने चिकित्सकलाई काममा रोक

इटहरी– विराटनगरस्थित कोसी अस्पतालमा उपचारका लागि भर्ना भएकी १९ दिने शिशुलाई मृत घोषित गर्ने चिकित्सकलाई कोसी अस्पतालले काम गर्न रोक लगाएको छ। अस्पतालले तीन जना स्वास्थ्यकर्मीलाई तत्काल काम गर्नका लागि रोक लगाएको हो।

घटना छानबिनका लागि समिति गठन गरिएको छ । अनुसन्धान नसकिएसम्मका लागि शिशुको उपचारमा संलग्न डा. आकाश यादवसहित अहेब लक्ष्मण माझी र टीका भण्डारीलाई काममा रोक लगाइएको अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले जानकारी दिए।

अस्पतालका बालरोग विशेषज्ञ डा. प्रवीण झाको नेतृत्वको तीन सदस्यीय छानबिन समिति गठन भएको हो। समिति सदस्यमा बालरोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र प्रशासनका कर्मचारी रामप्रसाद नेपाल छन्। समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने नेपालले बताए।

बुधबार बिहान आकस्मिक कक्षमा भर्ना भएकी १९ दिने शिशुलाई मृत भएको भनेर घर फर्काइएको थियो। विराटनगर १० मा रहेको माइती घरबाट उमादेवी मुखियाले छोरीलाई एम्बुलेन्समा राखेर कोसी ल्याएकी थिइन्। कोसी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेको केही समयपछि डा. आकाश यादवले मृत घोषित गरेर गम्भीर लापरबाही गरेको पीडित पक्षको दाबी छ।

मोरङको जहदा गाउँपालिका–३ घर भए पनि उनी बच्चा जन्मिएपछि १० अघि माइतीघर विराटनगर आएकी थिइन्। उनका पति दिलिम मुखिया एम्बुलेन्स चलाउँछन्। १९ दिनको छोरीको मृत्युको खबरले उमासहित आफन्तको रुवाबासी चल्यो।

अस्पतालले मृत घोषित गरेपछि दाहसंस्कारका लागि घर लगे पनि शिशुले सास फेरिन्। श्वासप्रश्वासमा समस्या देखिएपछि मुखिया दम्पतीले कोसी अस्पतालको आकस्मिक कक्षमा लगेका थिए। मृत भनिएर घर फर्काएकी बालिकाको सास चलेपछि मुखिया दम्पतीका आफन्तले गोल्डेन अस्पताल भर्ना गरेका छन्। शिशुको एनआईसीयूमा उपचार भइरहेको छ।

प्रकाशित: ५ माघ २०७९ १४:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − one =