‘किम्फ’मा छानियो ‘आग्रे’

हिमाल प्रेस १९ मंसिर २०७९ १५:०७
62
SHARES
‘किम्फ’मा छानियो ‘आग्रे’

काठमाडौँ- नेपाली वृत्तचित्र ‘आग्रे (द आइरन डिगर)’ काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)मा छानिएको छ।

डकुमेन्ट्री नेपाल पनोरमाअन्तर्गत छनोटमा परेको हो। अनिल बुढामगरको निर्देशन रहेको डकुमेन्ट्री ५१ मिनेट लामो रहेको छ।

वृत्तचित्रमा रोल्पाको जेलबाङ गाउँको कथा छ। वर्षौंदेखि फलाम खानीमा काम गर्ने रोल्पाली वृद्धको संघर्ष त्यसमा देखाइएको छ।

जेलबाङलाई २०४६ सालदेखि हिमाली फलाको व्यापारिक केन्द्र मानिन्थ्यो। नेपाल सरकारले खानी बन्द गरेपछि गाउँलेको जीवनमा परेको असरलाई डकुमेन्ट्रीमा देखाइएको छ।

अनिल बुढामगर स्वतन्त्र फिल्म निर्माता हुन्। पटकथा लेखक, निर्देशक र पत्रकार पनि हुन्। उनको पहिलो छोटो फिल्म ‘लोम्बा’ले सन् २०१७ मा किम्फ र अन्य सात महोत्सवमा मनोनयनमा पर्न सफल भयो। र, उत्कृष्ट फिल्म निर्देशक, उत्कृष्ट पोशाकसहित तीन विधामा पुरस्कार पनि जित्यो।

‘आग्रे’ उनको दोस्रो वृत्तचित्र हो। ‘फिल्म साउथ एसिया २०२२’, ‘इस्चिया ग्लोबल फिल्म फेस्टिभल’, ‘ब्ल्याक स्टार इन्टरनेसनल फिल्म फेस्टिभल’ लगायत अन्य १९ फिल्म फेस्टिभलमा ‘आग्रे’ देखाइएको छ। तीमध्ये चार वटामा यसले अवार्डसमेत जितिसकेको छ।

किम्फको २० औँ संस्करण मंसिर २२ (डिसेम्बर ८) देखि सुरु भएर मंसिर २६ (डिसेम्बर १२)सम्म हुनेछ। महोत्सव काठमाडौँ, प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा हुनेछ।

पाँचदिने महोत्सवमा यसपटक ३० देशका ६० भन्दा बढी फिल्म देखाइनेछन्। महोत्सवमा डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसनलगायत फिल्म देखाइनेछन्।

सन् २००० देखि सुरु भएको किम्फको १८औँ र १९औँ संस्करण कोभिड-१९ महामारीका कारण भर्चुअल भएको थियो। यसपालि भने दर्शकले महोत्सवमा भौतिक रूपमा सहभागी हुन पाउनेछन्।

महोत्सवमा फिल्मसम्बन्धी गोष्ठी तथा छलफल कार्यक्रम हुनेछन्। किम्फ २०२२ को निर्णायक मण्डलमा जर्मन लेखक÷निर्देशक(निर्माता माइकल पज, दिग्गज नेपाली एनिमेसन फिल्म निर्देशक-निर्माता किरणभक्त जोशी र कोरियाको उल्जु माउन्टेन फिल्म फेस्टिभलका कार्यक्रम निर्देशक जिन्ना ली रहेका छन्।

किम्फमा विशेषगरी पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्म प्रदर्शन गरिनेछन्।

प्रकाशित: १९ मंसिर २०७९ १५:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 6 =