निर्वाचनका बेला गरिएका बाचा पुरा गर्न खटिएको छु : विनोद चौधरी

हिमाल प्रेस ३० पुष २०७९ १५:३९
8
SHARES
निर्वाचनका बेला गरिएका बाचा पुरा गर्न खटिएको छु : विनोद चौधरी

नवलपरासी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य विनोद चौधरीले चुनावका बेला जनताकाबीच गरिएका बाचाहरू कार्यान्वयन गर्ने काम सुरु भइसकेको बताएका छन्।

नवलपरासी-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीले चुनाव सप्पन्न भएको एक महिनामै प्रतिबद्धता पुरा गर्न आफू खटिएको बताएका हुन्।

शनिबार बर्दघाटमा क्षेत्रीय कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘विभिन्न प्रतिकुलताकाबीच हामीले चुनाव जित्यौँ। चुनावका बेलामा नेता/कार्यकर्ता र जनतासँग यो क्षेत्रको विकास नै मेरो लक्ष्य हो भनेको थिएँ। यो एक महिनामै प्रतिबद्धता कार्यान्वयन गर्ने कामको थालनी भइसकेको छ।’

निर्वाचन क्षेत्रको विकासको लागि स्पष्ट दृष्टिकोणसहित कार्ययोजना निर्माणको कार्य अन्तिमचरणमा रहेको उनको दाबी छ। ‘विकास भनेको सोच हो। काम गर्न सरकारमै हुनुपर्छ भन्ने छैन। हामी अहिले स्थानीय तहका जनप्रतिनिधि, नीजी क्षेत्र र विज्ञहरूसँग छलफल गरेर विकासको खाका बनाउदैछौँ,’ चौधरीले भने, ‘हामी कुनै आग्रह/पूर्वाग्रह नराखी यो क्षेत्रको विकासका लागि क्रियाशील हुनेछौँ।’

कार्यक्रममा नवलपरासी-२ को क्षेत्रीय कार्यसमितिका साथै प्रदेश क्षेत्रीय कार्यसमितिका पदाधिकारी र सदस्य सहभागी थिए।

प्रकाशित: ३० पुष २०७९ १५:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − ten =