नेपाल टि२० लिग : लुम्बिनी शीर्षस्थानमा यथावत, पोखराको पहिलो जित

हिमाल प्रेस १५ पुष २०७९ १९:०८
6
SHARES
नेपाल टि२० लिग : लुम्बिनी शीर्षस्थानमा यथावत, पोखराको पहिलो जित

काठमाडौँ- नेपाल टि२० लिगमा शुक्रबार लुम्बिनी अल स्टार्स र पोखरा एभेन्जर्सले जित दर्ता गरेका छन्। लुम्बिनीले काठमाडौँ नाइट्सलाई ३५ रनले पराजित ग¥यो। यो जितसँगै लुम्बिनीले शीर्षस्थानमाथिको पकड बलियो बनायो। लुम्बिनीको पाँच खेलबाट १० अंक जम्मा भएको छ। दोस्रो स्थानको जनकपुर रोयल्सको ६ अंक छ।

उता पोखराले फारवेस्टलाई तीन विकेटले हराएको हो। लिगमा पोखराका लागि यो पहिलो जित हो। लगातार पाँच खेलमा पराजय भोगेको पोखरा पहिलो जितसँगै पाँचौँ स्थानमा उक्लियो। ६ टिमसम्मिलित लिगमा फारवेस्ट पुछारमा छ। पोखराको जस्तै दुुई अंक भए पनि फारवेस्ट रन रेटमा पछि परेको हो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा आठ विकेट गुमाउँदै १५० रन बनाएको थियो। लुम्बिनीका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ४०, लाहिरु मिलान्थाले २५ र शाड्ली भान हाल्विकले २१ रन जोडे।

जवाफी ब्याटिङ गरेको काठमाडौँ ११५ रनमै सीमित भयो। काठमाडौँलाई लक्ष्य पूरा गर्न नदिन लुम्बिनीका हरमित सिंहले धारिलो बलिङ गरे। चार ओभर बलिङ गरेका भारतीय अलराउन्डर सिंहले सात रन खर्चिएर तीन विकेट हात पारे। उनको बलमा काठमाडौँका कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर विरनदीप सिंह शून्यमा आउट भएका थिए।

ज्ञानेन्द्र र विरनदीप जस्तै लोकेश बम पनि रनको खाता नखोली पेभिलियन फर्किएका थिए। सुरुवाती तीन ब्याट्सम्यानले एक रन पनि जोड्न नसकेपछि काठमाडौँ अप्ठ्यारोमा परेको थियो। अफगानी अलराउन्डर आज्मतुल्लाह ओमारजाईले २९ बलमा ३८ बनाए पनि जितका लागि पर्याप्त भएन। पराजित टिमका लागि कमल ऐरीले १९ र सुनम गौतमले १८ रनको योगदान गरे।

लुम्बिनीको जितमा किशोर महतो, भान शल्विक, तिलक भण्डारी र ह्यारी टेक्टरले एक–एक विकेट लिए।

दिनको दोस्रो खेलमा फारवेस्टले पोखरा एभेन्जर्सलाई १८८ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ गरेको पोखराले पाँच बल छँदा लक्ष्य पूरा गरेको थियो। पोखरालाई बलियो सुरुवात दिलाउन सुमित महर्जन र आसिफ शेखले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे।

उमेर अलीको बलमा आउट हुनुअघि सुमितले ३८ रन जोडे। अर्का ओपनर आशिफको नाममा ४५ रन रह्यो। त्यसैगरी कुशल मल्लले ४० र सिद्धान्त लोहनीले २३ रन बटुले।

त्यसअघि फारवेस्टका लागि उमैर अलीले सर्वाधिक ४२ रनको योगदान गरेका थिए। उनीबाहेक फारवेस्टका लागि उल्लेखनीय रन जोड्ने ब्याट्सम्यानमा देव खनाल र रशिद खान रहे। यी दुईले क्रमशः ३३ र ३२ रन बटुलेका थिए।

प्रकाशित: १५ पुष २०७९ १९:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seventeen =