मिलान्था फेरि चम्किँदा लुम्बिनीको दोस्रो जित

हिमाल प्रेस १० पुष २०७९ १३:०७
14
SHARES
मिलान्था फेरि चम्किँदा लुम्बिनीको दोस्रो जित

काठमाडौँ- नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्सले लगातार दोस्रो जित दर्ता गरेको छ। मंगलबारको पहिलो खेलमा लुम्बिनीले विराटनगर सुपर किंग्समाथि तीन रनको रोमाञ्चक जित हात पारेको हो। लुम्बिनीले शनिबार आफ्नो पहिलो खेलमा फारवेस्ट युनाइटेडलाई पन्छाएको थियो।

कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० आभेरमा ६ विकेट गुमाएर १५७ रनको योगफल तयार पारेको थियो। जवाफी ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेटको क्षतिमा १५४ रन मात्र जोड्न सक्यो।

लुम्बिनीले जित लय जारी राख्दा श्रीलंकन ब्याट्सम्यान लाहिरु मिलान्थाले फेरि एक पटक अर्धशतक प्रहार गरे। विराटनगरविरुद्ध उनले ६३ बलमा नटआउट ८० रन जोडे। जसमा पाँच चौका र चार छक्का सम्मिलित थिए। २८ वर्षीय मिलान्थाले फारवेस्ट युनाइटेडविरुद्ध ६० रन बनाएका थिए।

लुम्बिनीको जितमा कुशल भुर्तेलले २६, कप्तान दीपेन्द्र सिंह ऐरीले १६ र विपुल शर्माले ११ रनको योगदान गरे। लिगमा पहिलो खेल खेलिरहेको विराटनगरका लागि नन्दन यादव, हुसेन तलाट, शहबाब आलम, सिकन्दर राजा आन्द्रे म्याककर्थीले एक–एक विकेट लिए।

मध्यक्रमका हुसेन तलाटले २४ बलमा ३९ रन बनाए पनि विराटनगरको हार टरेन। उनले २४ बलमा तीन चौका र दुई छक्का प्रहार गरे। उत्तराद्र्धमा विराटनगरको इनिङ्स सम्हाल्ने प्रयास पृथु बास्कोटाले गर्ने प्रयास गरेका थिए। उनले १८ बलमा २० रन जोडे।

त्यसअघि गौरहान्सु शर्मा र अर्जुन साउदले विराटनगरलाई मजबुत सुरुवात दिलाउन सकेनन्। यी दुईले पहिलो विकेटका लागि नौ रनको मात्र साझेदारी गर्नसके। नेपाली राष्ट्रिय टिमका रोहित पौडेलले २५ र सिकन्दर राजाले १७ रनको योगदान गरे। त्यसैगरी कप्तान आन्द्रे म्याककर्थी र विवेक यादवको नाममा अविजित ११ र १२ रन रह्यो।

बलिङतर्फ लुम्बिनीका लागि किशोर महतोले १८ रन खर्चिएर दुई विकेट लिए। त्यसैगरी पाट ब्राउन, गसल्शन झा, दीपेन्द्र सिंह ऐरी र सागर ढकालले एक–एक विकेट हात पारे।

प्रकाशित: १० पुष २०७९ १३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 8 =