अत्यधिक गर्मीसँगै ‘लु’ को जोखिम बढ्दै

हिमाल प्रेस ७ वैशाख २०८३ १७:०८ | Monday, April 20, 2026
10
SHARES
अत्यधिक गर्मीसँगै ‘लु’ को जोखिम बढ्दै फाइल तस्बिर

काठमाडौँ- केही दिनयता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा अत्यधिक गर्मी बढेको छ। यससँगै तराईका जिल्लामा तातो हावा (लु) चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ।

विभागले आज दिउँसो सार्वजनिक गरेको तथ्यांक अनुसार कपिलवस्तुमा ४१ डिग्री सेल्सियस र बाँकेमा ३९ डिग्री सेल्सियस तापक्रम पुगेको छ।

मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र तथा उपत्यका र खोँचहरूमा दिन तातो भएको, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पश्चिमी तराई क्षेत्रमा ‘लु’ चल्ने सम्भावना रहेको विभागले जनाएको छ। पछिल्लो सूचनामा अद्यावधिक रहन तथा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

विभागका मौसमविद् सञ्जिव अधिकारीले विशेषगरी तराईका जिल्लामा बुधबारसम्म अत्यधिक गर्मीको अवस्था कायम रहने जानकारी दिए।

‘आजदेखि पर्सि बुधबार सम्म विशेषगरी तराई, उपत्यका र खोँच क्षेत्रमा तातो हावाको लहर चल्ने सम्भावना छ’, उनले भने,‘कोशी प्रदेशमा भने बादल देखिएकाले ‘लु’ को सम्भावना तत्काल कम छ। विशेषगरी लुम्बिनी प्रदेशको पश्चिम क्षेत्र, धनगढीलगायत सुदूरपश्चिमका अन्य तराई जिल्ला, नेपालगन्ज, धनगढीलगायत स्थानमा ‘लु’ को सम्भावना बढी छ।’

सुदूरपश्चिमको दिपायलमा आज दिउँसो तापक्रम करिब ४० डिग्री सेल्सियस पुगेको उल्लेख गर्दै उनले त्यहाँका लागि यो तापक्रम असामान्य भएको बताए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका वरिष्ठ ‘हाइड्रोलोजिस्ट’ राजेन्द्र शर्माले जलवायु परिवर्तनसँगै ‘लु’ जस्ता मौसमी घटना बढ्दै जाने भएकाले समयमै तयारी र सचेतना बढाउन आग्रह गरे। ‘लु’ को प्रभाव न्यूनीकरणका लागि हामीले कार्यविधि बनाएर कार्यान्वयनका लागि सम्बन्धित अन्तरसरकारी निकायमा पठाएका छौँ, प्रभावकारी कार्यान्वयनका लागि आवश्यक छलफल पनि गरिरहेका छौँ, उनले भने।

‘समयमै चिसो वातावरण कायम गर्ने, सफा तथा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्ने, बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र बिरामीहरूको विशेष हेरचाह गर्ने उपायहरू अपनाउनु पर्छ’, उनले भने, ‘यसैगरी अस्पताल, विद्यालय तथा सार्वजनिक स्थानहरूमा आवश्यक पूर्वसावधानीको व्यवस्था मिलाउनु पनि उत्तिकै महत्वपूर्ण छ।’

प्रकाशित: ७ वैशाख २०८३ १७:०८ | Monday, April 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast