ओलीले पाएनन् सभामुख बनाउने सांसद

हिमाल प्रेस १२ पुष २०७९ १६:०३
190
SHARES
ओलीले पाएनन् सभामुख बनाउने सांसद

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सभामुख छान्न सकस परेको छ। अध्यक्ष ओलीले नजर लगाएका नेताले रुचि नदेखाउँदा सभामुख छान्न कठिन भएको हो। एमालेले दुई वर्षका लागि सभामुख आफूले पाउने नेकपा माओवादी केन्द्रसहितको गठबन्धनको निर्णय छ।

एमालेमा दोस्रो दर्जाका अधिकांश नेताले चुनाव हारेका कारण सभामुखका आकांक्षी निकै कम छन्। एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव पद्मा अर्याल संसद्मा छैनन्।

नेताहरू सुवास नेम्बाङ र पृथ्वीसुब्बा गुरुङमध्ये एकजनालाई सभामुख बनाउने ओलीको चाहना छ। तर दुवै नेता ओलीको प्रस्ताव मान्ने पक्षमा छैनन्। संविधानसभा अध्यक्षसमेत गरी नेम्बाङ तीनपटक सभामुख भइसकेका छन्। त्यसैले उनको आकांक्षा राष्ट्रपतिमा छ।

गुरुङलाई भने सभामुख बन्दा सक्रिय राजनीतिबाट ओझेल पर्ने भय छ। ‘धेरै नेताको चाहना मन्त्री वा राष्ट्रपतिमा छ। सभामुख बन्न कसैले आकांक्षा देखाएका छैनन्,’ एमालेका एक नेता भन्छन्, ‘अध्यक्षले चाहेका व्यक्तिले अरुचि देखाएपछि सकस भएको हो।’

गण्डकी प्रदेशका मुख्यमन्त्री भइसकेका गुरुङले एमालेबाट सरकारको नेतृत्व गर्न चाहेका थिए। तर ओलीले विष्णु पौडेललाई पठाए।

एमालेमा सभामुखको आकांक्षा वसन्तकुमार नेम्बाङ र छविलाल विश्वकर्माले देखाएका छन्। एमाले स्रोतका अनुसार वसन्तकुमारलाई सुवास नेम्बाङले अघि सारेका हुन्।

लामो समयदेखि संसदीय राजनीतिमा सक्रिय वसन्तकुमार पटकपटक मन्त्री भइसकेका छन्। परिपक्व र विषम परिस्थितिमा समेत चुनाव जितेका कारण उनलाई सभामुख बनाउनुपर्ने सुवासको प्रस्ताव छ।

एमाले एक नेताका अनुसार सुवास नेम्बाङ राष्ट्रपति बनेमा सभामुखमा वसन्त नेम्बाङ चुनिने सम्भावना छैन। एकै क्षेत्रका दुईजना नेतालाई माथिल्लो तहको नेतृत्व दिँदा विवाद आउने ओलीको बुझाइ छ। सुवास नेम्बाङले इलाम २ र वसन्तकुमार पाँचथरबाट निर्वाचित भएका हुन्।

विश्वकर्मा रूपन्देही १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्। दलित समुदायको पहिलो सभामुख बनाउन केही नेताहरूलाई विश्वकर्माको नाम प्रस्ताव गरेका हुन्।

सभामुख कसलाई बनाउने भन्ने अन्तिम निर्णय ओलीकै हातमा छ। सन्तुलित व्यवहार संसदीय क्रियाकलापमा समेत अभ्यस्त नेतालाई सभामुखमा पठाउने ओलीको चाहना छ।

पार्टीलाई सहज बनाउने गरी सभामुख चुन्ने तयारीमा एमाले रहेको एमाले नेता विशाल भट्टराई बताउँछन्। ‘अहिले चर्चामा आएका बाहेक अन्य नेता पनि सभामुख बन्न सक्छन्,’ भट्टराई भन्छन्, ‘परिपक्व सांसदलाई सभामुख बनाउँछौँ।’

प्रकाशित: १२ पुष २०७९ १६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + seven =