थपिँदै विकास, रित्तिँदै बस्ती

‘विकासले मात्रै बसाइँ सर्नेको लर्को नरोकिने रहेछ’

हिमाल प्रेस १८ पुष २०७९ १५:२५
296
SHARES
‘विकासले मात्रै बसाइँ सर्नेको लर्को नरोकिने रहेछ’

गलकोट– बागलुङ नगरपालिका–८ सिगानामा ट्रयाक खुलेको १५ वर्षपछि सडक कालोपत्र भइरहेको छ। अहिले टोलटोलमै यातायातका साधन पुगेका छन्। केही वर्षअघिसम्म पाँच घण्टा लाग्ने जिल्ला सदरमुकाम बागलुङ बजार एक घण्टामै पुग्न सकिने भएको छ। बागलुङमा दुई राष्ट्रिय गौरवको आयोजनासमेत निर्माणाधिन छन्। मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर यही जिल्लालाई केन्द्र बनाएर अगाडि बढेका छन्।

सिगानाकै विकट मानिने माथिल्लो क्षेत्र बौडैचौरमा शहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ। ‘एक घर, एक धारा’ निर्माणले जिल्लाभरी नै तीव्रता पाएको छ। सिगानाको उपल्लो भाग बौडैचौरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नेगरी बजेट व्यवस्थापन भएको छ। यसरी विकास निर्माणले तीव्रता पाए पनि बसाइँसराइका कारण बस्ती भने क्रमशः खाली हुँदै गइरहेका छन्।

बागलुङ नगरपालिका–८ सिगानाको उपल्लो लामाचौरमा ३० घरमध्ये १२ घर रित्तै छन्। बाँकी भएका घरमा पनि चाडपर्वमा मात्रै चहलपहल बढ्छ। सडकको पहुँच पुगे पनि उच्च शिक्षा, रोजगारी र गुणस्तरिय स्वास्थ्य सेवाका लागि पछिल्लो समय बसाइँ गर्ने कार्यले तीव्रता पाएको छ।
सिगानामा सबैभन्दा कम बसाइँसराइ लामीचौरको दलित बस्ती र बढी बसाइँसराइ उपल्लो लामीचौरमा रहेको स्थानीय शिक्षक कर्णबहादुर कार्कीले जानकारी दिए।

उनले भने, ‘सडक र माध्यामिक विद्यालय दैलोमै छ, खानेपानीका लागि काम थालिएको छ, वडा कार्यालयसम्म कालोपत्र सडक आउने भएको छ। सबै सुविधा हुँदा पनि बस्ती रित्तिने क्रम रोकिएको छैन।’ विकास थपिँदै जाँदा बस्ती बिस्तार हुनुपर्नेमा खाली भइरहेको छ। शिक्षक कार्की भन्छन्, ‘विकासले मात्रै बसाइँ सर्नेको लर्को नरोकिने रहेछ। विकाससँगै रोजगारी पनि भए बसाइँसराइ रोकिन्थ्यो होला।’ अब स्थानीय सरकारले गाउँमै उद्यमी बनाउने र गाउँ फर्काउन सकिने योजना ल्याउन आवश्यक रहेको कार्कीले बताए।

गलकोट नगरपालिका–७ टोकरीगाउँ पनि बसाइँसराइले एक्लिँदै गइरहेको छ। पाँच वर्ष अगाडिसम्म ४० घरपरिवार बस्ने टोकरीगाउँमा बसाइँसराइका कारण अहिले १५ परिवार मात्रै छन्। ७ नं वडाध्यक्ष राजबहादुर थापाले अधिकांश परिवार गलकोट नगरपालिकाको केन्द्र हटिया, बागलुङ बजार, पोखरालगायतका क्षेत्रमा बसाइँसराइ गरिरहेको बताए।

बसाइँसराइले गाउँ उराठिँदा बाँदरको बिगबिगी बढेको छ। वडाध्यक्ष थापाका अनुसार गाउँका घर खाली हुँदै र जमिन बाँझो हुँदै गएपछि खेतीपातीमा बाँदरको प्रकोप बढेको छ। रासस

प्रकाशित: १८ पुष २०७९ १५:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =