अल नासरको रंगशालामा सार्वजनिक हुँदै रोनाल्डो, २५ हजार समर्थकले स्वागत गर्ने

हिमाल प्रेस १८ पुष २०७९ २०:५४
12
SHARES
अल नासरको रंगशालामा सार्वजनिक हुँदै रोनाल्डो, २५ हजार समर्थकले स्वागत गर्ने

काठमाडौँ- क्रिस्टियानो रोनाल्डो यही मंगलबार अल नासरका समर्थकअघि औपचारिक रुपमा सार्वजनिक हुने भएका छन्। अल नासरका प्रवक्ता अल वालिद अल मुहाइदिबीका अनुसार रोनाल्डो सार्वजनिक हुने कार्यक्रममा हजारौँ समर्थक उपस्थित हुनेछन्।

गत डिसेम्बर ३० मा रोनाल्डोको साउदी क्लब अल नासरतर्फको स्थान्तरण पूरा भएको थियो। अल नासरले रोनाल्डोलाई साढे दुई वर्षका लागि अनुबन्ध गरेको हो। रोनाल्डोलाई अनुबन्ध गर्न र सन् २०२५ सम्म क्लबमा राख्न अल नासरले २० करोड युरो खर्च गर्ने बताइएको छ।

३७ वर्षीय रोनाल्डो ‘फ्रिएजेन्ट’ का रुपमा साउदी प्रो लिग खेल्ने क्लबसँग आबद्ध भएका हुन्। पाँच पटक बालोन डोर जितेका रोनाल्डो आफ्नो परिवारसँगै सोमबार साउदी ओर्लिने बताइएको छ। उनी मर्सुल पार्क रंगशालामा उपस्थित हुनेछन्। यो अल नासरको घरेलु मैदान हो। जहाँ करिब २५ हजार समर्थकले खेल हेर्न सक्छन्।

रोनाल्डोलाई हेर्न मर्सुल पार्कमा कति समर्थक जम्मा हुन्छन् भनेर अल नासरले केही बताएको छैन। यद्यपि नाम नबताउने शर्तमा त्यस क्लबका एक अधिकारीले फ्रेन्च समाचार एजेन्सी एएफपीलाई रंगशाला भरिने सम्भावना रहेको बताएका छन्।

करियरको उत्तरार्द्धमा रहेका रोनाल्डोका लागि अल नासर अन्तिम क्लब हुनसक्ने अनुमान गरिएको छ। साउदीको छिमेकी कतारमा भएको विश्वकपमा पोर्चुगल क्वार्टरफाइनलबाट बाहिरिएपछि रोनाल्डोको सम्भावित स्थान्तरणबारे फेरि चर्चा सुरु भएको थियो। विश्वकपअघि नै युनाइटेड छाड्ने पक्का भएकाले रोनाल्डो कता जान्छन् भन्ने कौतहुल थियो।

साउदी लिगमा हाल अल नासर पहिलो स्थानमा छ। अल नासरले ११ खेलबाट २६ अंक बटुलेको छ भने दोस्रो स्थानको अल शहबाबको १० खेलबाट २५ अंक छ। तेस्रो र चौथो स्थानमा क्रमशः अल इत्तिहाद र अल ताउन छन्। गत सिजनको विजेता अल हिलाल भने पाँचौँ स्थानमा छ। रोनाल्डोले आउँदो बिहीबार साउदी लिगमा डेब्यु गर्नसक्छन्। त्यसदिन अल नासरले घरेलु मैदानमा अल ताईको सामना गर्दैछ।

खेलकुदमा व्यापक लगानी गरिरहेको साउदीका लागि रोनाल्डो दूतको भूमिकामा पनि देखा पर्ने बताइएको छ। पछिलो समय साउदीले फर्मुला वानसँगै बक्सिङ र गल्फका विभिन्न प्रतियोगिता रियादसहित मुख्य सहरहरूमा आयोजना गर्दै आएको छ। साउदी नेतृत्वको समूहले इंग्लिस प्रिमियर लिगको न्युकासल युनाइटेडको स्वामित्व पनि ग्रहण गरेको छ।

अन्तर्राष्ट्रिय खेलकुद र खेलकुदका ब्रान्डमा लगानी गरिरहेको साउदीको आलोचना पनि हुने गरेको छ। मानवअधिकारका मामलामा साउदी असाध्यै पछाडि रहेको र यो विषयबाट विश्वको ध्यान हटाउन उसले खेलकुदमा लगानी गर्नुका साथै विभिन्न प्रतियोगिता आयोजना गरिरहेको आलोचकहरूको जिकिर छ।

रोनाल्डो साउदीको लिग खेल्ने सबैभन्दा ठूला स्टार हुनेछन्। जाभी, पेप ग्वार्डिओला, जर्ज वेहले कतारी लिग खेले पनि साउदीको लिगले अहिलेसम्म विश्वभर प्रख्यात रहेका स्टार भित्र्याउन सकेको थिएन।

नौ पटक साउदी लिग जितेको अल नासरले रोनाल्डोको आगमनलाई ऐतिहासिक भनेको छ। रोनाल्डो अल नासर मात्र होइन पूरा साउदीका लागि महत्त्वपूर्ण आगमन रहेको बताएको छ।

रोनाल्डो अल नासरमा आबद्ध हुनुअघि नै साउदीका खेलकुदमन्त्री राजकुमार अब्दुल्लाजिज तुर्की अल फैसलले साउदीका क्लबहरूलाई अन्तर्राष्ट्रिय स्टार अनुबन्ध गर्न सरकारले सहयोग गर्ने बताएका थिए।

युनाइटेड छाड्नुअघि एक टेलिभिजनलाई आक्रामक अन्तरवार्ता दिएका रोनाल्डोले ओल्ड ट्राफोर्डमा आफूमाथि धोका भइरहेको जिकिर गरेका थिए। उनको अभिव्यक्ति क्लब व्यवस्थापनसँगै प्रशिक्षक एरिक टेन हागतिर लक्षित थियो। टेन हागले रोनाल्डोलाई पहिलो रोजाइको फरवार्डबाट बेन्च खेलाडीमा सीमित गरिदिएका थिए।

रोनाल्डो लामो समयदेखि विश्व फुटबलमा महंगा खेलाडीका रुपमा परिचित छन्। उनले युभेन्टसमा वर्षको तीन करोड १० लाख युरो पाउँथे। युनाइटेड जान उनले तलब कटौती स्वीकार गरेको बताइन्छ।

रोनाल्डोले युनाइटेड र रियलमा गरेर पाँच पटक च्याम्पियन्स लिग जितेका छन्। त्यसैगरी युभेन्टसबाट दुई पटक सिरी ए, रियलबाट दुई पटक ला लिगा र युनाइटेडबाट तीन पटक प्रिमियर लिग विजेता पनि बनेका छन्। उनी च्याम्पियन्स लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। यस्तै कीर्तिमान उनले पोर्चुगलको राष्ट्रिय टिमबाट पनि राखेका छन्। युरो २०१६ विजेता रोनाल्डो लगातार पाँच विश्वकपमा गोद गर्ने एक्लो खेलाडी हुन्।

प्रकाशित: १८ पुष २०७९ २०:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =