स्पेनिस फुटबल टिमलाई राजदूत ढकालले गरिन् बिदाइ

हिमाल प्रेस ११ पुष २०७९ १८:५२
स्पेनिस फुटबल टिमलाई राजदूत ढकालले गरिन् बिदाइ

काठमाडौँ- नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्नका लागि स्पेनिस फुटबल टिम कासेरेन्यो सिपीको ५० सदस्यीय टोली सोमबार मड्रिडबाट काठमाडौंका लागि उडेको छ। कतार एयरको विमानबाट टोली दोहा हुँदै मंगलबार बिहान सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ। विमानस्थलबाट टोली सोझै पोखराका लागि उड्नेछ।

पोखरा र काठमाडौँमा स्थानीय टिमसँग एक/एक मैत्रीपूर्ण खेल खेल्न आउन लागेको स्पेनिस लिग संरचनाको चौँथो डिभिजनको टोलीलाई सोमबार मड्रिड विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत डा. सर्मिला पराजुली ढकालले बिदाइ गरिन्। बिदाइको अवसरमा राजदूत डा. ढकालले टिमको सखुद नेपाल बसाईको कामना गर्दै दुई देशको खेलकुदलाई एक-अर्कासँग जोड्ने प्रयासमा यो पहिलो पाइला हुने विश्वास व्यक्त गरिन्।

‘नेपाल एउटा शान्तिप्रेमी देश हो। नेपालले सधै विश्वमा शान्तिको सन्देश प्रवाह गर्दै आएको छ। नेपाल सरकार शान्तिका लागि गरिने सबैखाले प्रयासमा सहयोग गर्न सधै तत्पर छ,’ बिदाइका क्रममा राजदूत डा. ढकालले भनिन्, ‘तपाईंहरूको यो भ्रमणले नेपाल र स्पेनको सम्बन्धले नयाँ उचाइ हाँसिल गर्नेछ।’

स्पेनस्थित नेपाली राजदूतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौँ जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी गार्डेन फाउन्डेसनले कासेरेन्योको नेपाल भ्रमण आयोजना गरेको हो। स्पेनिस कोडा डेल रेको अन्तिम ३२ अन्तर्गत जनवरी चारमा रियाल मडिर्डसँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेको कासेरेन्योले नेपाल भ्रमणमा हुने दुई खेललाई त्यसको अभ्यासका रुपमा प्रयोग गर्ने योजना बनाएको छ।

‘शान्तिका लागि फुटबल’को नाराका साथ नेपालबाट सम्पूर्ण विश्वलाई शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यमा हुन लागेको मैत्रीपूर्ण भ्रमणमा कासेरेन्योले गण्डकी ११ र काठमाडौँ ११ सँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ। नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान अनिल गुरुङ कप्तानीमा रहने गण्डकी ११ को प्रशिक्षणको जिम्मेवारी राजेन्द्र तामाङले पाएका छन्। टोलीमा प्रदेशका अन्य राष्ट्रिय खेलाडीहरूको सहभागिता रहनेछ।

यसैगरी काठमाडौं ११ को टिम राष्ट्रिय टोलीका अर्का पूर्वकप्तान विराज महर्जनको नेतृत्वमा रहनेछ। काठमाडौं टोलीको प्रशिक्षक मेघराज केसी हुनेछन् भने टिममा काठमाडौंमा रहेका अन्य राष्ट्रिय खेलाडीहरू समावेश छन् । कासेरेन्योले बुधबार पोखरा रंगशालामा गण्डकी ११ तथा बिहीबार दशरथ रंगशालामा काठमाडौं ११ सँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ। क्रिसमस मनाएर काठमाडौं आउने टोली दुई खेललगत्तै नयाँ वर्ष मनाउन स्पेन फर्किने आयोजक लुम्बिनी गार्डेन फाउन्डेसन नेपालका अध्यक्ष तथा लुम्बिनी गार्डेन फाउन्डेसन स्पेनका महासचिव एकराज गिरीले जानकारी दिए।

प्रकाशित: ११ पुष २०७९ १८:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 15 =