चार डलरको सम्झौता गरेर कामदारसँग २५ हजार असुल्दै साउदी दूतावास

रमेश भारती ३ माघ २०८० १३:०७
126
SHARES
चार डलरको सम्झौता गरेर कामदारसँग २५ हजार असुल्दै साउदी दूतावास राजधानीको थापाथलीमा शुक्रबार भिसा सेवा केन्द्र ‘तसिर’ उद्घाटन गरेपछि सामूहिक तस्बिर खिचाउँदै नेपालका लागि साउदी अरेबियाका राजदूत साद बिन नासेर अबु हैमदलगायत।

काठमाडौँ- नेपालस्थित साउदी दूतावासले गत साता काठमाडौँमा भिसा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। राजधानीको थापाथलीमा स्थापना गरिएको केन्द्रले जनवरी १ देखि वैदेशिक रोजगारीका लागि साउदी जाने कामदारको बायोमेट्रिक लिन थालेको हो।

दूतावासले साउदी वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई सहज होस् भनेर केन्द्र सञ्चालन ल्याए पनि सम्झौतामा तोकिएभन्दा बढी रकम असुल गर्न थालेको गुनासो म्यानपावर व्यवसायीहरूले गरेका हुन्।  साउदी भिसा सेन्टरले नेपाली कामदारको बायोमेट्रिक फिंगरप्रिन्ट कार्य साढे चार अमेरिकी डलरमा सम्झौता गरेको थियो। केन्द्रले काम सुरु गरेपछि बायोमेट्रिकका नाममा २५ हजार रुपैयाँ लिन थालेकाे एकजना वैदेशिक रोजगार व्यवसायीले हिमाल प्रेसलाई जानकारी दिए।

ती व्यवसायीका अनुसार केन्द्रले साढे चार अमेरिकी डलरमा बायोमेट्रिकको काम गर्ने सहमति भएको थियो। केन्द्रले त्यो रकम बढाएर २५ हजारसम्म असुल्न थालेको गुनासो व्यवसायीहरूले गरेका छन्। बायोमेट्रिक मात्र गर्ने सहमति भए पनि केन्द्र सञ्चालनमा आएपछि दूतावासले विभिन्न शीर्षकमा कामदारसँग पैसा उठाउन चलखेल थालेको म्यानपावर व्यवसायीको आरोप छ।

पुस २५ गते श्रम मन्त्रालयमा भएको छलफलमा साउदी दूतावासका अधिकारीहरूले बायोमेट्रिक  गरेपछि विमानस्थलमा पूरा गर्नुपर्ने झन्झटिलो अवस्था अन्त्य हुने बताएका थिए। यस्तै साउदीमा कालोसूचीमा परेका कामदार फेरि जाँदा विमानस्थलबाटै फर्किनुपर्ने अवस्था अन्त्य हुने भएकाले बायोमेट्रिक आवश्यक रहेको भनाइ उनीहरूको थियो।

म्यानपावर व्यवसायी, परराष्ट्र र श्रम मन्त्रालयका अधिकारीहरूसँग भएको छलफलमा दूतावासका अधिकारीहरूले बायोमेट्रिक गराएर पठाउँदा समस्या नआउने र दूतावास जुनसुकै समस्याको समाधानका लागि तत्पर रहेको आश्वत पारेका थिए। अहिले आएर सहमतिविपरीत काम थालेको म्यानपावर व्यवसायीको आरोप छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कामदारको बायोमेट्रिक लिने नाममा आर्थिक भार थोपर्ने र भविष्यमा सिन्डिकेटका रूपमा विकास गर्ने भन्दै साउदी भिसा सेन्टरबाट हुने बायोमेट्रिक कार्यको विरोध गरेको छ।

संघले काठमाडौँस्थित साउदी दूतावासले बिना तयारी बायोमेट्रिक लगाउने षड्यन्त्र गरेको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको छ। संघका महासचिव मेघनाथ भुर्तेलले नेपालस्थित साउदी दूतावासले केन्द्र सञ्चालनमा ल्याएपछि सानातिना समस्यामा परिचयपत्र रोक्ने, तर कामदारको बायोमेट्रिक गर्न म्यानपावर कम्पनीको साउदी आईडी अनिवार्य गर्दा थप समस्या परेको बताए।

उनका अनुसार पुस २५ गते श्रम मन्त्रालयमा भएको छलफलमा साउदी भिसा सेवा केन्द्रले कामदारको प्रहरी रिपोर्ट र भिसा शुल्क तिरेर क्युआार कोड तयार भएपछि मात्रै बायोमेट्रिक गर्ने प्रतिबद्धता जनाएको थियो।  छलफलमा दूतावासले जुनसुकै समस्याको समाधानका लागि तत्पर रहेको भन्दै आश्वस्त हुन आग्रह गरेको थियो। अहिले आएर विगतमा मलेसिया र कतारको शैलीमा काम थालेको छ। संघको आपत्ति यसैमा हो।’ कामदारमाथि आर्थिक भार थप्ने काम भए साउदी कामदार पठाउन तत्काल रोक्ने समेत उनले चेतवनी दिए।

महासचिव भुर्तेलले अहिले नेपाली कामदार महाराजगन्जस्थित साउदी दूतावास र थापाथलीस्थित भिसा सेन्टरमा  लाम लाग्नुपर्ने अवस्था उत्पन्न भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले साउदी केन्द्रका बारेमा म्यानपावर व्यवसायीको गुनासा आउन थालेपछि सम्बन्धित पक्षसँग बुझ्ने काम भइरहेको जानकारी दिए।

साउदी कामदार पठाउँदै आएका म्यानपारले बायोमेट्रिक भनेर केन्द्रले अन्य काम पनि गर्नुपर्ने बाध्यता बनाउन लागेको गुनासो गरेका छन्। सोही आधारमा नेपालस्थित साउदी दूतावाससँग छलफल पनि गर्ने पोखरेलले बताए।

यसअघि कतारले पनि सामान्य कामका लागि भनेर नेपालमा भिसा सेन्टर खोलेको थियो। म्यानपावर व्यवसायी बिस्तारै कतार जाने कामदारको सबै प्रक्रिया सेन्टरबाट गर्न बाध्य भएका थिए। यसबाट प्रतिकामदार ४० हजार रुपैयाँ थप आर्थिक भार परेको छ।

साउदीमा मासिक १७ हजारभन्दा बढी नेपाली कामदार वैदशिक रोजगारीमा जाने गरेका छन्। साउदीबाट घरबिदामा आएका कामदारले साउदी फकिँदासमेत केन्द्रमार्फत बायोमेट्रिकलगायतका अन्य परीक्षण गर्नुपर्ने व्यवसायीहरू बताउँछन्।

साउदी जाने कामदारको स्वास्थ्य परीक्षण खाडी देशको गाम्का (स्वास्थ्य परीक्षण गर्ने संस्था) सँग आबद्ध भएर नेपालकै स्वास्थ्य संस्थाले गर्दै आएका छन्। यस्ता सेवा केन्द्र खोलेपछि साउदी आफैँले कामदारको स्वास्थ्य परीक्षण, भिसा प्रक्रियालगायतका काम गर्नेछ। यसो गर्दा कामदारमाथि आर्थिक भार थपिने र वैदेशिक रोजगार स्वास्थ्य व्यवसाय धराशयी हुने व्यवसायीहरूको चिन्ता छ।

प्रकाशित: ३ माघ २०८० १३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 18 =