‘दिमाग खराब’ले म्यान अफ द म्याचलाई ५० हजार दिने

हिमाल प्रेस १३ कार्तिक २०८० १३:३३ | Monday, October 30, 2023
‘दिमाग खराब’ले म्यान अफ द म्याचलाई ५० हजार दिने

काठमाडौँ– फिल्म ‘दिमाग खराब’ टिमले आइसीसी टि-२० को एसिया छनोटमा खेलाडीलाई ५० हजार पुरस्कार दिने घोषणा गरेको छ।

साेमबा‍‍र (आज)देखि कीर्तिपुरस्थित क्रिकेट मैदानमा सुरु भएको टी-२० विश्वकप २०२४ अन्तर्गत क्रिकेटको एसियाली छनोटमा म्यान अफ द म्याच बन्ने खेलाडीलाई ५० हजार रुपैयाँ नगद पुरस्कार घोषणा गरेको हो। त्यस्तै आफ्नो कौशलले टिमलाई महत्त्वपूर्ण सहयोग गर्ने खेलाडीलाई ‘दिमाग खराब सेग्मेन्ट अफ द डे’ अन्तर्गत १० हजार रुपैयाँ प्रदान गरिने फिल्मका निर्माता रौनक बिक्रम कँडेलले जानकारी दिए।

निर्माता कँडेलका अनुसार यो पुरस्कार नेपाली खेलाडीले मात्र पाउनेछन्। खेलाडी छनोट गर्ने सम्पूर्ण अधिकार निर्माण टिमले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई दिएको छ। त्यस्तै फिल्मको कूल मुनाफाको ५ प्रतिशत क्यानको विकासका लागि समेत प्रदान गरिने भएको छ।

नेपाली खेलाडीलाई हौसला र क्रिकेटको विकासका लागि आफूले यो कदम उठाएको निर्माता कँडेलले बताए। ‘अहिले देशलाई चिनाउने काम क्रिकेटले गरिरहेको छ।’ क्रिकेटका सौखिक रौनकले भने ‘नेपाली खेलाडीहरुले निकै राम्रो प्रदर्शन गरिहेका छन्। यो बेला सबैको साथ, सहयोग र हौसलाको खाँचो छ। त्यसैले फिल्मको तर्फबाट यो घोषणा गरेका हौं।’

नेपाली फिल्मले पहिलोपटक अन्तर्राष्ट्रिय खेलमा क्यानसँग सहकार्य गरेको हो। क्यानसँग मिलेर सिनेमाको टिमले ‘कात्तिक २४ गते दिमाग खराब हेरौं, नेपाली क्रिकेट टिमलाई सहयोग गरौं’ भन्ने स्लोगन पनि बनाएको छ। टि(२० को एसिया छनोटको खेल आगामी वर्ष अमेरिका र वेष्ट इन्डिज हुनेछ।

कात्तिक २४ गतेदेखि विश्वभर एकसाथ प्रदर्शन हुने फिल्म निश्चल बस्नेतले निर्देशन गरेका छन्। फिल्ममा निर्देशक निश्चलसहित खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, रमा थपलिया, दयाहाङ राई, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल शिवाकोटी, नविन खड्कालगायत कलाकारको अभिनय छ।

जनता र शक्तिको कथामा बनेको फिल्मको पटकथा आकाश बरालले  लेखेका  छन्। मनोज पण्डितकाे स्क्रिप्ट डाक्टर रहेको फिल्म राजनीतिक विषयमा केन्द्रित छ।

निमेष श्रेष्ठले सम्पादन र सुशन प्रजापतिले छायांकन गरेका फिल्म ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा बनेको छ। फिल्मका कार्यकारी निर्माता सुरज बम ठकुरी हुन्। फिल्ममा जयन जे बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन छ।

प्रकाशित: १३ कार्तिक २०८० १३:३३ | Monday, October 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast