गुल्मी : च्याउ खेतीबाट मासिक दुई लाख कमाउँदै निखिल

हिमाल प्रेस ९ पुष २०७९ १०:४५
10
SHARES
गुल्मी : च्याउ खेतीबाट मासिक दुई लाख कमाउँदै निखिल

गुल्मी- केही गर्छु भन्ने इच्छा शक्ति भयो भने न त पैसाले रोक्दो रहेछ, न त उमेरले छेक्दो रहेछ। विश्वास पनि अरूले गर्न नपर्ने रहेछ। जब आफूले आफ्नो इमान्दारिता, असल कर्म र सक्रियतामा विश्वास गरे पुग्ने रहेछ।

गुल्मीको चन्द्रकोट गाउँपालिका–३ का निखिल खत्रीले आफूले अध्ययन गर्दा सिकेअनुसारको व्यवसाय गर्छुभन्दा कसैले विश्वास गरेनन्। घरपरिवार र छिमेकीले त्योभन्दा विदेश गएर धन कमाउन सुझाव दिए।

अहिले २० वर्ष पुगेका निखिल डेढ वर्षअघि आफूमात्र अघि सरेर च्याउको बीउ उत्पादनमा लागे। दुई लाख रुपैयाँ लगानीमा सुरु गरिएको बीउ उत्पादनमा पाँच लाख आम्दानी भयो। त्यसपछि निखिललाई घरपरिवार र छिमेकीले पनि विश्वास गर्न थाले।

उनले निखिल मल्टीप्रपोज एग्रो फार्म दर्ता गरेर चन्द्रकोट–५ ग्वाघाको धुँवाखर्कमा च्याउ खेती गरेका छन्। दश रोपनी जग्गा लिजमा लिएर २० ठूला टनेलमा खेती गरेका उनले च्याउलाई ५० टनेलमा विस्तार गर्दै छन्।

आगामी चैतसम्म ३० टनेल थप्ने लक्ष्य छ। वार्षिक एक लाख रुपैयाँ तिरेर जग्गा लिजमा लिएका निखिलले च्याउ खेतीमा २५ लाख रुपैयाँ लगानी गरेका छन्। उनले बैंकबाट ऋण लिएर लगानी गरिरहेको बताएका निखिले चन्द्रकोट–४ मा रहेको उदय माध्यमिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म कृषिसम्बन्धी पढे।

त्यतिखेर प्रयोेगात्मक सिकाइको क्रममा उनी च्याउ खेती गर्नेमा बढी आकर्षित छन्। कक्षा १२ सकेपछि थप अध्ययनभन्दा पनि आफूले सिकेअनुसार व्यवसाय गर्छु भन्नेमा निखिल प्रेरित भए।

डेढ वर्षअघिबाट सुरु गरिएको च्याउ खेतीबाट अहिलेसम्म औसतमा मासिक दुई लाख रुपैयाँ आम्दानी भएको फार्म सञ्चालक निखिलको भनाइ छ। ‘च्याउ खेतीबाट निरन्तर आम्दानी हुँदैन, मौसम अनुसार उत्पादन भएकालाई बजार पुर्‍याउनुपर्छ’, उनी भन्छन्, ‘वर्षभरलाई औसतमा हेर्दा मासिक दुई लाख रुपैयाँ आम्दानी हुन्छ’, उनीले भन्छन्। आम्दानी भएको रकम च्याउ खेतीमै लगानी भइरहेको छ। फार्मका २० टनेलमा अहिले सिताके र कन्या च्याउ छन्।

मौसममा दैनिक आठ क्विन्टल र अघिपछि दैनिक एक क्विन्टल च्याउ बुटवल बजारमा निर्यात हुन्छ। औसतमा तीन क्विन्टल दैनिक बिक्री हुने उनले बताए। च्याउ प्रतिकिलोग्राम एक सय ५० रुपैयाँ देखि दुई सयसम्म पर्छ।

प्रकाशित: ९ पुष २०७९ १०:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =