भोजपुर : राई र किरातीबीच कठिन प्रतिष्पर्धा

हिमाल प्रेस ३० कार्तिक २०७९ ४:२७
भोजपुर : राई र किरातीबीच कठिन प्रतिष्पर्धा

भोजपुर– आसन्न प्रदेशसभा निर्वाचनका लागि भोजपुरमा एक जना नयाँ र तीन जना पुराना अनुहार चुनावी प्रतिस्पर्धामा छन्।

भोजपुरको प्रदेशसभा निर्वाचनमा गठबन्धन दल र नेकपा एमालेका उम्मेदवार बीचमा प्रतिस्पर्धा हुनेछ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतको गठबन्धन दलले प्रदेशसभा १ मा प्रदेश १ का मुख्यमन्त्री तथा समाजवादीका सचिव राजेन्द्र राईलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हरि राईलाई उम्मेदवार बनाएको छ। मुख्यमन्त्री राई अघिल्लो पटक पनि निर्वाचित प्रदेश सांसद छन् भने हरि राई नयाँ उम्मेदवार छन्।

यस्तै प्रदेशसभा २ तर्फका दुवै उम्मेदवार नयाँ छन्। सत्तागठबन्धनका उम्मेदवार विनोद वान्तवा कांग्रेसका जिल्ला सभापति पनि छन् भने एमालेका उम्मेदवार खड्ग कार्की प्रदेश कमिटी सदस्य छन्। विगतमा माओवादी केन्द्रमा आवद्ध कार्की नेकपा विभाजनपछि पुनः एमाले नै रोजेका थिए।

०७४ सालको प्रदेशसभा १ मा अहिलेका मुख्यमन्त्री राजेन्द्र राई विजयी भएका थिए भने प्रदेशसभा २ बाट पूर्वमुख्यमन्त्री शेरधन राई विजयी भएका थिए।

सत्तागठबन्धन र एमाले दुवै पक्षका उम्मेदवारले आफू विजयी हुने दाबी गरिरहेका छन्। प्रतिनिधिसभाका लागि भने गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सुदन किराती र एमालेका तर्फबाट एमालेका स्थायी कमिटी सदस्य शेरधन राई प्रतिस्पर्धामा रहेका छन्।

जिल्ला निर्वाचन कार्यालय भोजपुरकाअनुसार जिल्लाको कूल ८१ वटा वडामध्ये प्रदेशसभा १ मा ४० र प्रदेशसभा २ मा ४१ वडा पर्छन्।

जिल्लामा कूल एक लाख २३ हजार तीन सय ७९ जना मतदाता रहेका छन्। जसमा प्रदेशसभा १ मा ६४ हजार दुई सय ३७ र प्रदेशसभा २ मा ६९ हजार एक सय ४३ मतदाता छन्।

निर्वाचनका लागि चार सय ५८ नेपाल प्रहरी, नौ सय १० म्यादी प्रहरी र आवश्यकताअनुसार सशस्त्र र नेपाली सेना परिचालन गरिने जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ। जिल्लामा ८७ वटा मतदानस्थल कायम गरिएको छ। यहाँ दुई अस्थायीसहित एक सय ५५ वटा मतदान केन्द्र रहेका छन्।

प्रकाशित: ३० कार्तिक २०७९ ४:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 10 =