तस्बिर स्रोत : तत्कालीन युवराज वीरेन्द्रको सम्पादकत्वमा प्रकाशित रमझम साहित्यिक पत्रिकाबाट।
२०६५ सालमा नेपालमा राजतन्त्र अन्त्य भएपछि राजसंस्था अब इतिहास भइसकेको छ। कुनै बेला नेपालमा राजसंस्था हिन्दु धर्मको संरक्षक एवं प्रतीकका रूपमा कायम थियो। साथै देशभित्रका विभिन्न समुदायका चाडपर्वमा राजपरिवारका सदस्य प्रत्यक्ष सहभागी हुँदा नागरिकस्तरमा गौरवको अनुभूति गरिन्थ्यो। त्यसैले राजपरिवारका सदस्यले मनाउने चाडपर्वबारे नेपालीका लागि चासोको विषय हुन्थ्यो। अब ती कुरा पुस्तक र पत्रपत्रिकाका पाना अनि तस्बिरमा मात्रै सीमित छन्। यस्तैमध्ये एक हो– राजपरिवारमा आयोजना गरिएको भाइटीका समारोहको तस्बिर।
यहाँ ५६ वर्षअघि २०२३ सालमा राजपरिवारका सदस्यबाट नारायणहिटी राजदरबारमा मनाइएको भाइटीका समारोहको तस्बिर प्रस्तुत गरिएको छ। राजा महेन्द्रकी जेठी रानी इन्द्रराज्य लक्ष्मीको कोखबाट ६ जना सन्तानको जन्म भएको थियो। उनका तीन जना छोरा क्रमशः वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्र तथा तीनजना छोरीहरुमा क्रमशः शान्ति, शारदा र शोभा थिए।
उक्त सालको भाइटीका ग्रहण गरिसकेपछि युवराजधिराज वीरेन्द्र एवं अधिराजकुमार ज्ञानेन्द्र तीनजना शाहज्यादीहरु शान्ति, शारदा र शोभाहरूका साथमा उभिएको सामूहिक तस्बिर हो यो। तस्बिरमा कान्छा अधिराजकुमार धीरेन्द्र भने छैनन्। उनीबाहेकका ५ दिदीभाइ दाजुबहिनी छन्। राजपारिका यी सदस्यमध्ये तत्कालीन राजा वीरेन्द्र, अधिराजकुमारीद्वय शान्ति र शारदा तथा धीरेन्द्र शाहको दरबार हत्याकाण्ड (२०५८, जेठ २०) मा निधन भएको थियो।


