सभामुखका दुई प्रत्यासीको यस्तो छ राजनीतिक विगत

हिमाल प्रेस ४ माघ २०७९ १७:०५
236
SHARES
सभामुखका दुई प्रत्यासीको यस्तो छ राजनीतिक विगत

काठमाडौँ- प्रतिनिधिसभाको सभामुखका लागि नेकपा एमाले र नेपाली कांग्रेसबीच भिडन्त हुने भएको छ। एमालेबाट देवराज घिमिरे र कांग्रेसबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दिएका छन्।  घिमिरेलाई एमाले, नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनको समर्थन छ भने न्यौपानेलाई कांग्रेस, नेकपा एकीकृत समाजवादीसहित विपक्षी गठबन्धनको समर्थन छ।

घिमिरेलाई सत्ता गठबन्धनको चार पार्टीको समर्थन छ। जसअनुसार नेकपा एमालेको ७८, माओवादी केन्द्रको ३२, स्वतन्त्र पार्टीको २०, राप्रपाको १४ मत छ। घिमिरेले जित्नका लागि १३७ मत आवश्यक पर्छ। चार दलको मत जोड्दा १४४ मत हुन्छ। न्यौपानेलाई कांग्रेससहित, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदको समर्थन छ।

संघीय प्रतिनिधिसभामा कांग्रेसको ८९, नेकपा एकीकृत समाजवादीको १०, जनता समाजवादीको १२ र लोकतान्त्रिक समाजवादीको चार सिट छ। यी सबैको जोड्दा विपक्षी गठबन्धनको ११५ सिट हुन्छ।  २०१३ जेठ १३ मा ताप्लेजुङको सिकैंचामा जन्मिएका घिमिरे स्नातक सम्म अध्ययन गरेका छन्। २०२७ देखि २०३० सालसम्म चलेको झापा विद्रोहपछि अपिल प्रसारणको लाइनबाट घिमिरे नेपाल कम्युनिष्ट पार्टीको सम्पर्कमा आएका हुन्।

त्यसपछि २०३२ मा कोअर्डिनेसन केन्द्रको विद्यार्थी संगठनमा आबद्ध भए। २०४७ सालमा एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा चुनिएका थिए। उनको संसदीय यात्रा भने २०५६ सालमा सुरु भएको हो।

२०५६ सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि उनी लामो समय संसदीय राजनीतिमा देखिएनन्। हाल नेकपा एमाले स्थायी कमिटी सदस्य रहेका घिमिरे प्रदेश १ को इन्चार्जसमेत हुन्।  १२ वर्ष भूमिगत राजनीति गरेको उनी पटकपटक हिरासतमा बसेका छन्। ४ मंसिरमा भएको निर्वाचनमा घिमिरे झापा-२ बाट एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

सभामुखमा उम्मेदवारी दर्ता गर्दै उनले विगतका आरोपबाट आफूले शिक्षा लिएर अघि बढ्ने विश्वास व्यक्त गरेका छन्। ‘पहिलेका सभामुखबाट शिक्षा लिएर अघि बढ्छु। तटस्थ भूमिकामा निर्वाह गर्छु। किनकि मलाई दलले निर्वाचित गराउने होइन,प्रतिनिधिसभाले हो,’ उनले भने, ‘त्यही कारण म तटस्थ रहन्छु।’

कैलालीकी ईश्वरी न्यौपाने समानुपातिक सांसद हुन्।  न्यौपाने नेपाली कांग्रेसको १२औँ महाधिवेशनदेखि केन्द्रीय सदस्यका रुपमा रहँदै आएकी छन्। न्यौपानेसँग लामो समय नेपाल महिला संघमा काम गरेको अनुभव छ भने उनले कांग्रेसमा महिला विभाग प्रमुखसमेत भइसकेकी छन्।

उनी २०६४ र २०७० सालको संविधानसभा सदस्य थिइन्। तत्कालीन व्यवस्थापिका-संसद्मा न्यौपाने सचेतक थिइन्। न्यौपानेले विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेकी हुन्।

२०७४ को प्रतिनिधिसभा चुनावमा कैलाली-१ बाट पराजित भएकी न्यौपाने सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। न्यौपानेले पनि सभामुखमा आफू विजयी बन्ने दाबी गरेकी छन्। सभामुख पदका लागि उम्मेवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सभामुखमा आफू निर्वाचित हुनेमा विश्वस्त रहेको बताएकी हुन्। उनले भनिन्, ‘निर्वाचन अघिसम्म आफू नेपाली कांग्रेसको नेता भएपनि सभामुख बनेपछि सबैको सभामुखकोरुपमा काम गर्ने बताइन्।’

उनले पनि सभामुख भएर सभा सञ्चालन गर्दा तटस्थ रुपमा रहेर सांसद र संसद्प्रति न्याय गर्ने बताएकी छन्। उनले भनिन्, ‘संसद्लाई सभामुखको आवश्यकता पर्दछ। त्यो सभामुख निर्वाचनमार्फत हुन्छ। त्यही प्रक्रिया अनुसार मैले उम्मेदवारी दिएकी हुँ। म यो निर्वाचनमा पक्कै जित्छु। मेरो जित्ने आधारहरु सांसदको मत हो।’

प्रकाशित: ४ माघ २०७९ १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =