सिन्धुपाल्चोक हत्याकाण्ड : रामबहादुरको हत्यामा पत्नीकै संलग्नता

हिमाल प्रेस १० चैत २०८० ७:४०
32
SHARES
सिन्धुपाल्चोक हत्याकाण्ड : रामबहादुरको हत्यामा पत्नीकै संलग्नता

पोखरा- सिन्धुपाल्चोक जुगल गाउँपालिका-३, गुम्दाका रामबहादुर तामाङको हत्याकाण्डमा उनकै पत्नीको संलग्नता रहेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पत्रकार सम्मेलन गरी ३६ वर्षीय रामबहादुरको हत्याकाण्डमा उनकी श्रीमतीसहित ४ जनालाई सार्वजनिक गरेको हो।

कास्कीको मादी गाउँपालिका-१ सिक्लेसमा गत ३ चैतमा रामबहादुरको शव फेला परेको थियो। केही समयअघि उनीसँग सम्बन्धबिच्छेद गरिसकेकी ३५ वर्षीया च्याङ्मा लामा तथा पेम्वा भनी चिनिने कान्छी लामाले सामान्य रिसईवीकै कारण उनको हत्या गर्न आफ्ना प्रेमीलाई सुपारी दिएको अनुसन्धानमा खुलेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएपी श्रवणकुमार बिकले अनुसन्धानपछि हत्याकाण्डमा मृतककै श्रीमती कान्छी लामा तामाङसहित ४ जनाको संलग्नता देखिएको जानकारी दिए।

उनका अनुसार हत्याकाण्डमा संलग्न हुनेहरुमा कान्छी लामासहित सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका १ का ३० वर्षीय धनबहादुर लामा भन्ने धन लामा, सिन्धुपाल्चोकै बलेफी गाउँपालिका ६ का १८ वर्षीय २ जना किशोरहरु पनि छन्।

मृतककी श्रीमती कान्छी लामा सिन्धुपाल्चोक ३ गुम्बा स्थायी घर भइ हाल साँगचोकगढी ५, चौतारा बजारमा डेरा गरी बस्दै आएकी थिइन्। उनीहरूमाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।

कास्कीको मादी गाउँपालिका-१ सिक्लेसमा टाउकोमा चोटपटक लागेको अवस्थामा एक जना पुरुषको शव भेटिएको खबरपछि कास्की प्रहरीले अनुसन्धान थालेको थियो। शव भेटिएको ३ दिनपछि मात्र शव उनै रामबहादुरको भएको यकीन गरेको हो।

प्रहरीका अनुसार रामबहादुर र पत्नी कान्छी लामा गएको ५÷६ वर्षदेखि छुट्टाछुट्टै बस्दै आएका थिए। रामबहादुरले अर्की ल्याएपछि कान्छीले बहुविवाहको मुद्दा लिएर अदालत गएकी थिइन्। अदालतको आदेशअनुसार कैद सजाय पाएका रामबहादुर कैद भुक्तान गरी निस्किएसँगै श्रीमतीले मार्ने योजना बनाएको अनुसन्धानको क्रममा खुलेको छ।

५ वर्षअघि नै रामबहादुरसँग चिनजानमा रहेका धन लामा त्यहाँ हाइड्रोपावरमा एक्स्काभेटर सहचालकरूपमा काम गर्थे। उनीहरूबीच काम गर्ने क्रममा रामबहादुरले विगतमा धनको टाउकोमा ढुंगा प्रहार गरेकोले रिसइवी समेत थियो। रामबहादुरकी पत्नी कान्छीले ‘पन्छाउनु पर्‍यो, पैसा दिन्छु’ भनेपछि धनसहितका ३ जना रामबहादुरसँगै पोखरा आएको प्रहरीले जनायो।

घटना विवरण अनुसार गत फागुन अन्तिम साता रामबहादुर बुवाआमासँग भेट गरी सिन्धुपाल्चोकको मेलम्ची हाइड्रोपावरमा काम गर्न जान्छु भनी निस्किएको र ३० फागुन राति काठमाडौंबाट अन्य साथीहरुसँग सिक्लेसस्थित रहेको हाइड्रोपारतर्फ काम गर्न भनी गएको खुलेको छ।

उनीहरु ३० फागुनको राति रात्रिबस चढेर पोखरातिर लागेका थिए। सिक्लेस जानेक्रममा उनीहरुले रक्सी सेवन गरेका थिए। १ चैतमा सिक्लेस हाइड्रो नजिक मादी १, तउरेनी आइपुग्दा रामबहादुरलाई धन लामासहित ३ जनाले टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको हो।

हत्यापछि शव सडकदेखि ३० मिटर तल भिरमा फालिदिएर भागेका थिए। त्यसपछि धन लामाले मृतककी श्रीमतीलाई फोन गरेर जानकारी दिएको तथ्यसमेत अनुसन्धानबाट खुलेको प्रहरीले जनायो। उनीहरूमध्ये श्रीमती कान्छीलाई सिन्धुपाल्चोक र धनसहित अन्य २ जनालाई काठमाडौंबाट पक्राउ गरिएको कास्की प्रहरीले जनायो।

रामबहादुरको हत्या गरेको देखेका २ जनालाई सूचना लिक नगर्न मृतककी श्रीमतीले इसेवा आइडीमार्फत ९० हजार जम्मा गरेको समेत पाइएको छ। उक्त रकम काठमाडौं गएर निकाली २०÷२० हजार अन्य २ जनालाई दिएको बाँकी ५० हजार धन लामा आफूले राखेको खुलेको छ।

प्रकाशित: १० चैत २०८० ७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 19 =