काठमाडौँ- नेपाली कांग्रेसले राज्य व्यवस्था समितिको बैठकमा सञ्चारकर्मीलाई प्रवेश गर्न रोक लगाइएपछि आपत्ति जनाएको छ। बैठकमा प्रवेश गर्न सञ्चरकर्मीलाई रोकेपछि समिति सदस्य कांग्रेसका सांसद निष्कल राई आपत्ति जनाउँदै बाहिरिएका हुन्।
राईले राज्यवस्था तथा सुशासन समितिमा संसदीय मर्यादा अनुकुलको व्यवहार नभएको बताएका छन्।मिडियालाई बाहिर राख्ने र बन्द कोठामा समिति बैठक निर्णय गलत भएकोल आफू हिँडेको उनले उल्लेख गरेका छन्।
‘राज्यव्यवस्था तथा सुशासन समितिमा आज जे भयो संसदीय मर्यादा अनुकुल देखिएन,’ राईले सामाजिक सञ्जालमा लेखेका छन्,‘लोकतान्त्रिक व्यवस्थामा मिडियालाई ‘वाच डग’ चौथो अंगको रुपमा लिइन्छ।
तर, आजको राज्यवस्था तथा सुशासन समितिमा मिडियालाई बाहिर राख्ने र बन्द कोठामा समिति बैठक राख्ने कार्य गलत छ। मैले समिति बैठकमै असहमति प्रकट गरेर हिँडेको छु।’
समिति बैठक जति खुला हुने बहस र छलफल त्यति नै नागरिकमैत्रि तथा जनउत्तरदायी हुने उनको भनाइ छ।
‘मिडियालाई खेदेर हैन सँगै राखेर छलफल गरिनुपर्दछ। सदनको बैठक लाइभ भएजस्तै मिनी संसद्को बैठक पनि लाइभ गराउँदा फरक पर्दैन।’
बन्द कोठामा हुने समिति बैठकमा कांग्रेसले भाग नलिने उनले प्रस्ट पारेका छन्।
‘आगामी दिनमा पनि बन्द कोठामा समिति बैठक चलाइन्छ भने नेपाली कांग्रेसले ति कुनै पनि बैठकमा भाग लिने छैन। यसमा गम्भीर बनोस्, सभापति गम्भीर बन्नुहोस्,’ उनले भनेका छन्।
राईका साथै नेकपा एमालेका सांसद इस्तियाक राई र सत्तारुढ दलका सांसद अमरेशकुमार सिंहले पनि बैठक बहिष्कार गरेका छन्। बन्द कोठामा बैठक राखिए आफूहरू उपस्थित नहुने चेतावनी उनीहरूले दिएका छन्।
शुक्रबार समितिको बैठकको एजेन्डा बनेपास्थित सुकुम्वासी होल्डिङ सेन्टरको अनुगमनबाट देखिएका विषयमा पूर्वाधार विकास मन्त्रालयसँग छलफल रहेको थियो।
बैठक सुरू भएपछि पत्रकारहरूलाई तस्बिर खिच्न दिएर बाहिर निकालिएको थियो। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल केहीबेर छलफलमा बसेर निस्किएका थिए।
बन्द कोठाको बैठक र मन्त्रीविनाको छलफलमा नबस्ने भन्दै सांसदहरू बैठकबाट बाहिरिएका थिए। छलफलमा केहीबेर सहभागी भएका कांग्रेस सांसद अर्जुननरसिंह केसीले बैठकमा मन्त्री चाहिएको भन्दै कर्मचारीबाट जवाफ नखोजेको बताएका थिए।




