शिक्षक, विद्यार्थी र पत्रकारलाई ०७९ सालको अन्तर्दृष्टि पुरस्कार दिइँदै

हिमाल प्रेस १८ मंसिर २०७९ ११:३४
16
SHARES
शिक्षक, विद्यार्थी र पत्रकारलाई ०७९ सालको अन्तर्दृष्टि पुरस्कार दिइँदै

काठमाडौँ- अन्तर्दृष्टि पुरस्कार ०७९, फरकफरक विधाका तीन जनालाई दिने घोषणा गरिएको छ।

डा. कमल लामिछानेद्वारा ०७७ सालमा स्थापित पुरस्कार अपांगता भएका व्यक्तिहरूको ३१औँ अन्तर्राष्ट्रिय दिवस अर्थात् ३ डिसेम्बरमा घोषणा गरिएको हो।

यो वर्ष मञ्जु सुवेदीलाई अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार, दुर्गादेवी वाइबालाई अन्तर्दृष्टि हातेमालो पुरस्कार र अनिता भेटवाललाई अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ।

‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’ पाउने शिक्षक सुवेदी ललितपुरको नमुना मच्छिन्द्र माध्यमिक विद्यालयमा अध्यापनरत छिन्।

‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’ काठमाडौंको पृथ्वीनारायण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी दुर्गादेवी वाइबालाई प्रदान गरिने भएको छ। उनले दृष्टिविहीन विद्यार्थीसँग गरेको हातेमालो, सहयोगी भूमिका, व्यवहार, सिकाइको आदानप्रदानलगायतलाई आधार मानी छनोट गरिएको हो।

देशभरका समावेशी शिक्षा सञ्चालित विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीमा गरिएको सर्वेक्षणका आधारमा ‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’ छनोट गरिएको छ। ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’का लागि पनि सोही विधि प्रयोग गरिएको थियो।

‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता’ पुरस्कारको निर्णय भने अन्तर्दृष्टि पुरस्कार समितिका सदस्य होमनाथ अर्याल, डा. कमल लामिछाने, सुनिता थापा र सरिता लामिछानेको छनोटका आधारमा गरिएको हो।

प्रमाणपत्रसहित अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कारको रकम २० हजार, अन्तर्दृष्टि हातेमालो पुरस्कार र अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कारको रकम १० हजार रुपैयाँ छ। यी सबै पुरस्कार आगामी वसन्तपञ्चमीका दिन प्रदान गरिनेछ।

प्रकाशित: १८ मंसिर २०७९ ११:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + seventeen =