जीवित शिशुलाई मृत घोषणा गरेपछि कोसी अस्पतालमा तनाव

चिकित्सकमाथि हातपात गर्ने तीन जना पक्राउ

हिमाल प्रेस ४ माघ २०७९ १९:५७
14
SHARES
जीवित शिशुलाई मृत घोषणा गरेपछि कोसी अस्पतालमा तनाव

इटहरी– विराटनगरस्थित कोसी अस्पतालले जीवित शिशुलाई मृत घोषित गरेपछि तनाव उत्पन्न भएको छ। बुधबार (आज) नवजात शिशुलाई मृत घोषित गरेपछि तनाव उत्पन्न भएको हो। आकस्मिक कक्षमा भर्ना भएकी १९ दिने शिशुलाई मृत घोषित गरेपछि पीडित परिवार आक्रोशित बनेका छन्।

बुधबार बिहान विराटनगर १० मा रहेको माइती घरबाट उमादेवी मुखियाले छोरीलाई एम्बुलेन्समा राखेर कोसी ल्याएकी थिइन्। कोसी अस्पतालको इमरजेन्सी वार्डमा भर्ना गरेको केही समय पछि डा. आकाश यादवले मृत घोषित गरेर गम्भीर लापरबाही गरेको पीडित पक्षको दाबी छ।

मोरङको जहदा गाउँपालिकाको वडा नम्बर ३ घर भएपनि उनी बच्चा जन्मिएपछि १० अघि माइतीघर विराटनगर आएकी थिइन्। उनका श्रीमान दिलिम मुखिया एम्बुलेन्स चलाउँछन्। १९ दिनको छोरीको मृत्युको खबरले उमासहित आफन्तको रुवाबासी चल्यो।

अस्पतालले मृत घोषित गरेपछि दाहसंस्कारका लागि घर लगेपनि शिशुले श्वास फेरिन्। श्वासप्रश्वासमा समस्या देखिएपछि मुखिया दम्पत्तिले बुधबार बिहान ८ बजे कोशी अस्पतालको आकस्मिक कक्षमा लगेका थिए।

अहिले आफन्तले गोल्डेन अस्पताल भर्ना गरेका छन्। शिशुको एनआइसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ। कोसी अस्पतालले आफ्नो जिउँदो छोरीलाई मृत घोषित गरेको उमादेवीले गुनासो गरिन्।

मृत घोषित गरेको शिशुले श्वास फेरेपछि शिशुका आफन्तले उपचारमा संलग्न चिकित्सकमाथि हातपात गरेका छन्। जिउँदै बच्चालाई मृत घोषित गरेको भन्दै आक्रोशित आफन्त र स्थानीयले उपचारमा संलग्न डाक्टर यादवलाई हातपात गरेका हुन्।

हातपातबाट डाक्टर यादवको टाउकोमा चोटपटक लागेको छ। चिकित्सकमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: ४ माघ २०७९ १९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =