राष्ट्रपति र एकवर्षे प्रधानमन्त्रीमा नेकपा (एस)को दाबी

किरण पौडेल ५ पुष २०७९ १८:५१
210
SHARES
राष्ट्रपति र एकवर्षे प्रधानमन्त्रीमा नेकपा (एस)को दाबी

काठमाडौँ– प्रतिनिधिसभामा १० सिट रहेको नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपति र एक वर्षका लागि प्रधानमन्त्रीमा दाबी गरेको छ। एकीकृत समाजवादीका नेताहरूले गठबन्धनका नेताहरूसँग यस्तो दाबी गरेका हुन्।

‘शक्ति सन्तुलनका लागि पनि हामीले एउटा पद पाउनुपर्छ। राष्ट्रपतिमा झलनाथ कमरेड उपयुक्त पात्र हो,’ पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘प्रधानमन्त्रीमा हामीले निर्णय गर्ने कुरा भएन। त्यसैले राष्ट्रपतिमा हाम्रो दाबी रहन्छ।’

नेकपा एकीकृत समाजवादीको सोमबार बसेको बैठकले राष्ट्रपतिमा सम्मानित नेता झलनाथ खनाललाई अघि सार्ने निर्णय गरेको थियो। पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाल प्रतिनिधिसभा सदस्यमा इलाम-१ बाट पराजित भएका हुन्।

पार्टीले अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेतामा चयन गरेको छ। राजेन्द्रप्रसाद पाण्डेको प्रस्ताव र शेरबहादुर कुँवरको समर्थनमा नेपाललाई दलको नेतामा सर्वसम्मत चयन गरिएको हो।

बैठकले सरकारको नेतृत्व गठबन्धनबाटै गर्नुपर्ने अडान दोहोर्‍याएको छ। गठबन्धन तोडेर निर्णय नगर्ने र साथै गठबन्धनभित्रै बहुमत खोज्नुपर्ने समाजवादीको ‘बटमलाइन’ छ।

गठबन्धनभित्र प्रधानमन्त्रीमा शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुख्य दाबेदार छन्। उनीहरूमध्ये को प्रधानमन्त्री बन्ने विवाद छ। यही बेला समाजवादी प्रचण्डप्रति लचक देखिएको छ। प्रचण्ड ‘जसरी पनि प्रधानमन्त्री’ बन्नुपर्ने अडानमा छन्। कांग्रेस भने तत्काल उनलाई प्रधानमन्त्री बनाउने पक्षमा छैन।

‘गठबन्धन टुटाउनु हुँदैन भन्ने हाम्रो अडान हो। यसले प्रधानमन्त्रीमा प्रचण्डजी हुँदा उपयुक्त हुन्छ भन्ने हो,’ समाजवादीका एक नेताले भने।  समाजवादीको बुझाइमा प्रचण्ड प्रधानमन्त्री बन्न एमालेसँग सहकार्यमा जाने सम्भावना छ। पछिल्लो समय प्रचण्डलाई एमालेबाट प्रधानमन्त्रीको प्रस्ताव आइरहेको कतिपयको बुझाइ छ।

सोही कारण प्रचण्डलाई प्रस्ताव गर्दा गठबन्धन नटुट्ने विश्वास समाजवादीको छ। समाजवादीले दुईदुई वर्ष प्रचण्ड-देउवा प्रधानमन्त्री हुनुपर्ने र एक वर्ष आफ्नो पार्टीले प्रधानमन्त्री पाउनुपर्ने अडान राखेको छ।

‘हामी हिजो पनि गठबन्धनसँगै थियौँ। आज पनि छौँ। केपी ओलीलाई हटाएर देउवालाई प्रधानमन्त्री बनाउन हामी निर्णायक थियौँ। त्यसैले अब हामीले पनि दाबी गर्न पाउनुपर्छ,’ प्रवक्ता खतिवडाले भने, ‘सहमतिका साथ अघि बढ्नुपर्छ। हाम्रो अडान प्रस्ट छ।’

एक वर्ष प्रधानमन्त्री भएमा पार्टीभित्र शक्ति सन्तुलित हुने समाजवादीको बुझाइ छ। पार्टी अध्यक्ष नेपाल पनि एकपल्ट प्रधानमन्त्री भएर सक्रिय राजनीतिबाट बाहिरिने पक्षमा छन्।

एमाले देखाउँदै, कांग्रेस तर्साउँदै

पछिल्लो समय देउवालाई साइजमा राख्न प्रचण्ड-नेपालले एमाले देखाइरहेका छन्। गठबन्धन टुटेमा फेरि प्रधानमन्त्रीमा दोहोरिने देउवालाई कठिन हुनेछ। यसैकारण देउवा प्रचण्डलाई दुई वर्ष र नेपाललाई एक वर्ष प्रधानमन्त्री दिनेतर्फ लम्किएको समाजवादीका नेताहरूको दाबी छ।

‘मुख्य विषय पहिले प्रधानमन्त्री को बन्ने भन्ने हो,’ समाजवादीका एक नेताले भने। पछिल्ला दिनमा एमालेका दोस्रोस्तरका नेताले समेत प्रचण्डलाई भेटिरहेका छन्। उनीहरूले प्रधानमन्त्री बनेर वाम एकता गर्नुपर्ने प्रस्ताव राखेका छन्।

एमाले उपाध्यक्ष सुवास नेम्बाङ र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ वाम एकताका लागि लचक हुनुपर्ने जोड दिँदै आएका छन्। यस विषयमा नेम्बाङले प्रचण्डसँग कुराकानी गर्दै आएका छन्।

समाजवादीमा शक्ति संघर्ष

थ्रेसहोल्ड नकटाएर समाजवादी राष्ट्रिय पार्टी नबनेसँगै आकांक्षा कम हुने बुझाइ थियो। तर त्यसो नभई समाजवादीको ‘बार्गेनिङ’ झनै बढेको छ। समाजवादीले सभामुखमा समेत दाबी गर्दै आएको छ।

पार्टी एकताका विषयमा मत बाझिएका कारण बढी पदमा बार्गेनिङ गर्नुपरेको समाजवादीकै नेताहरू बताउँछन्। पार्टीमा एमाले र माओवादीबीच कुन पार्टीसँग एकता गर्ने भन्नेबारे विवाद छ। पछिल्लो समय पार्टी अध्यक्ष नेपाल र सम्मानित नेता खनाल यस विषयमा मौन छन्।

नेपाल केही समयअघिसम्म माओवादीको पक्षमा र खनाल एमालेका पक्षमा थिए। माओवादीसँग एकता गर्दा पार्टी फुट्ने डरले नेपाल मौन छन्।

खनाल वाम एकताका नाममा एमालेपट्टि ढल्किए पनि पछिल्ला दिन एकाएक मौन छन्। एमालेले एकताको ढोका बन्द गरेको अभिव्यक्ति खनालको छ। ‘एमालेसँग एकता गरेर अहिलेको शक्ति पनि गुम्ने खतरा छ। अहिले पार्टी एकता गरिहाल्नुपर्छ भन्ने पनि छैन,’ समाजवादीका एक नेता भन्छन्।

त्यसो त समाजवादीभित्र उपगुट बढी झाँगिएको बताइन्छ। खनाल र नेपालपछिको वरीयतामा रहेका मुकुन्द न्यौपाने अहिले एमालेसँगको एकताका पक्षमा देखिएका छन्। उनी माओवादीसँग मिल्नै नहुने र जतिसक्दो एमालेसँग मिल्नुपर्ने अडान राख्छन्।

यति मात्र होइन, समाजवादीमा अब कसले सरकारको नेतृत्व गर्ने भन्नेमा पनि विवाद छ। उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव वेदुराम भुसाल दुवैले सरकारको नेतृत्व गर्न चाहेका छन्।

नेताहरू प्रेम आले र कृष्णकुमार श्रेष्ठ (किसान) पनि मन्त्रीको लाइनमा छन्। आले आफूसँग ६ जना सांसद रहेको दाबी गर्दै सरकारमा जानैपर्ने अडानमा छन्।

सकसमा नेपाल

एकातिर राष्ट्रिय पार्टी नबन्दाको पीडा समाजवादीमा छँदैछ। अर्कातिर शक्ति संघर्षका कारण अध्यक्ष नेपाल दबाबमा छन्। गठबन्धनको स्पष्ट धारणा नबन्नु, प्रचण्डको ‘अस्थिरपन’ र आन्तरिक दबाबले नेपाललाई दबाबमा पार्ने गरेको छ।

गठबन्धनको खिचातानीले नेपाललाई तनाव दिएको छ भने प्रचण्डको अस्थिरताका कारण झनै दबाब छ। प्रचण्ड प्रधानमन्त्रीका लागि एमालेसँग मिलेमा समाजवादीको अस्तित्व संकटमा पर्ने समाजवादीका नेताहरूको बुझाइ छ।

‘गठबन्धनभित्र बहुमत नपुग्दा एकातिर समस्या छ भने अर्कातिर चुनावअघि पहिले को प्रधानमन्त्री बन्ने टुंगो नलाग्दा झनै समस्या छ,’ समाजवादीका एक नेताले भने।

यता पार्टीभित्रको अन्तरसंघर्ष बढ्दो छ। कतिपयले तत्काल पार्टीको महाधिवेशन बोलाउनुपर्ने माग राखेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + nine =