इटहरी- सधैँको घाम उज्यालो बोकेर आउँथ्यो। घरछेउका रूखमा चराहरूको चिरबिरले छोराहरू सुखी रहेको अनुभूत हुन्थ्यो। तर आइतबारको घामले उज्यालो दिएन। बरु उल्टै जीवनभर नबिर्सिने पीडा दियो राजेश स्वर्णकारका अभिभावकलाई।
सुनसरीको साबिक मधुवन गाविस, हाल बराहक्षेत्र नगरपालिका-११ का राजेश स्वर्णकारको मृत्युको खबरले उनका अभिभावकलाई बेचैन भएको छ। २७ दिनअघि इजरायल गएका २६ वर्षीय राजेशको मृत्युको खबरपछि परिवार शोकमा डुबेको हो।
राजेशका जेठा दाजु मुकेश स्वर्णकार देश र सुदूरपश्चिम विश्वविद्यालयप्रति गुनासो गरिरहन्छन्। राजेश सुदूरपश्चिम विश्वविद्यालयको टीकापुर बहुमुखी क्याम्पसमा कृषिमा स्नातक आठौँ सेमेस्टर सकेर इन्टर्नसिपका लागि इजरायल गएका थिए।
‘भाइको खबरले दर्द भयो। हाम्रै ठूलो गल्ती भयो। आफूलाई पर्दा धेरै दुख्दोरहेछ,’ हिमाल प्रेससँगको कुराकानीमा मुकेशले भने, ‘जहाँ परीक्षा दिन्थ्यो, त्यहाँ नाम निस्किन्थ्यो। अब कलेजमाथि कसरी विश्वास गर्ने? देशमाथि कसरी विश्वास गर्ने? बेकार पठाएछु।’
उनी भाइलाई विदेश पठाएकोमा आफैँलाई धिक्कार्छन्। उनी भन्छन्, ‘कस्तो ठाउँमा पठाइदिएँ? दाइ पासपोर्ट बुझाम् कि नबुझाम् भनेर सोधेको थियो। त्यो सम्झँदा निकै पोल्छ।’
परिवारमा सहानुभूति दिन आएका स्थानीय जनप्रतिनिधि, प्रशासन र साथीभाइसँग उनी भक्कानिन्छन्। राजेशका आमा र बा अचेतजस्तै छन्। भाइ गुमाउनुपरेको कुरा व्यक्त गर्न नसक्ने अवस्थामा पुगेका मुकेशले भने, ‘भाइ बाँचेको मात्रै भए पनि घरको ऋण बिस्तारै तिरिन्थ्यो। अहिले घरपरिवारका लागि काम गर्ने बेलामा भगवान्ले उसलाई खोसेर लग्यो।’
गत शुक्रबार घरगाउँमा जितिया पर्व मनाइएको थियो। आमाले स्वस्थ र दीर्घायुको कामनासाथ व्रत बसेको स्मरण गर्दै मुकेश भन्छन्, ‘अब त भगवान् छैन जस्तो लाग्यो। भगवान् थिए भने त भाइ जोगिन्थ्यो। कहाँ छ भगवान्?’
राजेश ११ महिनाको इन्टर्न सकेपछि काममा लाग्ने योजनामा थिए। कृषि क्षेत्रमा सक्रिय भएर देशकै लागि केही गर्ने सोचाइ थियो उनको। अन्य युवा विदेश पलायन भइरहेका बेला राजेश भने देशमै केही गर्ने योजनामा थिए।
मुकेशले विगत स्मरण गरे, ‘बुबाको सानो सरकारी जागिर थियो। खेतीपाती र जागिरबाट दुःख गरेर हामी सबैलाई पढाउनुभयो,’ शोकाकुल मुकेशले भने, ‘घरमा अहिले तनावको मेला छ।’ इन्जिनियर मुकेश राजेशलाई पनि आफूजस्तै बनाउन चाहन्थे। उनले भने, ‘भाइलाई जसरी पनि इन्जिनियर बनाउँछु भन्ने सपना देखेको थिएँ। तर भाइले कृषि पढ्छु भन्यो। उसको सपना पूरा हुनै पाएन। इन्जिनियर पढाउन पाएको भए आज यो घटनै हुन्थेन कि।’
मुकेश घरी कलेजप्रति, घरी देशप्रति त घरी आफैँप्रति धिक्कार मानिरहेछन्। ‘जति सम्बन्धित परिवारलाई पोल्छ, त्यति अरूलाई वास्तै हुँदैन,’ उनी भन्छन्, ‘भाइ सानो हुँदादेखिको कुरा सुनेर आमा रोइरहनुभएको छ। मैले कसरी सम्झाउनु?’
इजरायलको अशान्त अवस्थाबारे जानकारी भएको भए आफूले नपठाउने उनी बताउँछन्। कलेजलाई विश्वास गरेकोमा पछुतो लागेको गुनासो उनको छ।
पछिल्लोपटक शुक्रबार राति भाइसँग च्याटमा कुरा भएको स्मरण गर्दै मुकेशले भने, ‘सबै जान्ने थियो। बुद्धिमान थियो, कसैले नजानेको कुरा उसले जान्दथ्यो।’
कक्षा १ देखि अध्ययन गरेका बाल्यकालका साथी कलामुद्धिन अन्सारीले राजेश इमानदार रहेको बताए। ‘गाउँमा अलि बढी पढेलेखेको ऊ (राजेश) नै थियो,’ उनले भने, ‘गाउँघरका कार्यक्रमदेखि विभिन्न ठाउँमा अगाडि बढ्न चाहने केटो थियो। गाउँका केटाकेटीदेखि सबैले उसलाई मान्थे।’
परिवार र आफ्नो भविष्य बनाउने सपनामा विदेश छाडेको महिना दिन नबित्दै कहिल्यै नआउने गरी बिदा भएपछि आफूहरूलाई असह्य पीडा भएको मुकेशले बताए। ‘बाआमाले दुःख गरेर पढाएका थिए। नेपाल छाडेको एक महिना नभई मृत्युको खबर आउँदा कस्तो हुन्छ?,’ उनले भने।
स्थानीय अलाउद्धिन अन्सारीले गाउँको इमानदार र मेहनेती साथी गुमाउनुपर्दा दुःखी भएको सुनाए। अहिले आफूसँग दुःख व्यक्त गर्ने शब्द नरहेको उनको भनाइ छ।
राजेश चार दाजुभाइमध्ये साइँलो छोरा हुन्। सानैदेखि मिहिनेती, लगनशील र कर्मठ उनी भदौ २४ गते इजरायल गएका थिए। इजरायल र हमासको द्वन्द्वका क्रममा उनको निधन भएको हो।
स्थानीय माउन्ड भ्यु स्कुलमा कक्षा ८ सम्म अध्ययन गरेका राजेशले एसएलसी भने इनरुवाको नवयुग एकेडेमीबाट गरे। कक्षा १२ विराटनगरको शिक्षादीप कलेजबाट उत्तीर्ण गरेका राजेश ४ वर्षअघि कृषि पढ्नका लागि सुदूरपश्चिम विश्वविद्यालयको टीकापुर बहुमुखी क्याम्पसमा भर्ना भएका थिए।
यसैबीच सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीकी हुमकला पाण्डे, जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विपिन रेग्मी, स्थानीय जनप्रतिनिधिसहितले परिवारलाई भेटेर चाँडै शव नेपाल ल्याउनका निम्ति पहल गर्ने आश्वासन दिएका छन्।
‘शव इजरायलस्थित नेपाली दूतावासमार्फत ल्याउनुपर्ने हुन्छ,’ प्रजिअ पाण्डेले भनिन्, ‘हामीले शव चाँडै नेपाल ल्याउनका लागि पहल गर्नेछौँ। परिवारलाई परेको यो पीडा र दुःखले राज्यका लागि पनि क्षति भएको छ।’
चार दिनअघि फोन गरेर पैसा पठाउँछु भनेका नारायणको खबरले घरपरिवार विक्षिप्त