गठबन्धनमा भागबण्डा सकसपूर्ण, वाम सरकार बनाउने एमाले कसरत

हिमाल प्रेस ४ पुष २०७९ १५:३४
144
SHARES
गठबन्धनमा भागबण्डा सकसपूर्ण, वाम सरकार बनाउने एमाले कसरत

काठमाडौँ- दलहरू सरकार गठनका लागि १३८ सांसदको समर्थन जुटाउन व्यस्त छन्। राष्ट्रपतिबाट सरकार गठनका लागि आह्वान भएपछि नेपाली कांग्रेस र एमालले साना दलहरूसँग छुट्टाछुट्टै छलफल गरिरहेका छन्। कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयासमा छ भने एमालेले पनि सत्ताको नेतृत्वका लागि पहल गरिरहेको छ। यद्यपि एमाले नेताहरू पार्टी प्रतिपक्षमा रहने बताउँदै आएका छन्।

उता संसद्मा तेस्रो दलमा खुम्चिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैँ प्रधानमन्त्री बन्ने पक्षमा छन्। कांग्रेससहितको गठबन्धनबाट पहिलो साढे दुई वर्ष आफू प्रधानमन्त्री बन्नुपर्ने दाबी उनको छ।

आलोपालोको सहमतिअनुसार पहिलोपटक आफू प्रधानमन्त्री बन्नुपर्ने अडान प्रचण्डले राख्दै आएको कांग्रेस नेताहरूले बताएका छन्। तर कांग्रेस नेताहरू प्रचण्डलाई प्रधानमन्त्री बनाउने पक्षमा छैनन्। राष्ट्रपति पनि आफैँले पाउनुपर्ने प्रस्ताव कांग्रेसको छ।

कांग्रेसका एक नेता भन्छन्, ‘चुनावमा तेस्रो भएको माओवादी प्रधानमन्त्रीसहितमा दाबी गरिरहेको छ। त्यसैले गठबन्धनभित्र भागबण्डा सकसपूर्ण बनिरहेको छ।’ कांग्रेस भने माओवादीलाई सभामुख र उपराष्ट्रपति पद मात्रै दिन तयार छ। यसमा प्रचण्ड सहमत नभएमा एमालेसँग सहकार्यको हात बढाउने तयारी कांग्रेसको छ। सत्ता समीकरणका लागि अन्य दलहरूसँग कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र सञ्चारमन्त्रीसमेत रहेका नेता ज्ञानेन्द्रबहादुर कार्कीले वार्ता जारी राखेका छन्।

उता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि प्रधानमन्त्रीकै दौडमा छन्। उनी राष्ट्रपति नबनेर कार्यकारी भूमिकामै रहने बताइरहेका छन्।

एमाले भने कांग्रेस नेतृत्वको गठबन्धन जसरी पनि तोड्न चाहन्छ। एमाले नेताहरूले माओवादी केन्द्रका नेतृत्वसम्मै गठबन्धन तोडेर वाम दलहरूको सरकार बनाउने प्रस्ताव लगिरहेका छन्।

कांग्रेस नेतृत्वको गठबन्धन कायम रहेमा एमालेले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखदेखि सबै प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरू बनाउने अवसरसमेत गुमाउनुपर्नेछ।

राष्ट्रपति लिएर भए पनि एमाले वाम सरकार बनाउन चाहन्छ। प्रचण्डले प्रस्ताव स्वीकारेमा कांग्रेसबाहेकको सरकार बन्ने सम्भावना पनि छ। एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, राप्रपासँग १४, एकीकृत समाजवादीसँग १० सिट छ। त्यसमा २० सिटको राष्ट्रिय स्वतन्त्र पार्टीले साथ दिएमा वाम नेतृत्वको सरकार सम्भव पनि छ।

एमालेका एक नेता भन्छन्, ‘हामी सबै अवसर गुमाउन चाहँदैनौँ। सम्भावित हरेक विकल्पमा कुराकानी भइरहेको छ। सकेसम्म सरकारको नेतृत्वमा पुग्ने कसरत भइरहेको छ।’

गठबन्धन बन्नुमा भने विगतको राजनीतिक पृष्ठभूमि बाधक देखिएको छ। २०७४ को चुनावमा गठबन्धन गरेर चुनाव लडेको एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेरै कांग्रेस नेतृत्वमा गठबन्धन बनेको हो।

नेकपा बन्दा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आलोपालो प्रधानमन्त्रीको सहमति थियो। तर ओलीले आलोपालो प्रधानमन्त्री नछोडेपछि उत्पन्न विवाद बढ्दै जाँदा नेकपा फुटेको थियो।

प्रकाशित: ४ पुष २०७९ १५:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 5 =