प्रतिनिधिसभा बैठक

मधेशको सुरक्षा, सुनसरी घटना र ‘हिन्दु सम्राट् सेना’ बारे सांसदहरूको प्रश्न

हिमाल प्रेस १९ साउन २०८३ १४:४९ | Tuesday, August 4, 2026
18
SHARES
मधेशको सुरक्षा, सुनसरी घटना र ‘हिन्दु सम्राट् सेना’ बारे सांसदहरूको प्रश्न

काठमाडौँ- सांसदहरूले मधेशमा आन्दोलन तथा प्रदर्शनका क्रममा सुरक्षा निकायले गर्ने बल प्रयोग, सुनसरीलगायतका स्थानमा भएका पछिल्ला घटनाको निष्पक्ष छानबिन र ‘हिन्दू सम्राट सेना’ जस्ता समूहसँग सरकारले गरेको भनिएको संवादबारे सरकारसँग जवाफ मागेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले सुरक्षा व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने र संवेदनशील घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिएका हुन्।

सत्ता पक्षीय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा हुने आन्दोलन तथा प्रदर्शनमा सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

सांसद सिंहले मधेशमा आन्दोलन वा प्रदर्शन हुँदा लाठीचार्ज तथा टियर ग्यासको प्रयोग नगरी सिधै गोली चलाउने अवस्था किन सिर्जना हुन्छ भन्दै प्रश्न गरे। उनले प्रहरीसँग लाठी वा टियर ग्यास नभएको हो वा सुरक्षा निकायमा त्यसको प्रयोगसम्बन्धी तालिमको कमी हो भन्ने प्रश्नसमेत गरे।

मधेशलाई पछाडि पार्ने, गरिब बनाइराख्ने र विरोध प्रदर्शन हुँदा गोली चलाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ थियो। नेपाली सेना मधेशमा परिचालन हुँदा मधेशका नागरिकले आफ्नै सेनामा आफ्नो अनुहार नदेख्ने र देशकै सेनालाई विदेशी सेनाका रूपमा बुझ्ने मनोविज्ञान रहेको भन्दै त्यसलाई अन्त्य गर्नुपर्ने उनले बताए।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुनसरीलगायतका स्थानमा भएका घटनाको निष्पक्ष अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ। प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै कांग्रेसका सचेतक निष्कल राईले घटनाको कारण, सुरक्षा कमजोरी, अफवाहको भूमिका तथा राज्यका तर्फबाट अपनाइएको प्रक्रियाबारे निष्पक्ष अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गर्न माग गरे।

उनले सामाजिक सञ्जालमार्फत घृणा र झुटा सूचना फैलाउनेमाथि कानुनअनुसार कारबाही गर्न माग गर्दै कुनै धर्म वा समुदायलाई सामूहिक रूपमा शंकाको घेरामा नराख्न सरकारलाई आग्रह गरे।

सरकारले गरेका सहमति, त्यसको संवैधानिक आधार, कार्यान्वयन प्रक्रिया तथा समयसीमाबारे संसद र नागरिकलाई स्पष्ट जानकारी गराउनुपर्ने उनको माग थियो।

संवेदनशील निर्णयहरू बन्द कोठामा नभई खुला राष्ट्रिय संवादमार्फत हुनुपर्ने उल्लेख गर्दै राईले असहमति निषेध गरेर राष्ट्रिय एकता कायम गर्न नसकिने धारणा राखे।

उनले घृणाभन्दा संवाद, अफवाहभन्दा सत्य, प्रतिशोधभन्दा न्याय र विभाजनभन्दा राष्ट्रिय एकतालाई प्राथमिकता दिनुपर्ने बताउँदै यही नै संविधानको मर्म र नेपालीको भविष्यको आधार भएको उल्लेख गरे।

अर्को प्रतिपक्षी नेकपा एमालेका सांसद गुरु बरालले सुनसरीलगायतका घटनाका पीडित परिवारसँग गृहमन्त्रीले गरेको सहमतिमाथि प्रश्न उठाए। उनले संवैधानिक तथा कानुनी प्रक्रिया र विगतका अभ्यासभन्दा माथि उठेर गृहमन्त्रीले सहमति गरेको भन्दै त्यसको औचित्यमाथि प्रश्न गरेका हुन्।

गृहमन्त्रीले मृतकका परिवारलाई भेटेर सहमति गरे पनि उनीहरूको मन जित्न नसकेको सांसद बरालको दाबी थियो। सुनसरी घटनाको छानबिन न्यायिक समितिमार्फत हुनुपर्ने भन्दै उनले सरकारले गठन गरेको समितिले निष्पक्ष छानबिन गर्न नसक्ने बताए।

दीर्घकालीन रूपमा शान्ति–सुव्यवस्था कायम गर्ने विषयमा केन्द्रित हुन पनि उनले सरकारको ध्यानाकर्षण गराए।

बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ‘हिन्दु सम्राट् सेना’ जस्ता समूहसँग गृहमन्त्रीले वार्ता गरेकोमा आपत्ति जनाए। नेपाल सार्वभौम देश भएकाले ‘नेपाली सेना’ बाहेक अन्य कुनै सेनाको अस्तित्व हुन नसक्ने भन्दै उनले सेना नाम जोडिएका त्यस्ता समूहलाई सरकारले प्रतिबन्ध वा निषेध गर्नुपर्ने धारणा राखे।

यस्ता समूहसँग सरकारले वार्ता गर्न नहुने उनको भनाइ थियो। अध्यक्ष साम्पाङले आफू जनकपुर जान खोज्दा एउटा समूहले बाटो छेक्ने तथा निषेध गर्ने प्रयास गरेको पनि बताए।

साउन ५ गते जनकपुरमा श्रमदातामाथि अज्ञात समूहले कुटपिट गरेको र त्यसबारे गृहमन्त्रीलाई जानकारी गराउँदा पनि कारबाही नभएको भन्दै उनले सरकारसँग जवाफ माग गरे।

साम्पाङले कोशी ब्यारेजका ५६ वटा ढोका बर्खायाममा थुनेर राख्दा नेपालको आफ्नै भूभाग डुबानमा पर्ने गरेको भन्दै डुबानको समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताए।

सुनसरीलगायतका स्थानमा हालै भएका घटनाको निष्पक्ष र तथ्यपरक छानबिन हुनुपर्नेमा पनि उनले जोड दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast