राष्ट्रपतिमा ओलीले गरे गुरु बरालको नाम प्रस्ताव

हिमाल प्रेस २६ माघ २०७९ १७:०३
810
SHARES
राष्ट्रपतिमा ओलीले गरे गुरु बरालको नाम प्रस्ताव एमाले नेता गुरु बराल। तस्बिर : बरालको फेसबुक

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट राष्ट्रपतिका लागि गुरु बरालको नाम प्रस्ताव गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बुधबार भएको भेटमा ओलीले बरालको नाम प्रस्ताव गरेका हुन्। अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोट पुगेका थिए। प्रचण्डले भने गठबन्धनमा छलफल गर्नुपर्ने बताएका थिए।

माओवादी बैठकले भने राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्ने निर्णय गरेको छ। यस्तै एमालेबाट भए पनि ओलीको ‘एस म्यान’ लाई विश्वास गर्न नसकिने माओवादीका नेताहरूले बताउँदै आएका छन्।

बराल ओली निकट मानिन्छन्। माओवादीका एक नेता भन्छन्, ‘एमाले अध्यक्ष ओलीले बरालको नाम प्रस्ताव गर्नुभएको भन्ने छ। तर हामी ओली निकट व्यक्तिलाई राष्ट्रपति मान्ने पक्षमा छैनौँ।’

यसबारे छलफल जारी रहेको ती नेताले जानकारी दिए। राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा ओली र प्रचण्डबीचको भेटघाट पनि बाक्लिँदै गएको छ। भेटमा राष्ट्रपति निर्वाचन, सत्ता गठबन्धनका विषयमा छलफल हुने गरेको नेताहरू बताउँछन्। एमालेबाट राष्ट्रपतिका लागि यसअघि डोरमणि पौडेल, गोमा देवकोटा, विष्णु रिमाललगायतको नाम पनि चर्चामा छ।

बराल एमाले स्थायी कमिटी सदस्य हुन्। उनी २०४४ सालमा नेकपा मालेको मोरङको सचिव भएका बराल पार्टी कमिटीमा निरन्तर छन्। ०४६ देखि ५० सम्म एमाले मोरङको सचिव बनेका उनी २०४९ देखि २०७८ सम्म लगातार पार्टी केन्द्रीय सदस्य थिए। एमालेको १० औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

बरालले २०५२ सालमा तत्कालीन मोरङ क्षेत्र नम्बर ६ बाट संसदीय निर्वाचनमा निर्वाचित भएका थिए। २०५६ सालमा मोरङ ६ बाटै कांग्रेसका हरिनारायण चौधरीसँग पराजित भएका उनी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरङ ८ बाट पराजित भएका थिए। यस्तै दोस्रो संविधानसभा २०७० मा मोरङ ३ बाट टिकट पाए पनि पराजित भएका थिए। उनी २०७८ सालमा पनि राष्ट्रियसभा सदस्यमा पराजित भएका थिए।

बराल मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =