पोयुसापलाई एक लाख राशिको सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार

हिमाल प्रेस २६ फागुन २०८० २०:१५
12
SHARES
पोयुसापलाई एक लाख राशिको सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार

पोखरा- भैरव साँस्कृतिक संरक्षण समितिले यसवर्षको सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार-२०८० पोखरेली युवा साँस्कृतिक परिवारलाई प्रदान गरेको छ। शनिबार आयोजित समारोहमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले दोसल्ला ओढाएर नगद एक लाखसहित सम्मानपत्र परिवारका अध्यक्ष उपेन्द्र पौडेललाई प्रदान गरे।

सो अवसरमा प्रमुख आचार्यले पोखरेली युवा साँस्कृतिक परिवारले पोखराको मान बढाएको बताए। परिवारका अध्यक्ष पौडेलले ४६ वर्षसम्म वाङ्मयिक संस्था चलाइरहँदा आज पोखराको मिनी एकेडेमी भएको प्रमाणित भएको बताए। २०३४ सालमा प्रसिद्ध गायक सरोजगोपाल बज्राचार्य अध्यक्ष र साहित्यकार सरुभक्त सचिव रहेको पोखरेली युवा साँस्कृतिक परिवार गठन भएको थियो।

संस्कृतिकर्मी तीर्थ श्रेष्ठका अनुसार २०५५ सालमा स्थापित क्षेत्रीयस्तरको उक्त पुरस्कार कृष्णबहादुर श्रेष्ठ, प्रज्ञारत्न बज्राचार्य, चेतन कार्कीले पाइसकेका छन्। २०६३ देखि प्रत्येक ३ ३ वर्षमा पुरस्कार प्रदान गर्ने गरिएको छ। उक्त पुरस्कार फत्तेमान राजभण्डारी, सत्यमोहन जोशी, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, जगमान गुरुङले पनि पाइसकेका छन्।

सर्वज्ञमान प्रधानाङ्ग शास्त्रीय संगीत साधक तथा संस्कृतिकर्मी हुन्। पोखरामा देखाइने भैरवनृत्य सञ्चालनमा वाद्यवादक, राग गायक एवम् गुरुका रूपमा उनको भूमिका उल्लेखनीय थियो।

संस्कृति र संगीतको क्षेत्रमा सक्रिय संस्कृतिकर्मी, साधक, सेवी र संस्थाहरूको सम्मान गर्ने उद्देश्यले आफू र धर्मपत्नीको नाममा उनले आफू जीवित रहँदा नै सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार २०५५ सालमा नै स्थापना गरी सञ्चालनको अभिभारा भैरव सांस्कृतिक संरक्षण समितिलाई दिएको तीर्थ श्रेष्ठले जानकारी दिए। समारोह भैरव सांस्कृतिक संरक्षण समिति अध्यक्ष तीर्थमान प्रधानाङ्गको अध्यक्षतामा सम्पन्न भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 7 =