पोखरामा काठमाडौँको कथा

हिमाल प्रेस ११ पुष २०७९ १३:१५
6
SHARES
पोखरामा काठमाडौँको कथा

पोखरा- नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौँमा जन्मिए, काठमाडौँकै हावापानीमा हुर्किए। लेखक बुद्धिसागर कर्णालीमा जन्मिए, त्यहीँको माटोमा बढे, पढे। यस्तो पृष्ठभूमिले काठमाडौँलाई हेर्ने यी दुईको नजर फरक हुने नै भयो। नेता थापा र लेखक बुद्धिसागरले नेपाल लिटरेचर फेस्टिभलको चौथो दिन हिजो, आइतबार साँझ काठमाडौँसँगको यस्तै फरक अनुभूति साटे।

कथा काठमाडौँ शीर्षकमा भएको कुराकानीमा बुद्धिसागरले आफू पहिलो पटक काठमाडौँ सहर प्रवेश गर्दाको समय सम्झिँदै भने, मेरो एसएलसीको मार्कसिटमा एउटा अक्षर छुटेछ। अनि म त्यो चपाईमा छुटेको एउटा पि थप्न आएको हुँ। मलाई मेरो त्यो पि छुट्नु नै म यहाँ पुग्नु हो जस्तो लाग्छ। मभन्दा अगाडि मेरो परिवारबाट एक जना दाइ काठमाडौँ जानु भएको थियो, उहाँको मानसिक समस्या भयो। अनि हाम्रो परिवारमा चपाईहरू काठमाडौँ जान हुन्न बौलाउँछन् भन्ने भयो।

साथै एक जना सुभचिन्तक साथीले आफूलाई नेपाली साहित्यको गगन थापा भनेको र पहिलो पटक थापाको नाम त्यतिबेलै सुनेको पनि उनले बताए। आफ्ना बाबुको काठमाडौँ आउँदाको कथा र यहाँको भोगाइ बुद्धिसागरसँग बढी मिल्ने बताउँदै गगनले भने, ‘मलाई कसैले घर कहाँ भन्यो भने म काठमाडौँ भन्छु। मेरो बाले सोलुखुम्बु भन्नुहुन्छ। घर भनेको एउटा नेटवर्क पनि हो, बाल्यकालको कल्पनाशीलताको परिवेश पनि हो। घर भन्ने बित्तिकै म मेरो बाल्यकाल, खेलेको खेत मेरा आफ्ना कुरा सम्झन्छु। मेरा बासँग त्यो सबै सम्झना सोलुखुम्बुको छ।’

काठमाडौँ भनेको एउटा सहरको नाम मात्रै नभएर प्रवृत्तिको रूपमा आफूले बुझ्ने गरेको बुद्धिसागरले बताए।  काठमाडौँको बारेमा मैले सुनेको तीन चिज मात्रै थियो। एउटा रत्नपार्क, अर्को धरहरा र अर्को अशन भन्ने ठाउँ छ।उनले भने, ‘सबै कविहरूले आफ्नोआफ्नो तरिकाले व्याख्या गर्नुहुन्छ मेरो लागि काठमाडौँ अवसर चाहिँ हो। काठमाडौँ सहरको नाम भए पनि यो प्रवृत्ति हो जस्तो लाग्छ। जुन हामी बाहिरबाट जानेहरूले नै बनाएको हो।’

काठमाडौँकै परिवेशको कथा रहेको बुद्धिसागरको भर्खरै प्रकाशित उपन्यासको प्रसंग सुरु गर्दै गगनले सोधे, ‘यो पढिसकेपछि सहरमा अवसर छैन कि, दुखैदुख मात्रै छ कि जस्तो किन लाग्यो?’ ‘म आफूले ‘पर्सनल नजरिया’ले देखेको चिज गर्छु। जस्तो एक्लोमा कुनै नेवार पात्र छैन। किनभने काठमाडौँमा मेरो संगत नै भएन।’ गगनको प्रश्नलाई सम्बोधन गर्दै बुद्धिसागरले अगाडि भने, ‘काठमाडौँ त्यस्तो क्रुर छैन। अवसर सबैले पाउँछन् कसैले क्यास गर्छन्, कसैले सक्दैनन्। काठमाडौँ एउटा स्प्रिङ जस्तो हो, तपाईको वजन चाहिँ हुनुपर्‍यो।’

गगनले काठमाडौँ मुम्बई, न्यूयोर्कजस्तो बस्नयोग्य सहर नरहेको भन्दै सपनाको सहर नाम दिएर काठमाडौँलाई भारी बोकाइरहेका त छैनौँ भन्ने जिज्ञासा राखे।गगनलाई सम्बोधन गर्दै बुद्धिसागरले भने, ‘काठमाडौँमा अवसर छ जस्तो किन लाग्छ भने सबै चिज यहीँ छ। काठमाडौँमा जे छ त्यो सबै सहरहरुमा फैलिनुपर्छ जस्तो लाग्छ तर त्यो असम्भव छ।’

काठमाडौँभित्र थुप्रै काठमाडौँ बनेको र अब काठमाडौँ कसको हो? भन्ने अर्थ राजनीतिक प्रश्न सुरु भएको गगनले बताए। आफ्नो वडामा रहेको स्वास्थ्य केन्द्रको उदाहरण दिँदै उनले भने, मेरो वडाका वडाध्यले प्राप्त गरेको मत २ हजार हो। १०, १२ हजार मतदाता हुनुहुन्छ। तर त्यहाँ बसोबास गर्ने मान्छे एक लाख हाराहारी होलान्। कहिलेकाहीँ मैले यो सहरी संरचना कसको लागि सञ्चालन गर्ने हो? भन्नुहुन्छ। त्यहाँको रजिष्टर जनसंख्या १० हजार छ, जबकि मान्छे त बस्छन्। त्यो सहरको स्वास्थ्यको सुविधा घर हुनेले मात्र पाउने हो? भाडामा बस्नेले नपाउने हो? अथवा भाडामा पनि बस्न नपाउनेले पाउने कि नपाउने? सहर कसको हो? काठमाडौँ कसको हो? तपाईंलाई के लाग्छ?

काठमाडौँमा म यहीँ छु भनेर देखाउने प्रमाण केही छैन। म तीनवटा काठमाडौँ देख्छु। एउटा त्यहीँको स्थानीय जसको घर छ। अर्को पछि गएर घर बनाएका र अर्को पछि गएर घर बनाउने सपना बोकेका। बुद्धिसागरले भने, ‘सामान्य हिसाबमा जसको घर छ काठमाडौँ उसैको होला भनिन्छ। समग्रमा काठमाडौँ बिहानदेखि बेलुकासम्म पसिना बगाउने सबैको हो।’

आफू काठमाडौँ आउँदा विशालनगरको हिँड्ने भ¥याङ देखेर छक्क परेको प्रसंग जोड्दै बुद्धिसागरले काठमाडौँमै जन्मे हुर्केका गगनलाई केके कुराले चकित बनायो भन्ने जिज्ञासा राखे। गगनले भने, ‘सायद पहिलो पटक मोबाइलले छक्क गरायो होला। हाम्रोमा टेलिभिजन हुने घर थियो, टेलिफोन हुने घर थियो। यसरी हेर्दा धेरै पटक सप्राइज दियो।’ साथै आफूले हेर्दा हेर्दैै काठमाडौँका खोली बिग्रेर ध्वस्त भएको पनि उनले बताए।

आफू काठमाडौँ आएपछि हेर्दाहेर्दै भुइँ कुहिरो र रुख पनि हराएको बताउँदै पार्क, रुख, चरा, खोला आदिका लागि मानिसले चासो दिने छोडेकोे बुद्धिसागरले बताए। साथै आवश्यकता तथा पाउनुपर्ने अधिकारका बारेमा धेरैलाई थाहा नभएको हो कि भन्ने जिज्ञासा पनि राखे। जसमा काठमाडौँमा चराको विषय, रुखको विषय आलोचना गर्नुपर्दा उठ्ने तर सार्वजनिक विमर्शको विषय कहिल्यै पनि बन्ने नगरेको कुरा गगनले जोडे।

पञ्चायत कालमा काठमाडौँ उपत्यका संरक्षणका लागि भएको प्रयास सम्झँदै गगनले भने, ‘काठमाडौँको यो अवस्था हुनु हाम्रो कलेक्टिभ फेलियर हो। कहाँनेर गल्ती भयो जस्तो लाग्छ भने २०३५ सालमा काठमाडौँको सहरीकरणमा ध्यान दिएर अहिले नै व्यवस्थापनका लागि केही गरिएन भने अबको २०, २५ वर्ष पछिको काठमाडौँको हालत वेहाल हुन्छ भन्ने ठानेर डा. प्रकाशचन्द्र लोहनीले काठमाडौँ उपत्यका विकास प्राधिकरणको परिकल्पना गरेर त्यसको ऐन पनि पारित भएको रहेछ। त्यतिबेला काठमाडौँको नदी, वन, वातावरण सबै कुरालाई एउटै युनिटको रूपमा हेरे कसरी काठमाडौँको विकास गर्ने भनेर सोचिएको रहेछ।’

तर, २०४६ सालको परिवर्तन पछाडि धेरै अवसर आएको र एउटा सानो समय काठमाडौँले धेरै मानिसलाई तानेको उनले बताए। साथै त्यो बेलामा पञ्चायतका सबै कुरा छोडेर जानुपर्छ भन्ने क्रममा काठमाडौँ उपत्यका विकास प्रधिकरणको बनिसकेको ऐन पनि छुट्नु काठमाडौँ अहिलेको अवस्थामा आउनुको एउटा मुख्य कारण रहेको पनि उनले बताए। काठमाडौँको खोलानाला, वातावरण सबैलाई सँगै राखेर विकासको मोडल बनाउनुपर्ने र अबको आफ्नो जोड त्यसैमा हुने पनि गगनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − five =