नेपाल टि२० लिग : सुपर ओभरको जितले लम्बियो लुम्बिनीको विजय यात्रा

हिमाल प्रेस १३ पुष २०७९ १३:०७
10
SHARES
नेपाल टि२० लिग : सुपर ओभरको जितले लम्बियो लुम्बिनीको विजय यात्रा

काठमाडौँ- नेपाल टि२० लिगमा बुधबार लुम्बिनी अल स्टार्सले फारवेस्ट युनाइटेडमाथि सुपर ओभरमा जित हात पारेको छ। फारवेस्टले दिएको १३८ रनको लक्ष्य पछ्याएको लुम्बिनी २० ओभरमा नौ विकेट गुमाएर १३७ रनमा अड्किएपछि खेल सुपर ओभरमा गएको थियो।

सुपर ओभरमा लाहिरु मिलन्थाले दुई छक्का प्रहार गरेपछि लुम्बिनीले १९ रन बनायो। फारवेस्ट १० रनमै सीमित भएपछि लुम्बिनीले दुई अंक बटुल्यो।

यो जितपछि लुम्बिनी शीर्षस्थानमा यथावत छ। लुम्बिनीको खातामा चार खेलबाट आठ अंक छ। पराजित फारवेस्ट भने तीन खेलबाट दुई अंक बटुलेर चौथो स्थानमा छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सुरुवाती तीन ब्याट्सम्यानमध्ये दुई शून्यमै बाहिरिएपछि लुम्बिनी अप्ठ्यारोमा परेको थियो। पछिल्ला तीन खेलमध्ये दुईमा अर्धशतक बनाएका लाहिरु मिलान्थाले ३४ रन बनाए पनि अर्का ओपनर सुनिल धमला दोस्रो बलमै आउट भएका थिए। त्यसैगरी तेस्रो नम्बरमा ब्याटिङ गरेका कुशल भुर्तेल पहिलो बलमै पभेलियन फर्किए।

चौथो ओभरको समाप्तीमा ३६÷३ को स्थितिमा रहेको लुम्बिनीलाई कप्तान दीपेन्द्र सिंह ऐरीले पनि उकास्न सकेनन्। उनी चार रनमा आउट हुँदा मध्यक्रमका अन्य दुई ब्याट्सम्यान अनिल साह र हरमित सिंहले क्रमशः नौ र तीन रन मात्र जोड्न सके।

विपुल शर्माले २७ बलमा ३१ रन बनाएर लुम्बिनीलाई लक्ष्यतर्फ डो¥याउने प्रयास गरेका थिए। १५ औँ ओभरमा किशोर महतो आउट भएपछि ब्याटिङ गर्न गएका गुल्शन झाले मजबुत खेल देखाएपछि लुम्बिनी जितको नजिक पुगेको थियो। तर गुल्शनले २४ बलमा बनाएको ३६ रन खेल जिताउन पर्याप्त भएन।

त्यसअघि टस हारेर ब्याटिङ गरेको फारवेस्टलाई ओपनर देव खनालले बलियो सुरुवात दिलाएका थिए। उनले ४२ बल सामना गर्दा पाँच चौकासहित ४८ रन जोडे।

अर्का ओपनर हसिम अन्सारी ११ रनमा आउट भएपछि ब्याटिङमा गएका कप्तान हस्मतुल्लाह शहिदीले ३२ रन जोडे। तर बाँकी ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्। फारवेस्टका लागि भिम शार्कीले १५, विनोद भण्डारीले ११ र उमैर अलीले १ रन बनाए। अविजित रहेका करण केसीको नाममा १२ रन रह्यो।

फारवेस्टलाई मध्यम योगफलमा रोक्न लुम्बिनीका शाड्ले भान शाल्विकले दुई विकेट लिए। त्यसैगरी हरमित सिंह, किशोर महतो र सागर ढकालले एक–एक विकेट हात पारे।

प्रकाशित: १३ पुष २०७९ १३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + five =