सुरु हुँदै फ्रेन्च लिग : पीएसजीलाई एम्बाप्पे र नेयमारको साथ, मेस्सी केही दिन बिदामै

हिमाल प्रेस १३ पुष २०७९ १५:१७
12
SHARES
सुरु हुँदै फ्रेन्च लिग : पीएसजीलाई एम्बाप्पे र नेयमारको साथ, मेस्सी केही दिन बिदामै

काठमाडौँ- विश्वकपमा निराश बनेका किलियान एम्बाप्पे र नेयमार बुधबार मैदान फर्कदैछन्। यी दुवै खेलाडी फ्रेन्च लिग वानमा स्टार्सब्रोसविरुद्ध खेल्ने पेरिस सेन्ट जर्मेन (पीएसजी) को टिममा हुनेछन्। विश्वकप विश्रामपछि सुरु हुन लागेको फ्रेन्च लिगमा पीएसजीले स्टार्सब्रोलाई पार्क डेस प्रेन्समा स्वागत गर्न लागेको हो।

पीएसजीका प्रशिक्षक क्रिस्टोफ गाल्टियरले एम्बाप्पे र नेयमार यो खेलका लागि तयार रहेको बताएका छन्। विश्वकप फाइनलमा फ्रान्स अर्जेन्टिनासँग हारेको तीन दिनपछि नै एम्बाप्पे क्लबको अभ्यासमा फर्किएका थिए। नेयमार भने डिसेम्बर १८ बाटै पेरिसमा छन्।

‘विश्वकप नजिते पनि किलियानले कतारमा उत्कृष्ट प्रदर्शन गरे। उच्च गोलकर्ता बने। फ्रान्स फर्कन साथ उनले क्लबसँग अभ्यास सुरु गरेका थिए। चाँडै अभ्यास सुरु गरे पनि उनले विश्वकपको थकान मेट्ने अवसर नपाउने भने होइन,’ गाल्टियरले भनेका छन्।

उनले फुलब्याक अचरफ हाकिमी पनि मैदान फर्कन तयार रहेको बताए। विश्वकपको सेमिफाइनल पुगेको मोरोक्कोका लागि मुख्य खेलाडी साबित भएका हाकिमी पूर्ण रुपमा फिट रहेको गाल्टियको भनाइ थियो। ‘एम्बाप्पे र हाकिमी तुरुन्तै मैदान फर्कन चाहन्छन्। उनीहरु शारिरीक र मानसिक रुपमा बलियो स्थितिमा छन्। उनीहरुलाई नखेलाउनु पर्ने कुनै कारण छैन,’ गाल्टियरको भनाइ थियो।

पीएसजी लिग उपाधि रक्षा गर्ने अभियानमा छ। स्टार्सब्रोसँग खेलेको दुई दिनपछि नै पीएसजीले लेन्सको सामना गर्नेछ। लेन्स हाल दोस्रो स्थानमा छ। यी दुई टिमबीच पाँच अंकको फरक छ। उपाधि दौडमा कठिन विपक्षी बन्नसक्ने सम्भावना रहेकाले लेन्सलाई पन्छाउन पीएसजीले आफ्ना मुख्य खेलाडीलाई मैदानमा उतार्नेछ।

एम्बाप्पे विश्वकपको फाइनलसम्म पुगे पनि नेयमार भने क्वार्टरफाइनलबाटै घर फर्किएका थिए। विश्वकप जित्नसक्ने टिमको सूचीमा राखिएको ब्राजिल कतारी भूमिमा खरो उत्रन नसक्दा नेयमारले पनि केही खेल गुमाए। दाहिने घुँडामा लागेको चोटका कारण संघर्ष गरेका नेयमार अहिले भने पूर्णरुपमा फिट छन्।

क्वार्टरफाइनलमा क्रोएसियासँग हारेपछि विक्षिप्त बनेका नेयमार क्लबको जर्सीमा मैदान फर्कन मानसिक रुपमा तयार रहेको गाल्टियर बताउँछन्। ‘उनी खेल्न आतुर छन्। यो उनी आफ्नै लागि पनि सकारात्मक कुरा हो,’ गाल्टियरले भने।

क्रोएसियाविरुद्ध गोल गरेका नेयमारले पेलेको कीर्तिमान बराबरी गरेका छन्। स्वास्थ्य बिग्रिएपछि हाल अस्पतालमा रहेका पेलेले राष्ट्रिय टिमका लागि ७७ गोल गरेका थिए। नेयमारले कतारमा त्यो आँकडा भेटेका थिए।

विश्वकप जितेका लियोनल मेस्सी चाहिँ अझ केही दिन बिदामा रहनेछन्। अर्जेन्टिनाका कप्तान मेस्सीले जनवरी ३ बाट मात्रै क्लबको अभ्यास सुरु गर्ने बताइएको छ। ३५ वर्षीय मेस्सीको अनुपस्थितिमा एम्बाप्पे र नेयमारले पीएसजीको अग्रपंक्ति सम्हाल्नेछन्। एम्बाप्पे र नेयमार फ्रेन्च लिगमा यो सिजन सर्वाधिक गोल गर्ने खेलाडीको सूचीको शीर्ष दुईमा छन्। एम्बाप्पे र नेयमारको नाममा क्रमशः १२ र ११ गोल छ।

पीएसजीले १९ औँ स्थानको स्टार्सब्रोको सामना गर्दा लेन्सको भेट नवौँ स्थानको निससँग हुनेछ। यो खेल बुधबार राति हुनेछ। त्यसैगरी तेस्रो स्थानको रेनले रिम्स र चौथो स्थानको मार्सेले टुलुजसँग खेल्ने तालिका छ। यी दुवै खेल बिहीबार राति हुनेछन्।

प्रकाशित: १३ पुष २०७९ १५:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + seven =