खुलामञ्‍चमा पार्किङस्थल निर्माण नगर्न अभियन्ताले बुझाए ज्ञापन पत्र

हिमाल प्रेस १८ पुष २०७९ १५:३४
60
SHARES
खुलामञ्‍चमा पार्किङस्थल निर्माण नगर्न अभियन्ताले बुझाए ज्ञापन पत्र

काठमाडौँ– खुलामञ्चमा भूमिगत पार्किङ बनाउने निर्णय रोक्न माग गर्दै अभियन्ताहरूले सोमबार काठमाडौँ महानगरपालिकामा ज्ञापन पत्र बुझाएका छन्। खुलामञ्चलाई खुला नै राख्नुपर्ने भन्दै दबाबमूलक अभियान चलाइरहेका अभियान्ताहरूले भूमिगत पार्किङ बनाउने महानगरपालिकाको निर्णय रोक्न माग गर्दै ज्ञापन पत्र बुझाएका हुन्।

खुलामञ्चमा कुनै पनि कृत्रीम पूर्वाधार निर्माण गर्न नहुने अडानसहित अभियन्ताहरूले निरन्तर प्रदर्शन गरे पनि महानगरका जनप्रतिनिधिहरूले आधिकारिक धारणा नदिएकोप्रति उनीहरूले असन्तुष्टि जनाएका छन्।

महानगरले खुलामञ्चमा भूमिगत पार्किङ बनाउनका लागि विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार गरेर निर्माण कार्य अगाडि बढाउन लागेकाले आफूहरू महानगरपालिकामा नै गएर ज्ञापनपत्र बुझाउन बाध्य भएको सम्पदा बचाउ अभियन्ता आलोकसिद्धि तुलाधरले जानकारी दिए।

ज्ञापन पत्र बुझाउने क्रममा अभियन्ता एवम् कांग्रेस नेता भीमसेनदास प्रधानले ऐतिहासिक टुँडिखेल र त्यसभित्र रहेको खुलामञ्चलाई संरक्षण गर्नु सबैको दायित्व भएको बताए। खुलामञ्चमा भूमिगत पार्किङ बनाउँदा नजिकै रहेको सुन्धारालाई समेत असर पर्ने अभियन्ताहरूको भनाइ छ।

अभियन्ताहरूको ज्ञापन पत्र बुझ्दै महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सार्वजनिक जग्गालाई सबैले संरक्षण गर्नुपर्ने भन्दै जनताको माग र चाहनाविपरीत कुनै पनि निर्माणकार्य अघि नबढाइने आश्वासन दिइन्। सन् १९६७ मा ५२ प्रतिशत सार्वजनिक खुला क्षेत्र भएको टुँडिखेलको भूभाग हालसम्म आइपुग्दा १४ प्रतिशतमा खुम्चन पुगेको र अतिक्रमण हुने क्रम बढ्दो रहेको अभियान्ताहरूले गुनासो गरेका छन्।

काठमाडौँ महानगरले ध्यान दिन नसक्दा अहिले खुलामञ्चमा रहेको सभा भवनलाई फुटपाथका पसलेहरूले कपडा र सामग्री थन्क्याउनका लागि गोदामका रूपमा प्रयोग गरिरहेका छन् भने स्थानीय सडक प्रयोगकर्ताहरूबाट जथाभाबी दिशा पिसाब गर्ने कार्य भइरहेको छ।

प्रकाशित: १८ पुष २०७९ १५:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − thirteen =