एमालेमा राष्ट्रपति बन्‍न आधा दर्जन आकांक्षी

हिमाल प्रेस १२ पुष २०७९ १३:४७
472
SHARES
एमालेमा राष्ट्रपति बन्‍न आधा दर्जन आकांक्षी

काठमाडौँ– सत्ताको सिक्का आफूपट्टि पल्टिएसँगै नेकपा एमालेमा महत्त्वपूर्ण पदका आकांक्षी ह्वात्तै बढेका छन्।  राज्यका महत्त्वपूर्ण पदमा ‘शून्य’ हुने भय रोक्दै अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा समर्थन गर्ने जनाएसँगै ठूला पदका लागि तँछाडमछाड बढेको हो।

एमालेले राष्ट्रपति र सभामुख पाउने सहमति छ। सहमतिअनुसार एमाले र माओवादीबीच आधाआधा (अढाई/अढाई वर्ष) कार्यकाल प्रधानमन्त्री/सभामुख पाउनेछन्। आकांक्षी बढेसँगै नेतृत्वमा कसलाई राष्ट्रपति बनाउने अन्योल थपिएको छ। यी हुन् राष्ट्रपतिका आकांक्षी :

सुवास नेम्बाङ

लामो समय सभामुख र संविधानसभा अध्यक्ष भएका सुवास नेम्बाङ राष्ट्रपति पदका प्रबल दाबेदार हुन्। उनी एमाले–माओवादी गठबन्धनको सरकार बन्नुअघि पनि उनी राष्ट्रपति पदका दाबेदार थिए।
एमाले उपाध्यक्ष नेम्बाङ राष्ट्रपतिको तीव्र लबिङमा रहेको उनी निकट नेताहरू बताउँछन्। सभामुख र मन्त्री पनि बनिसकेपछि अब उनी राष्ट्रपति बनेर राजनीतिक अवकाश लिने दाउमा छन्।

नेम्बाङ पछिल्लो समयमा एमाले–माओवादी मिलाउन महत्त्वपूर्ण भूमिका खेलेका व्यक्ति हुन्। उनलाई अध्यक्ष केपी शर्मा ओलीले पनि राष्ट्रपति पदका लागि वचन दिइसकेको स्रोत बताउँछ। तर पछिल्लो समय अध्यक्ष ओली नेम्बाङलाई राष्ट्रपतिभन्दा सभामुख बनाउने सोचाइमा छन्। एमालेका एक नेता भन्छन्, ‘नेम्बाङलाई सभामुखको धेरै अनुभव छ। राष्ट्रपतिमा अन्य व्यक्ति पनि हुन सक्छन्।’

ती नेताका अनुसार सभामुखमा ओलीले नेम्बाङ जतिका अन्य व्यक्ति देखेका छैनन्। ‘अबको सभामुख ज्यादै स्ट्रङ हुनुपर्नेछ। माओवादीको सरकार छ। प्रतिपक्षी र सरकारबीच सन्तुलन कायम राख्न पनि सभामुखको भूमिका हुन्छ,’ ओलीको भनाइ उधृत गर्दै एमालेका ती नेताले भने, ‘यसका लागि नेम्बाङ राष्ट्रपति भन्दा सभामुख बन्न उचित हुन्छ।’

नेम्बाङ भने राष्ट्रपति बन्ने अडानमा छन्। उनी लामो समय सभामुखको भूमिका रहेकाले अब नबस्ने बताउँछन्। नेम्बाङ दुई कार्यकाल संविधानसभाको अध्यक्ष र एक कार्यकाल सभामुख भएका छन्। २०६२/६३ को पुनःस्थापित प्रतिनिधिसभाका सभामुख हुन्। यस्तै २०६४ को निर्वाचनपछिको पहिलो संविधानसभा र २०७० पछिको दोस्रो संविधानसभाका अध्यक्ष पनि हुन्।

अष्टलक्ष्मी शाक्य

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य अघिल्लो कार्यकालकै राष्ट्रपतिकी आकांक्षी हुन्। त्यसबेला अध्यक्ष ओली शाक्यप्रति उदार नदेखिँदा विद्यादेवी भण्डारी दोहोरिन पुगिन्। संवैधानिक रूपमा अब भण्डारी राष्ट्रपतिमा तेहेरिन पाउँदिनन्।

शाक्यले व्यक्तिगत चाहना पार्टी नेतृत्वमा राखे पनि सार्वजनिक रूपमा राष्ट्रपतिबारे बोलेकी छैनन्। ‘पार्टी नेतृत्वले जे निर्णय गर्छ। त्यही गर्छु,’ शाक्यले हिमाल प्रेससँग भनिन्, ‘पार्टीको निर्णय मान्नु मेरो दायित्व हो। पदका लागि कहिल्यै बहस गरिनँ र गर्दिन।’ शाक्य एमालेमा लामो समय पार्टी राजनीति गरेकी व्यक्ति हुन्। भूमिगतकालबाटै राजनीतिमा होमिएकी उनी खारिएकी नेत्री मानिन्छन्।

नवौँ महाधिवेशनबाट तत्कालीन नेता माधव नेपालको कित्तामा खुलेपछि ओली उनीप्रति रुष्ट भएका थिए। विपक्षमा उभिएको भन्दै अध्यक्ष ओलीले उनलाई कुनै लाभको पद दिन चाहेनन्।

शाक्य बागमती प्रदेशको पहिलो मुख्यमन्त्री बन्न खोज्दा ओलीले आफ्ना प्यानलका डोरमणि पौडेल अघि सारे। तर नेकपा एमाले विभाजन हुँदा शाक्य एमालेमै रहिन्।

उनी पार्टी नेतृत्वको सरकार जोगाउन बागमतीको मुख्यमन्त्री पनि बनिन्। तर सरकार टिकेन र विश्वासको मत पाउने सम्भावना नदेखेपछि राजीनामा दिइन्। उनी हालसम्मकी एक मात्र महिला मुख्यमन्त्री हुन्।
यो चुनावमा शाक्यलाई ओलीले चुनाव लड्न आग्रह गरेका थिए। तर नयाँलाई प्राथमिकता दिन भन्दै शाक्य चुनाव लड्न तयार भइनन्। एमाले स्रोतका अनुसार एमाले नेतृत्वले शाक्यलाई राष्ट्रपति बनाउने नभए प्रदेश प्रमुख बनाउने आश्वासन दिएको छ।

ईश्वर पोखरेल

एमालेको पोल्टामा राष्ट्रपति पर्ने देखिएपछि एकाएक आकांक्षा देखाएका पात्र हुन् ईश्वर पोखरेल। पोखरेल ओली निकट नेता भए पनि हालकी राष्ट्रपति भण्डारीको जोड छ।

‘उहाँ स्वाभाविक आकांक्षी हो। उहाँ (कोके (कार्डिनेसन केन्द्र) देखिकै वामपन्थी नेता हो,’ पोखरेल निकट स्रोत भन्छ, ‘अहिलेका आकांक्षीमध्ये सबैभन्दा सशक्त उहाँ नै हो।’ उनी एमालेका दुई कार्यकालका महासचिव हुन्। एमालेको दोस्रोस्तरका नेतामा पोखरेल पर्छन्। उनले निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ५ मा प्रतिनिधिसभामा हारेका छन्। उपप्रधानमन्त्री भइसकेका उनी अब राष्ट्रपति बन्ने आकांक्षामा रहेकाे नेताहरू बताउँछन्।

अमृत बोहरा

राष्ट्रपतिका अर्का आकांक्षी अमृत बोहरा हुन्। लामो समयदेखि एमाले राजनीतिमा सक्रिय उनी पूर्वमन्त्रीसमेत हुन्। २०६४ को चुनावमा पार्टीले हार व्यहोरेपछि तत्कालीन एमाले महासचिव माधवकुमार नेपालले राजीनामा दिँदा बोहरा कार्यवाहक महासचिव बनेका थिए। बोहराले एमाले अनुशासन आयोगको अध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन्। पार्टी नेतृत्वमा ओलीको वर्चस्व भएपछि बिस्तारै किनारा लागेका नेताका रूपमा चिनिन्छन्। त्यसैले उनले राष्ट्रपतिका लागि आकांक्षा देखाएको एमालेका एक नेता बताउँछन्। एमाले नेत्री शाक्य र बोहरा पतिपत्नी हुन्।

युवराज ज्ञवाली

राष्ट्रपतिका अर्का आकांक्षी एमाले उपाध्यक्ष युवराज ज्ञवाली हुन्। एमालेका विभिन्न तहमा बसेर काम गरिसकेका उनले पनि राष्ट्रपतिका लागि दाबी गरेको एक नेताले बताए। उनी पनि विगतमा एमालेमा माधव नेपाल निकट मानिन्थे। नेपालले पार्टी विभाजन गर्दा एमालेमै रहे।

रामबहादुर थापा ‘बादल’

एमाले उपाध्यक्ष माओवादी पृष्ठभूमिका नेता हुन्। उनी कुनै बेला माओवादी लडाकुका कमान्डर थिए। नेकपा विभाजन हुँदा उनले एमाले रोजे। तत्कालीन राष्ट्रियसभा सदस्य उनी हाल संसदीय फाँटका कुनै पदमा छैनन्। राष्ट्रियसभामा दोहोरिन एमालेमा उम्मेदवारी दिए तर हारे। अहिले बादल एमालेमा निष्कृय जस्ता छन्। एकपटक राष्ट्रपति भएर बिदा हुने उनको आकांक्षा रहेको उनी निकट स्रोत बताउँछ।

प्रकाशित: १२ पुष २०७९ १३:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =