नेपाल र वेस्टइन्डिजबीचको पहिलो टी-२० आज

हिमाल प्रेस १५ वैशाख २०८१ ६:५२
10
SHARES
नेपाल र वेस्टइन्डिजबीचको पहिलो टी-२० आज

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार वेस्टइन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० प्रतियोगिता खेल्दैछ।

खेल नेपाली समय अनुसार, दिउँसो १२ः१५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।

नेपालसँग मैत्रीपूर्ण टी-२० क्रिकेट शृंखला खेल्न वेस्टइन्डिजको ‘ए’ टोली बुधबार काठमाडौँ आइपुगेको हो। क्यारेबियन टोलीका खेलाडीले शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नियमित अभ्यास पनि गरेका थिए ।

नेपाल र वेस्टइन्डिजबिच पाँच खेल टी–२० खेलको शृङ्खला खेलिने कार्यक्रम रहेको छ। शृंखलाको दोस्रो खेल आइतबार खेलिने छ । तेस्रो खेल मे १ तारिखमा खेलिने छ । चौथो खेल मे २ तारिखमा र पाँचौँ खेल मे ४ तारिखमा खेलिने छ ।

शृंखलाका सबै खेल कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै खेलिने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । क्यानले वेस्ट इन्डिज ‘ए’ विरुद्धको शृङ्खलाका लागि बिहीबार १६ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

घोषित टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाष बोहरा, बिवेक यादब र आकाश चन्द रहेका छन् ।

आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो अभ्यास खेल खेल्न लागिएको हो । वेस्ट इन्डिजको कुनै पनि टोली नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो । नेपालसँगै वेस्ट इन्डिजसले पनि आगामी टी–२० विश्वकप खेल्दै छ ।

आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । आगामी आईसीसी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ ।

प्रकाशित: १५ वैशाख २०८१ ६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + six =