हेलम्बु-याङ्री-लार्के सुरुङमार्ग बनाउन प्रस्ताव

हिमाल प्रेस २२ भदौ २०८० ६:४४
4
SHARES
हेलम्बु-याङ्री-लार्के सुरुङमार्ग बनाउन प्रस्ताव

सिन्धुपाल्चोक- हेलम्बु गाउँपालिका–१ अम्बथानबाट पाँचपोखरी गाउँपालिकाको छिम्तीसम्म सुरुङमार्ग बनाउन प्रस्ताव गरिएको छ।

मेलम्ची खानेपानी विकास समिति बोर्ड सदस्यसमेत रहेका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बुबाट–याङ्री र याङ्रीबाट हेलम्बु यातायात आवतजावतका लागि यो प्रस्ताव राखेका हुन्।

मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको कार्यक्रमअन्तर्गत याङ्री र लार्केको पानी मेलम्ची सुरुङमै थप गरेर काठमाडौँ ल्याउने तयारी छ। सोही प्रयोजनका लागि थप नौ किलोमिटर ‘टनेल’ निर्माण गर्दा हेलम्बुको मुहानबाट याङ्री मुहानसम्मको भागमा खानेपानीको टनेल सँगसँगै हेलम्बुबाट याङ्री र याङ्रीबाट हेलम्बु यातायात आवतजावतका लागि सहज हुने उनले बताए।

याङ्री र लार्केको पानी काठमाडौँ लैजान निर्माण हुने टनेल डिजाइन गर्दा पानीसँगै यातायात आवतजावतका लागिसमेत सहज हुने गरी बनाउन उनले आग्रह गरेका हुन्।

अध्यक्ष शेर्पाले यातायातसहितको टनेल निर्माण गरिएमा हेलम्बु र पाँचपोखरी क्षेत्र दुवैतिरको पर्यटन प्रवर्द्धन र विकासमा टेवा पुग्ने बताए दुईवटै पालिकाको छोटो दूरी र वैकल्पिक मार्गका रूपमा सो मार्ग प्रयोग गर्न सकिने उनको भनाइ छ।

यसका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको र विभिन्न बैठकमा समेत आफूले कुरा उठाएको अध्यक्ष शेर्पाले बताए। ‘एडीबीले टनेलको डिजाइन गर्दा यातायात आवतजावतसहितको गर्नुपर्छ, यसले गर्दा यस भेगको पर्यटन प्रवर्धनमा मात्र नभएर विकासमा समेत टेवा पुग्छ’, उनले भने।

यो प्रस्तावका लागि पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामासँग पनि सल्लाह भएको उनले जानकारी दिए। यो प्रस्तावमा मेलम्ची खानेपानी विकास समिति पनि सकारात्मक रहेको बताइएको छ।

प्रकाशित: २२ भदौ २०८० ६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 17 =