चोरी हुन थाले रेलका पार्टपुर्जा

नेहा झा ६ पुष २०७९ १२:१०
16
SHARES
चोरी हुन थाले रेलका पार्टपुर्जा

जनकपुरधाम- भारतको जयनगरदेखि जनकपुरधामसम्म चल्ने न्यारो गेज रेललाई ब्रोडगेजमा परिणत गरिएको छ। सात वर्षसम्म बन्द यात्रुवाहक रेल सेवा आरम्भ पनि भइसकेको छ।

 यसअघि जयनगर-जनकपुरधाम-बिजलपुरासम्म चल्ने नेपाल रेल्वेका पुराना डिजेल इन्जिन तथा कोइलाका इन्जिनको संरक्षण हुन नसक्दा कबाडीमा परिणत भइरहेका छन्। ती पुराना इन्जिन खुला आकाशमुनि राखिएकाले पार्टपुर्जा चोरीसमेत भइरहेको छ।

ब्रोडगेज रेलमार्ग सञ्चालनमा आएसँगै पुराना इन्जिनको संरक्षणतर्फ राज्यले खासै चासो नदिँदा पुराना कोइलाबाट चल्ने इन्जिन लथालिंग अवस्थामा छन्। ब्रोडगेज निर्माण गर्नका लागि रेलसेवा बन्द गरिँदा पुराना इन्जिन, बोगी र अन्य महत्त्वपूर्ण पार्टपुर्जा  संरक्षण अभावमा खिया लागेर नष्ट भइरहेका छन्।

खजुरीमा रहेका पुराना इन्जिनको रेखदेखका लागि सैलुन कवारी र उत्तिमलाल पण्डित गरी दुई कर्मचारी खटिएका छन्। एक जनाको दिनको ड्युटी छ भने अर्कोको रातिमा। तर जनकपुरधामबाट २१ किलोमिटरको दुरीमा पर्ने खजुरी रेल्वे स्टेसनमा थन्काइएका सीता, विष्णु, ब्रह्मा, गोरखनाथ, पशुपतिनाथ, महावीर नामक रेल इन्जिनको संरक्षण हुन सकेको छैन।

२०५० सालसम्म कोइला इन्जिनले सेवा दिँदै आएको नेपाल रेल्वेलाई २०५१ सालमा भारत सरकारले १८ बोगीसहितको डिजेल इन्जिन सहयोग गरेपछि जनकपुरधाम-जयनगर रेल मार्गमा आधुनिक रेल सञ्चालनमा आएको थियो।

विश्वभर  विस्थापित भइसकेको कोइला इन्जिनलाई संरक्षण गरेर संग्रहालयको स्वरुप प्रदान गर्नुपर्ने आवाज पनि पटकपटक उठ्दै आइरहेको छ। पुराना इन्जिनलाई संरक्षण गर्न सकिए खजुरीलाई एउटा पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने स्थानीय सञ्चारकर्मी अवधेश कामतले बताए।

उनले स्थानीय जनप्रतिनिधिले समेत ती इन्जिनको संरक्षणमा पहल गर्नुपर्नेमा जोड दिए। रेलका पार्टपुर्जा संरक्षण र संग्रहालय निर्माणतर्फ कुनै निकायले ध्यान नदिपछि स्थानीय धनिकलाल दास चिन्तित छन्।

सरकारी स्तरबाट चासो नदेखाइएपछि खजुरीवासी स्वयं यसका लागि पहल गरिएको उनले बताए। नयाँ पुस्तालाई इतिहासबारे अवगत गराउनकै लागि भएपनि आफूहरु संग्रहालय निर्माणका लागि विभिन्न निकायमा पुगेर पहल सुरु गरेको उनले बताए। खजुरीमा नेपाल रेल्वेको १० बिघाभन्दा बढी जग्गा  छ। त्यो जग्गालाई उपयोग गरेर संग्रहालय निर्माण गर्न सकिने स्थानीयवासीको बुझाइ छ।

ती इन्जिन अन्यत्र लगिए कबाडीको मूल्यमा बिक्री हुने निश्चित रहेको नेपाल रेल्वेका कर्मचारी हेमबहादुर कटुवाल बताउँछन्। रेल्वेका पुराना संरचना जोगाउन संग्रहालय निर्माणका लागि आफूहरूले विभिन्न निकायसँग माग गर्दै आएको उनले बताए।

 रेल विभागका महाप्रबन्धक निरञ्जन झाले संग्रहालय निर्माणको कार्य सम्भाव्यता अध्ययन भइसकेको र छिट्टै संग्रहालय निर्माण प्रकृया अगाडि बढाइने जानकारी दिए। उनले भने, ‘रेल्वेको पुराना सम्पत्ति संरक्षण गर्नुपर्नेमा विभाग गम्भीर छ।’ उनले छिट्टै खजुरीमा संग्रहालय निर्माण गर्ने प्रकृया अगाडि बढाइने बताए। यसका लागि नेपाल सरकारले २ करोड रुपैयाँको बजेट समेत छुट्याएको उनी बताउँछन्।

प्रकाशित: ६ पुष २०७९ १२:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − eight =