फेवा किनारमा १० औं लिटरेचर फेस्टिभल जारी

हिमाल प्रेस ७ पुष २०७९ १९:४९
12
SHARES
फेवा किनारमा १० औं लिटरेचर फेस्टिभल जारी

पोखरा– ‘शब्दशक्ति उत्सवको एक दशक’ भन्ने नाराका साथ नेपाल लिटरेचर फेस्टिभलको १० औं संस्करण पोखराको लेकसाइडस्थित बाराहीघाटमा सुरु भएको छ। लेखन पठन र कला साहित्य क्षेत्रका उल्लेख्य व्यक्तित्वहरूको उपस्थितिमा फेस्टिबल सञ्चालन भएको हो। फेस्टिभलको पहिलो दिन उद्घाटन सत्रमा काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार एवम् अर्थशास्त्री डा. अच्युत वाग्लेले विद्वत्प्रवचन दिए।

पुस ११ सम्म चल्ने फेस्टिबलले १ दशक यात्रा पार गरेको फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले बताए। ‘वर्षहरू बित्दै जाँदा यस फेस्टिभलको महत्त्व एक पर्वको रूपमा बढ्दै गएकोमा गर्व महसुस हुन्छ,’ उनले भने। गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठानलगायत निकाय र सर्वसाधारणले फेस्टिभलप्रति अपनत्व ग्रहण गरेकैले कार्यक्रमलाई प्रभावकारी रूपमा निरन्तरता दिन सकिएको भन्दै खुसी व्यक्त गरे।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेस्टिभललाई पोखराको गौरवको विषयको संज्ञा दिँदै कला साहित्यका यस्ता उत्सवको आयोजनामा आफूहरू सधैं साथ दिन तयार रहेको बताए। गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले पनि यस साहित्यिक महोत्सवको महत्त्वबारे चर्चा गर्दै गण्डकीको भाषा, संस्कृतिको प्रवर्द्धन तथा उत्थानका लागि बुकवर्म फाउन्डेसनसँगको सहकार्यलाई निरन्तरता दिने बताए।

पहिलो दिन बाल विकास विज्ञ डा. मीनाक्षी दाहालसँग ‘घरबाट स्कुलसम्म’ शीर्षकमा फिस्टेल एकेडेमीका कार्यकारी निर्देशक दिनकर नेपालले छलफल गरे। उनीहरूले बालबालिकाको विकासक्रममा अपनाउनु पर्ने संवेदनशीलतालगायत विविध पक्षहरूबारे अन्तर्क्रिया गरेका थिए। एउटै विद्यालयमा गइरहेका बालबालिकाले पनि आफ्नो वर्गअनुसार फरक कक्षा कोठा, फरक शिक्षकबाट शिक्षा लिनुपर्ने बाध्यताले उनीहरूमा वर्गीय चरित्र निर्माण सुरु हुने गरेको बताए।

कार्यक्रममा वरिष्ठ संगीतकार गोपाल योञ्जनका गीतहरूको सांगीतिक प्रस्तुतिसमेत भयो। उक्त कार्यक्रममा कवि नवराज पराजुलीले योञ्जनका कृतिहरू वाचन गरे। यस्तै उज्ज्वल सागर, बानिका प्रधानलगायत गायकहरूले उनको गीत गाए।

नेपालसहित विभिन्न देशका करिब २ सय साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्व उपस्थित फेस्टिबलमा ५० भन्दा बढी सेसन रहेको आयोजकले जानकारी दिएको छ।

फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलंकाली लेखक सेहान करुणातिलका, लेखक एवम् पत्रकार अक्षय मुकुल, सहप्राध्यापक एवम् लेखक सुकेतु मेहता, लेखक एवम् फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय चर्चित व्यक्तित्वको सहभागिता हुने आयोजकले जनाएको छ।

यस्तै नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, सिके राउत, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डा. भगवान कोइराला, मास्टरसेफ सन्तोष साह, पत्रकार एवम् लेखक विजय कुमार, लेखक सम्राट उपाध्याय, लेखक बुद्धिसागर, सुबिन भट्टराई, संगीतकर्मी रञ्जित गजमेर, अभिनेत्री स्वस्तिमा खड्का, पत्रकार रमा सिंह, गायिका झुमा लिम्बुसहित विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ।

फरक क्षमता भई अब्बल रहेका व्यक्तित्वहरू, दार्चुला, गोरखा मनाङका स्थानीय जनप्रतिनिधिलाई पनि कार्यक्रममा सहभागी गराइने फेस्टिभलका निर्देशक भारीले बताए। समृद्ध सहरका लागि भौतिक पूर्वाधारका साथै साहित्यको विकास हुनुपर्ने आयोजक संस्थाका सदस्य भरत कोइरालाले बताए।

अर्का सदस्य केशवशरण लामिछानेले फेस्टिभलले पोखरा साथै देशलाई नै सुसंस्कृत बनाउन सहयोग गर्ने उल्लेख गरे। फेस्टिभलको पूर्वसन्ध्यामा अघिल्लो दिन नवराज पराजुली र उज्ज्वल सागरको प्रस्तुति रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 17 =